२५ असार २०७७ बिहीबार
समाज

सीमाको सिंगै गाउँ लालपुर्जाविहीन

टीकापुर - कैलालीको भजनी नगरपालिका–३, कुसुमघाट गाउँ बसाउने मध्ये स्थानीय हर्क साउदका बाजे जंगबहादुर पनि एक हुन । २०२४ सालमा घना जंगल फाँडेर बसाएको कुसुमघाट गाउँमा तिनै जंगबहादुरको चौथो पुस्ता हुर्किरहेको छ।

त्यसअघि उनीहरू मोहनापारि भारतीय सीमासँगै जोडिएको ठाउँमा बस्थे । त्यहाँ भारतीय डाँकाहरूले सताउन थालेपछि वारि सरेका थिए । स्थानीयका अनुसार तत्कालीन समयमा जंगबहादुरलगायत केही सीमित व्यक्तिहरूले घना जंगल फाँडेर बस्ती बसाएका हुन् । अहिले कुसुमघाट गाउँमा १०९ घरधुरी छन् । गाउँ सहरोन्मुख अवस्थामा प्रवेश गरेको छ । विद्यालय छ । सानो बजार छ । स्वास्थ्य संस्था छ । चौडा बाटो निर्माण हुँदैछ । तर कुसुमघाटबासीसँग जग्गाधनीपुर्जा छैन।

कैलालीको भजनी नगरपालिका–३, कुसुमघाट गाउँमा १०९ घरधुरी छन् । गाउँ सहरोन्मुख अवस्थामा प्रवेश गरेको छ। विद्यालय छ । सानो बजार छ । स्वास्थ्य संस्था छ । चौडा बाटो निर्माण हुँदैछ । तर कुसुमघाटबासीसँग जग्गाधनीपुर्जा छैन।

वर्षौंदेखि भोगचलन गरेको जमिनको लालपुर्जा नहुँदा स्थानीय निकै समस्यामा छन् । न कसैको अंशवन्डा भएको छ न त जग्गा बेचबिखन नै हुन सकेको छ । जग्गा धितो राखेर बैकिङ कारोबार गरौं भन्दा पनि स्थानीयले पाएका छैनन् । कुसुमघाट भन्दा पछि बसेको बस्तीका बासिन्दाले जग्गाधनीपुर्जा पाइसकेका छन् । तर कुसुमघाटबासीले अझै पाउन सकेका छैनन्।

‘हाम्रो गाउँभन्दा पछि बसेका बस्तीका बासिन्दाले जग्गाधनीपुर्जा पाइसके,’ स्थानीय हर्क साउदले भने, ‘तर हामीले अहिलेसम्म पाउन सकेनौं।’

जग्गाधनीपुर्जा नपाउनुमा स्थानीय आफैको कमजोरी छ । बस्ती बसेको केही वर्षपछि नापी टोली कुसुमघाट गाउँ पुगेको थियो । टोलीले प्रतिपरिवार एक विगाह जमिन दिने भनेपछि स्थानीयले विरोध गरे । उनीहरूले भोगचलन गरेका सबै जमिन आफूहरूका नाममा हुनुपर्ने दाबी गरे । नापी टोली जग्गा नापनक्सा नगरेर रित्तै फर्कियो । त्यसपछि नापी टोली सो गाउँमा कहिल्यै फर्किएन । जसका कारण स्थानीयले अहिलेसम्म जग्गाधनीपुर्जा पाउन नसकेका हुन्।

‘त्यतिबेला जति दिन खोजेको थियो स्वीकारेको भए अहिले समस्या हुँदैनथियो,’ स्थानीय अमर साउदले भने, ‘बूढापाकाले अटेरी गर्दा अहिले समस्या ठूलो भयो।’

स्थानीयले झन्डै पाँच सय विगाह जमिन भोगचलन गर्दै आएका छन् । यो गाउँ दसगजासँगै जोडिएको छ । स्थानीयले पञ्चायतकालदेखि नै जग्गाधनीपुर्जा माग गर्दै आएका छन् । मुलुकमा धेरै व्यवस्था फेरिए पनि कुसुमघाटबासीको पीडा भने ज्यूँका त्यूँ छ । उनीहरू सबैका नाम मतदाता नामावलीमा छ । उनीहरूले हरेक निर्वाचनमा मत पनि दिएका छन् । उनीहरूकै मतले जितेका नेताले समेत फर्केर नहेरेको स्थानीयको दुःखेसो छ।

‘हाम्रै भोटले धेरै जना नेता भए । तर उनीहरूले हाम्रो पीडा बुझ्न सकेनन्,’ स्थानीय रमेश बोहराले गुनासो गरे, ‘हामी भोट बैंकका रूपमा मात्रै प्रयोग भयौं।’

गाउँलेले भारतीय नागरिकबाट समेत विभिन्न समयमा दुःख पाउँदै आएका छन् । भारतीय सुरक्षा बल एसएसबीले समेत बेलाबेला त्यहाँको बस्ती उठाउने प्रयास गर्दै आएको छ । स्थानीय कुसुमघाटमा बस्ती नबसेको भए नेपालको सीमा नै सुरक्षित नहुने स्थानीय बासिन्दा बताउँछन्।

राज्यले जग्गाधनीपुर्जाका लागि चासो नदेखाएको स्थानीयको आरोप छ । पछिल्लो समय उनीहरू स्थानीय तहले आफ्नो समस्या बुझ्देला कि भन्ने आसामा छन् । कुसुमघाटबासीले आफ्ना समस्याबारे नगरपालिकालाई जानकारी समेत गराइसकेका छन् । वडाध्यक्ष विक्रम चौधरीले कुसुमघाट गाउँ जग्गा नापी सर्भेका लागि प्रक्रियामा रहेको बताए । नापी विभागसँग नगरपालिकामार्फत समन्वय गरेर छिट्टै नापी सर्भे गराउने तयारी भइरहेको उनको भनाइ छ । वर्षौअघि बसेका अन्य यस्ता थुप्रै बस्ती अझै जग्गाधनीपुर्जाविहीन छन् । कतिपय ठाउँमा ठूल्ठूला बजारसमेत निर्माण भइसकेका छन् । जग्गाधनीपुर्जा नभएरै भोगचलन गर्दै आएका स्थानीय बासिन्दा जग्गा नापी हुने विश्वासमा छन्।

प्रकाशित: ४ मंसिर २०७५ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App