१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नवदुर्गा गणलाई १२ वटा घ्याम्पो !

भक्तपुर – भक्तपुरको ऐतिहासिक नवदुर्गा गणका मानवरुपी देवतालाई बिहीबार घ्याम्पो चढाइएको छ। गणका १२ देवतालाई एकएक वटा घ्याम्पो चढाइएको हो।

भक्तपुरका खाइतू थरका परिवारहरुले कमलविनायकस्थित नवदुर्गास्थित द्योछें देवता घरमा विधिपूर्वक विभिन्न पूजालगायतका अनुष्ठान गरी तामाको ठूल्ठूला घ्याम्पा चढाएका हुन्। भक्तपुर नगरपालिका ८ लिवालीस्थित नारायणप्रसाद खाइतूको अगुवाइमा घ्याम्पो चढाउने काम सम्पन्न भएको हो।

नवदुर्गाका १२ देवगणलाई छुट्टाछुट्टै रुपमा एकएक घ्याम्पो चढाइएको हो। नवदुर्गाका भैरव, महाकाली, वाराही, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रुपमा रहने देवगणलाई घ्याम्पो चढाइएको हो। प्रत्येक घ्याम्पोमा देवताको आकृतिसहित लिपि पनि कोरिएका छन्।

ती घ्याम्पो देवताका व्यक्तिगत ढुकुटीका रुपमा प्रयोग हुनेछ। जात्रालगायतका पर्वमा उनीहरुले लगाउने चुरा, कलीलगायतका गरगहना राख्नको लागि ती घ्याम्पा प्रयोग गरिने जनाइएको छ। परापूर्वकालदेखि प्रयोेग हुँदै आएको घ्याम्पो बिग्रेपछि आफूहरुले चन्दास्वरुप देवताका नाममा दानस्वरुप घ्याम्पो चढाइएको खाइतू परिवारले जनाएको छ। घ्याम्पो चढाउनुअघि खाइतू परिवार सयौंको लावालस्कर लिवालीबाट विभिन्न परिकारसहित देवताघर पुगेका थिए।

काठमाडौं उपत्यका र उपत्यकाबाहिरका टोलटोलमा आठ महिना चल्ने नाचका देवगणहरु विभिन्न समस्यासँग जुध्दै आएका छन्। नाच पनि चन्दा उठाएर चलाउने गरिएको छ। प्रत्येक वर्ष माघ २ गतेदेखि आठ महिनासम्म चल्ने नाच मुकुण्डो लगाएका देवगणले भक्तजनसँग सहयोग मागेर चल्दै आएको छ।

नवदुर्गा गणको क्वाठण्डौंस्थित द्योछें देवता घरमा राष्ट्रपति, प्रधानमन्त्री आउँदा गणका समस्या लिखित रुपमा समस्या अवगत गराए पनि समस्याको सुनुवाई भने हुन सकेको छैन। नाच भक्तपुर नगरपालिका १ सूर्यमढीबाट प्रत्येक वर्ष माघ २ गतेबाट सुरु हुने परम्परा छ। नाच साउन महिनाको भलभल अष्टमीसम्म चल्छ। यो नाचलाई भक्तपुरका साथै काठमाडौंका विभिन्न स्थानमा पनि देखाइन्छ। उपत्यकाबाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच देखाइन्छ।

प्रकाशित: ६ पुस २०७५ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App