७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

लामोसाँघु–जिरी सडक विस्तार सुस्त

लामोसाँघु–जिरी सडक विस्तारअन्तर्गत गौरीपार्वती निर्माण सेवाद्वारा सिन्धुपाल्चोकको खाडीचउरदेखि चार किलोमिटरसम्म काम हुँदै। तस्बिर : नागरिक

दोलखा - चौतर्फी दबाबपछि लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका ठेकेदार कम्पनीहरूले पुनः काम सुरु गरे पनि गति दिन सकेका छैनन्।

सिन्धुपाल्चोकको खाडीचउरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म विस्तार भइरहेको ५५ किलोमिटर सडकमध्ये पहिलो खण्डको ठेकेदार कम्पनीले कामलाई तीव्रता दिए पनि दोस्रो खण्ड निर्माण असाध्यै सुस्त छ। दोस्रो खण्ड विस्तारको जिम्मा शंकर मालीले लिएको छ।

ठेकेदारको लापरबाहीले साढे तीन वर्षदेखि उक्त सडक विस्तार अलपत्र परेको थियो। अब पनि आलटाल गरे कारबाही गर्ने सडक विभागको चेतावनी र स्थानीय बासिन्दाको पनि दबाबपछि केही साताअघि दुवै ठेकेदार कम्पनीले काम थालेका हुन्।

सिन्धुपाल्चोकको खाडीचउरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म विस्तार भइरहेको ५५ किलोमिटर सडकमध्ये पहिलो खण्डको ठेकेदार कम्पनीले कामलाई तीव्रता दिए पनि दोस्रो खण्डको ठकेदार शंकर मालीको गति असाध्यै सुस्त छ।

गौरीपार्वती निर्माण सेवाले पहिलो प्याकेजमा खाडीचउरदेखि सिन्धुपाल्चोककै मुडेसम्म २५ किलोमिटर सडक निर्माणलाई तीव्रता दिइरहेको छ। साझेदार निर्माण कम्पनी सुनौला खिम्ती तथा त्यसका सञ्चालक कर छली मुद्दामा तानिएका कारण काम छाडेपछि गौरीपार्वती एक्लैले ठेक्का जिम्मा लिएर पुनः सडक निर्माण सुरु गरेको हो। सडक दायाँ–बायाँका संरचना बनाउने प्रायः काम सकिएको यो खण्डमा सडक सुधार गरेर बेस बिच्छ्याउने र कालोपत्रे गर्न मात्र बाँकी छ।

आयोजनामा कार्यरत परामर्शदाता कम्पनीका इन्जिनियर अभिषेक प्रधानका अनुसार गौरी पार्वतीले शनिबारसम्म खाडीचउरदेखि पाँच किलोमिटरसम्म ‘सवग्रेड’ गरिसकेको छ। प्राविधिकहरूका अनुसार पुरानो सडक कालोपत्रे र तल्लो तहको ग्राभेल उप्काएर लेभल (तह) मिलाउने कामलाई सवग्रेड भनिन्छ। सवग्रेडपछि त्यसको माथिल्लो तहमा सववेस (माटो, बालुवा र गिट्टीको मिश्रण)बिच्छ्याएर रोलरले पेलिन्छ। सववेसमाथि माटो नमिसिएको बालुवा र बगरका ढुंगाहरूको मिश्रण वेस ओच्छ्याएर दोस्रो तहमा फेरि रोलरले पेलिन्छ। पेलिएको उक्त वेसमाथि कालोपत्रे गरेपछि सडक तयार हुन्छ।

इन्जिनियर प्रधानका अनुसार गौरीपार्वतीले सवग्रेडका साथै खाडीचउरको जिरो भागबाट सववेससमेत बिच्छ्याइरहेको छ। ‘उसको कामको गति यतिखेर तीव्रै छ,’ उनले भने, ‘पुरानो सडकको कालोपत्रे उप्काउने, सवग्रेड गर्ने र पछि सववेससमेत बिच्छ्याउने काम सँगसँगै जस्तो गरिरहेको छ।’ यस्तै १५ किलोमा बाँकी नाला निर्माण र २१ किलोमा ह्युमपाइप बिच्छ्याउने काम पनि भइरहेको छ। पहिलो प्याकेजको यो ठेकेदार कम्पनीले यही गतिमा काम गरिरह्यो भने अब आउने बर्खाअघि नै पूरै सडक सुधार भइसक्ने इन्जिनियर प्रधानको दाबी छ।

ठेकेदार कम्पनी गौरीपार्वतीका प्रमुख इन्जिनियर डोरमणि पौडेलले स्काभेटर, टिपर, रोलर, लोडर, जेसिबीसहित आवश्यक २५वटा उपकरण तथा गाडी एकसाथ निर्माणस्थलमा ल्याएर काम गरिरहेको सुनाए। ‘सडकमा बिच्छ्याउन चाहिने वेस, सववेससहित अलकत्रासमेत झारिसकेका छौं,’ उनले भने, ‘कुनै समस्या भएन भने चैत÷वैशाखसम्म २५ सै किलोमिटरमा वेस बिच्छ्याउने र १५ किलोमिटरसम्म कालोपत्रे गर्न भ्याइन्छ।’

आफ्नो कम्पनीलाई साझेदार बनाएको सुनौला खिम्तीले सडक क्षेत्रका बासिन्दाको रकम नतिरेर आफूहरूलाई अप्ठेरो परेको प्रमुख पौडेलले बताए। ‘ऊसँग हाम्रो हरहिसाब केही रहन्न तर सुनौला खिम्तीको पार्टनर हो भनेर धेरै जनाले काममा अवरोध गर्ने प्रयत्न गरिरहनुभएको छ, यसबारे प्रशासनको ध्यानाकर्षण गराइसकेका छौं।’

शंकर मालीको काम सुस्त
मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएको शंकर माली निर्माण सेवाको काम भने असाध्यै सुस्त छ। कामका लागि आवश्यक वेस, सववेस, अलकत्राजस्ता सामाग्री उसले निर्माण स्थलमा जुटाउन सकेको छैन।

सव र सववेस तयार गर्न दोलखाको बोचमा क्रसर स्थापना गरिए पनि शनिबारसम्म यो सञ्चालन भएको छैन। आवश्यक उपकरण, मेसिन र गाडीहरू पर्याप्त मात्रामा निर्माण स्थलमा देखिँदैनन्।

परामर्शदाता कम्पनीका इन्जिनियर प्रधानले दोस्रो प्याकेजको ठेकेदार कम्पनीले खरिढुंगाको आहलडाँडादेखि चौकी नजिकका क्षेत्रसम्म सववेस बिच्छ्याइ सकिएको सुनाए। ‘क्रसर चलाएर छिट्टै सुरु गरिहाल्छौं भन्नुभएको छ,’ उनले भने।

प्रकाशित: २४ मंसिर २०७५ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App