नाम्दु (दोलखा) - चिटिक्कको दुईकोठे घर। रङरोगन भर्खरै सकिएको छ। भित्री कोठाहरु राम्ररी ओभाइसकेका छन्। आइतबार दोलखा नाम्दु गाउँकी पार्वती घिमिरेको घर पुग्दा उनी बाहिरपट्टि बढार्दै थिइन्। ‘रङरोगन भर्खर सकिएको, अलिअलि फोहोर थियो, त्यसैले बढार्दैछु’, यसो भन्दै गर्दा उनको अनुहारमा चमक देखिन्थ्यो। पार्वतीको बाँकी जीवनमा अझै थुप्रै दुःख अनि संघर्षका तगारा बाँकी नै छन्।‘छोराछोरी र आफू ओत लाग्ने यही एउटा बाससमेत बनाउन सकिँदैन कि भनेर आफैंलाई धिक्कार्दै रातदिन आँसु बगाउँथें’, थोरै उमंग मिसिएको भावमा उनले भनिन्, ‘अब तयार भयो, छिटै सर्दैछु।’
२०७२ वैशाखको भुइँचालोले अरुको जस्तै उनको पनि एक तलाको सानो झुपडी नराम्रोसँग हल्लाइदियो। त्यही सालको जाडो याममा चिसोले कठ्याङेग्रिएर श्रीमान् बिते। कटेरो हाल्ने र अन्त सर्ने पैसा थिएन। राज्यको सहयोग आउने आशामा लालाबाला च्यापेर त्यही चिराचिरा परेको झुपडीमा बस्न थालिन्। तर न त उनको घर भत्किएको सूचीमा प-यो न त राज्यबाट पुनर्निर्माणका लागि कुनै राहत नै आयो। ३ वर्ष त्यही एकतले धराप घरमा गुजारिन। गत बर्खामा उनको जीवनमा अर्को बज्रपात भयो। घरको गाह्रो लड्यो। राजधानीतिर बस्दै आएका छिमेकीको घरमा शरण लिइन्।
नियतिसँगै राज्यबाट समेत ठगिएकी तिनै पार्वतीको व्यथा २०७५ भदौ २ गते शनिबारको नागरिक दैनिकमा छापियो। उनको व्यथा पढेर भक्तपुर घर भएका सहकारी अभियन्ता कैलाशभक्त प्रधानांगले सहयोग जुटाउने अभियान नै चलाए। उनी अध्यक्ष रहेको मध्यपुर ठिमी नगरपालिका ७ स्थित सहयोगी बचत तथा सेवा केन्द्रले एक लाख रुपैयाँ सहयोग ग¥यो। उपत्यकाका विभिन्न स्थानका १५ संस्थाबाट पार्वतीका लागी प्रधानांगकै पहलमा ३ लाख रुपैयाँ सहयोग जुट्यो। त्यसअघि उनीहरुले भक्तपुर क्षेत्रमा रहेका ७ वटा सहकारीका सेयर सदस्यबाट मासिक एक रुपैयाँ छुट्टै सहयोग कोषमा राख्ने अभियान नै चलाएका थिए। ‘एक रुपैयाँ गरिबका लागि, मेरो सहयोग सधैंका लागि’ नारा दिएर चलाइएको यो अभियानबाट समेत पार्वतीलाई सहयोग रकम जुटेको प्रधानांगले जानकारी दिए।
‘कहिलेकाहीं राज्यबाट हेपिँदा पनि उद्धार गर्न देवतासरह बनेर सहयोगी मान्छे निस्किँदा रहेछन्।’
सामाजिक संस्थामार्फत जुटेको उक्त तीन लाख रुपैयाँ प्रधानांगले पार्वतीलाई पठाइदिए। सँगै सिरक डस्नासमेत पठाइदिए। सदरमुकाम चरीकोटस्थित दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृत बुढाथोकीले ३ बन्डल र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले दुई बन्डल जस्तापाता सहयोग गरे। सहयोग रकम जुटेपछि नजिकका देवर र स्थानीय शिक्षक यज्ञ घिमिरेले काम गर्ने श्रमिक जुटाइदिए। घिमिरेलगायतको पहलमा गाउँकै एकजनाले ३ लाख रुपैयाँमा पूर्ण घर तयार गरिदिनेगरी ठेक्का लिए। यो सबै भएपछि दुई कोठाको उनको घर तयार भएको छ। रङरोगनसमेत सकिएको छ।
बनिबुतो गरेर परिवार चलाउदै आएकी पार्वती खुसी छिन्। ‘कहिलेकाहीं राज्यबाट हेपिँदा पनि उद्धार गर्न देवतासरह बनेर सहयोगी मान्छे निस्किँदा रहेछन्’, भावविह्वल हुँदै उनले सुनाइन्। पार्वतीलाई पुरानो घर भत्काएर घडेरी खार्दा ५० हजार रुपैयाँ ऋण लागेको छ। ‘सहकारीबाट ऋण लिएर चलाएँ, अब त्यो ऋण तिरें भने बस्ने बासको तनाव सकिन्थ्यो’, उनले भनिन्। उनलाई लाभग्राही सूचीमा पारिदिने आश्वासन स्थानीय सरकारका मानिस आएर दिए पनि त्यो पूरा हुन सकेको छैन।
तीन छोरी र एक छोराकी आमा पार्वती छिटै नयाँ घरमा सर्ने सोचमा छिन्। छोराछोरी स्थानिय सामुदायिक स्कुलमा पढ्छन्। एउटी छोरी राजधानीमा आफन्तकहाँ बस्छिन्। पार्वती स्थानीय कारखानामा मजदुरी गर्छिन्। सुरुमा उनलाई जस्ता सहयोग गरेका बुढाथोकी उनको नयाँ घर हेर्न नाम्दु पुगेका थिए। त्यहीं उनले बुढाथोकीले ब्ल्यांकेट सहयोग गरे र पार्वतीको परिवारलाई केही समस्या परे आफ्नो अस्पतालमा निःशुल्क उपचार गराइदिने आश्वासन दिए।
प्रकाशित: ४ माघ २०७५ ०१:४७ शुक्रबार