coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन

अस्पतालमा भेट्न पुगेका गाउँपालिका प्रमुख भूपेन्द्र राईसँग कुरा रमिला तामाङ। तस्बिर/नागरिक

खोटाङ – मानसिक समस्या भएकै कारण खोरमा थुनिनु परेकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छन्। मानसिक समस्याबाट पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ महिना दिनको उपचारपछि ठीक भएकी हुन्।

मानसिक सन्तुलन ठीक नभएपछि परिवारले खोरमा थुनेर राखेका रमिलालाई गाउँपालिका प्रमुख भूपेन्द्र राईको पहलमा गत पुस ६ गते ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज भएकी छन्। केही महिनादेखि पशुलाई सरह खोरमा थुनेर राखिएकी रमिलालाई पुस ३ गते खोरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको थियो। अस्पताल पुर्‍याउन तत्काल १० हजार रुपैयाँ उपलब्ध गराएका गाउँपालिका प्रमुख राईले रमिलाको उपचारमा लागेका सबै खर्च व्यक्तिगत रूपमा आफैंले बेहोर्ने बताएका छन्। ‘तीनपटक गरी रमिलालाई अहिलेसम्म व्यक्तिगत ३३ हजार रुपैयाँ दिइसकेको छु,’ गाउँपालिका प्रमुख राईले भने, ‘उपचारका क्रममा लागेका सम्पूर्ण खर्च म आफैं बेहोर्छु।’ लागेको खर्चको हिसाब पीडित परिवारले देखाएपछि बाँकी रकम आफूले तिरिदिने उनले बताए।

रमिलाको मानसिक स्वास्थ्यमा सुधार आएपछि अहिले उनको परिवारमा खुसीयाली छाएको छ। उपचारपछि रमिलाको मानसिक अवस्थामा पूरै सुधार आएको उनका श्रीमान मनिकुमार तामाङले बताए। ‘करिब ६० हजार खर्च भएको छ,’ उनले भने, ‘तर नियमित औषधि खानुपर्ने भएको छ। डाक्टरले तीन महिनापछि जाँच्न आउनू भनेका छन्।’ तामाङ दम्पतिका एक छोरी र एक छोरा छन्।

मानसिक समस्याबाट पीडित खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ महिना दिनको उपचारपछि ठीक भएकी छन्।

गीत गाउने, नाच्ने, भाँडाकुँडा फाल्ने, खुकुरी बोक्ने, गाईगोरु फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वाभाविक क्रियाकलाप देखाउन थालेपछि परिवारले रमिलालाई केही महिनादेखि बाख्राको खोरमा थुनेर राखेका थिए। २०७४ असार ७ गते एक्कासि टाउको दुख्यो भनेकी रमिलालाई विस्तारै यस्तो लक्षण सुरु भएको परिवार बताउँछ। तर अस्पताल लाने खर्च नभएकै कारण परिवारले उनलाई सुविधासम्पन्न अस्पतालमा लान सकेका थिएनन्। परिवारका अनुसार उपचारका लागि गत मंसिरमा धरानमा लगिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई घरै फर्काएर खोरमा थुनेर राखिएको थियो।

गाउँकी एउटी महिला पशुजस्तै खोरमा थुनिँदा पनि स्थानीय जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेका बेला गाउँपालिका अध्यक्ष राईले व्यक्तिगत रूपमा खर्च उपलब्ध गराई रमिलाको उपचार गराएका हुन्।

प्रकाशित: ८ माघ २०७५ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App