१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रेडपाण्डा संरक्षणमा चुनौती

जुम्लामा पाईने रेडपाण्डा । तस्बीर : डिबी / नागरिक

जुम्ला –  दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका विषयमा भएको छलफल कार्यक्रममा सहभागिले  रेड पाण्डा संरक्षणमा चुनौती थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए।

उनीहरुले रेड पाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नु पर्नेमा जोड दिए।  रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नु पर्छ, नागरिक समाजका अगुवा राजबहादुर महत भन्छन्,‘ रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ।’ रेडपाण्डा संरक्षणमा सक्रिय संस्था रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सरोज श्रेष्ठले रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको बताए । उनले भने,‘ सामुदायिक बन संरक्षणको काम अघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुने देखिन्छ । ’
लजालु स्वभावको वन्यजन्तु रेड पाण्डाको बासस्थान भनेको निगालोको जंगल भएको बताउँदै उनले निगालोको टुसा र पात खाने रेड पाण्डाको बासस्थान नष्ट जोगाउँन सरोकारवालालाई सुझाव दिए । उनले भने,‘ वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चुनौतिपूर्ण देखिएको छ । रेड पाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेड पाण्डा असुरक्षित हुने गरेका छन् ।’
रेडपाण्डा नेटवर्कका संचार अधिकृत प्रगति शाही समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने बताउँछन् । सामुदायिक वनहरुसँग सहकार्य गर्दै रेड पाण्डाको वासस्थान पहिचान गर्ने, नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तीकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा जुट्नु पर्ने बेला आएको बताए। 

उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु ८ देखि १० बर्षसम्म हुन्छ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउन सम्म  गर्भाधान हुने महिनाको रुपमा लिइन्छ। रेड पाण्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिएको बताउँदै शाहीले स्थानीय सरकारको तर्फबाट यसको संरक्षणमा ध्यान दिनु पर्ने बताए। रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा कर्णाली हातेमालो सेवा समाज जुम्लाले दुईवटा स्थानीय तहमा रेड पाण्डा संरक्षणको कार्य गर्दे आएको छ। 

जुम्लाको पातारासि र सिंजा गाउँपालिकामा रेडपाण्डाको संरक्षणका विषयमा काम गर्दे आएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले जानकारी दिए। उनले भने,‘ रेडपाण्डाको संरक्षणका लागि स्थानीय तहमा तिब्र छलफल भईरहेको छ। स्थानीय तहले पनि सकारात्मक प्रतिक्रिया दिदै आएका छन्।’
डिभिजन वन कार्यालय जुम्लाका निमित्त प्रमुख निरज झा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको बताउँछन। 

रेड पाण्डाको सहवास समय  र सन्तान जन्माउने समयमा  रेड पाण्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने उनको भनाई छ । रेडपाण्डाको बासस्थान विनास नगराई सामुदायिक वनहरुलाई रेडपाण्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराउनु पर्नेमा जोड दिए । समुन्द्र सतहबाट झण्डै ३ हजार ६ सय मिटर उचाईमा रेड पाण्डा बढी पाइन्छ । विश्वकै दुर्लभ वन्यजन्तु  रेडपाण्डा बासस्थान र आहारा संकटमा पर्दै गएको छ।

निगालोको टुसा र पात रेड पाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य भईरहेको  छ। 
नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपाण्डा पाईदै आएको छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App