४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

अस्पताल छाडेर ‘प्रभुको उपचार’

रोल्पा - जिल्लाका पालिकामा स्वास्थ्यचौकी छन्। स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मी छन्। थोरैधेरै औषधि पनि पाइन्छ। स्वास्थ्यचौकीमा रोग निको नभए जिल्ला अस्पताल छ। अस्पतालमा ५ जना डाक्टर छन्। अस्पतालमा एम्बुलेन्स पनि छ। तर रोल्पाका धेरै गाउँका बिरामीको रोजाइ ‘प्रभुको उपचार’ परेको छ। अहिले जिल्लामा रहेका करिब ५ दर्जन चर्चमा प्रार्थना गर्नेसँगै बिरामीको घुइँचो लाग्छ। उपराष्ट्रपति नन्दबहादुर पुनको गाउँ राङसी पोखरामा स्थित ‘अनुग्रह ख्रिस्टियन मण्डली’ मा पनि बिरामीको भीड देख्न सकिन्छ।

‘प्रभुका अनुयायी’ ले स्थानीयलाई असहज अवस्थामा येसुको विकल्प नभएको भ्रम फैलाउँदै आएका छन्। बिरामीले थलिएका अतिविपन्न परिवारका मानिस चर्चमा जाने गरेका छन्। ‘बुबा, तीन छोरा र एक छोरीलाई बोक्सीले खाएपछि येसुमा लागेको हँु। यता लागेपछि दुई छोरा र एक छोरी बाँचे। मैले रक्सी खान पनि छोडें। राम्रै भएको छ। आज ८० वर्षसम्म बाँचेको छु’, २८ वर्षअघि धर्म परिवर्तन गरेर क्रिस्चियन बनेका टेकबहादुर घर्तीले भने, ‘हामी धेरैजसो रोग निको हुने आशामा येसुको शरणमा आएका हौं। गाउँमा अस्पताल पनि छ तर रोग त प्रभुकहाँ गएपछि निको हुन्छ।’ शान्तिप्रक्रिया सुरु भएयता धर्म परिवर्तन गर्ने बढेको स्थानीय बताउँछन्।

बिरामीको अवस्था र उनीहरूको मण्डलीप्रति लगाव देखेका स्थानीय स्वास्थ्यकर्मी पनि फैलँदो भ्रमबाट दिक्क छन्। ‘धेरैजसो क्रोनिक बिरामी चर्च जान्छन्। त्यहाँ केही उपाय चल्दैन अनि फर्केर हामीकहाँ आउँछन्। कोही बाहिर उपचारका लागि भौंतारिन्छन्। हामीकहाँ निको हुन समय लागेका अनि रिफर गरेका प्रायः चर्च जान्छन्’, स्वास्थ्यचौकी राङसीका हेल्थ असिस्टेन्ट नरबहादुर डाँगी भन्छन्, ‘गाउँलेलाई मोटिभेसन गरेर चर्च लैजानेहरू आफू भने बिरामी हुँदा स्वास्थ्यचौकीमा आउँछन् तर अरु बिरामीलाई चर्च लैजान्छन्।’

येसुले रोग राइदिने भन्दै प्रार्थनामा लगेर धर्म परिवर्तन गराउने लहर नै चलेको छ। ‘बिरामीहरूलाई प्रार्थनाको नाममा चर्च लगिन्छ। मृत्यु भयो भने प्रभुले आफ्नो शरणमा लैजानु भयो भन्नेमा आश्वस्त पारिन्छ’, स्थानीय एक शिक्षक भन्छन्, ‘विगतमा हिन्दुहरूले विश्वास गर्ने धामीझाँक्री, फुकफाक हराउदै गएको छ तर पछिल्लो समय येसुका अनुयायी भन्नेले प्रार्थनाका नाममा सोझा गाउँलेलाई फसाइरहेका छन्, धर्म बदल्न लगाइरहेका छन्।’

राङसीमा जस्तै सदरमुकाम छेउको गाउँ करेटीमा पनि स्वास्थ्यचौकी छ। दक्ष स्वास्थ्यकर्मी पनि छन्। तर बिरामीलाई पहिला चर्च पु¥याइन्छ। ‘हामीले अस्पतालमा रिफर गरेका बिरामीसमेत मण्डलीतिर जान्छन। त्यहाँ निको नभएर कोही फेरि हेल्थपोस्टमै आउँछन्। सुरुमै उपचारका लागि चर्च पुग्नेहरू रोग जटिल बनाएर आउँछन्। तर गाउँभरि अस्पतालले होइन प्रभुको आराधनाले रोग निको हुन्छ भन्ने हल्ला फिजाइएको छ’, स्वास्थ्यचौकी करेटीका इन्चार्ज विशाल घर्तीले भने, ‘अस्पताल छेउमा चर्च छ तर बिरामीलाई विभिन्न प्रलोभन देखाएर चर्चमा लैजान्छन्।’

मण्डलीमा भक्त बनेर लागेका भने सफा मनले संगति ग-यो भने रोग छिटो निको हुने दाबी गर्छन्। ‘कति बिरामीले छिटो विश्वास गर्छन् र छिटो निको हुन्छन्। ढिलो विश्वास गर्नेको रोग ढिलै निको हुन्छ। अस्पतालमा निको नभएका बिरामी पनि आउँछन्। यहाँबाट निको भएर जान्छन्। साँचो मनले प्रभुलाई चिन्नुप-यो, सबै राम्रो हुन्छ तर दोधारेलाई हुँदैन’, केही वर्षयता प्रभुको अनुयायी बनेकी तिर्थमाली घर्तीले दाबी गरिन्।

समय–समयमा बाहिरबाट प्रभुका ठूलाठूला अनुयायी आएर चर्चमा क्रिस्चियन धर्मबारे प्रशिक्षण दिन्छन्। उनीहरू दोभासेसमेत लिएर गाउँगाउँ पनि पुग्छन्। ‘दाङमा बस्ने आमा बिरामी हुँदा चर्च गएपछि निको भएकाले म पनि यतै लागे। आफू र परिवार बिरामी हुँदा प्रभुको शरणमा गएपछि सन्चो भएका छौं। शनिबार सधैं प्रार्थना गर्न आउँछौ। नियमित प्रार्थनामा नगए रोग बल्झिन्छ रे। चर्चमा क्रिस्चियन धर्मबारे पनि सिकाइन्छ’, कल्पना बाठाले भनिन्।

रोल्पाका अन्य गाउँमा जस्तै करेटीमा पनि जनश्रमदानबाट प्रभु बस्ने दुईवटा घर बनाइएको छ। हरेक प्रार्थनामा जम्मा हुने भेटी पनि घर बनाउन प्रयोग गरिएको अनुयायी बताउँछन्। येसुले रोग निको पारिदिने भन्दै भ्रम फैलाइएको छ। ‘मेरो माहिलो छोरा पहिले झाक्री थियो। अहिले सबै छाडेर मण्डलीमा गएको छ। ऊ त गयो, केटाकेटी पनि उतै लग्यो। ती बालबालिकाले नेपाली चाडबाडमा रमाउन खोज्छन् तर डरले टीकासम्म लगाउँदैनन्’, स्थानीय जगु घर्तीले भने, ‘विभिन्न प्रलोभनमा धर्म बदल्न लगाइएको छ।’

अन्धविश्वासलाई बढावा दिँदै गरिने धार्मिक उपचारले धेरै रोल्पालीले अनाहकमा दुःख पाइरहेका छन। एक स्थानीयका अनुसार हिजो धर्मलाई अफिमसँग तुलना गर्नेहरू आज आफैं धर्म परिवर्तनमा दौडिरहेका छन्। गाउँमा गतिला स्कुल भवन छैनन् तर झकिझकाउ चर्च मण्डलीहरू भने धमाधम निर्माण भइरहेका छन्। रोल्पामा चर्च र मण्डली कसरी र कसको सहयोगमा निर्माण भइरहेका छन् भने आधिकारिक तथ्यांक नभए पनि तिनको संख्या पाँच दर्जनहाराहारीमा रहेको अनुमान छ।

प्रकाशित: ४ माघ २०७५ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App