२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ

गुल्मी – गुल्मीमा घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अवैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

घरमै अवैध रुपमा उद्योग संचालन गरि भरुवा बन्दुक बनाइरहेको अवस्थामा जिसीलाई पक्राउ गरेको प्रहरी जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरि अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण बन्दोवस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ।

प्रहरीले जिसीको घरवाट पक्राउ गरेका अवैध सामग्रीहरूमा ३ थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुईथान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्री, युरिया र आरन पंखा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए।

प्रहरीले विशेष सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा ईलाका प्रहरी कार्यालय पुर्कोटवाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखाना सहित जिसीलाई पक्राउ गरेको हो।  प्रहरीले गत साता धुर्कोट गाउँपालीका ७ निवासी कृष्ण घर्तिको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बताएको छ। गत साता पनि गुल्मीको ईस्मा गाउँपालीकाबाट प्रहरीले बेवारिसे अवस्थामा बोरामा बाधेर लुकाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक समेत बरामद गरेको थियो।

प्रकाशित: २९ पुस २०७५ १०:१३ आइतबार

गुल्मी गुल्मी_धुर्कोट_गाउँपालीका शेरबहादुर_जीसी अवैध_हातहतियार पक्राउ