१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

तामाङबस्तीमा ठडिए विद्यालय भवन

बेनीघाट रोराङ गाउँपालिका– १ जरुङमा निर्माण गरिएको विद्यालय भवन । तस्बिर : सरिता/नागरिक

धादिङ – गाउँको बीचमा एउटा विद्यालय छ । एकातिर भूकम्पले भत्किएर मर्मत गरिएको भवन अर्कोतिर भूकम्पपछि विभिन्न संघसंस्थाले निर्माण गरिदिएको विद्यालय भवन।

कक्षाकोठामा केही विद्यार्थी पढिरहेका त केही चौरमा खेलिरहेका छन् । यो हो जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१ जरुङमा रहेको जरुङ सिम्टार आधारभूत विद्यालय । विद्यालयको दुईकोठे एउटा भवन भूकम्पपछि मर्मत गरिएको छ भने दुई–दुई कोठाका दुईवटा भवन गैरसरकारी संस्थाले बनाइदिएको छ।

भूकम्पपछि भवन लथालिंग भएर पढाइ नै प्रभावित बनेको जरुङको तामाङबस्तीमा अहिले विद्यालय भवन ठडिएपछि स्थानीय खुसी छन् । विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । ६ देखि ८ कक्षा पढ्न डेढ घण्टा लगाएर बासखर्क आधारभूत विद्यालयमा जानुपर्छ । अहिले विद्यालयमा नयाँ भवन बनेका छन् । स्थानीय प्रेमा तामाङले विद्यालय बनेपछि खुसी लागेको बताइन् । ‘विद्यालय नहुँदा आफू पढाइबाट बञ्चित हुनुप¥यो’, तामाङले भनिन्, ‘अहिले गाउँमा विद्यालय बनेको छ, छोराछोरीले राम्ररी पढेर गाउँको मुहार फेरून भन्ने चाहना छ ।’ तामाङका १ छोरा काठमाडौं तथा एक छोरा र एक छोरी गाउँकै विद्यालयमा पढ्छन्।

निर्मित विद्यालय भवन भूकम्प प्रतिरोधी छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ । विद्यालय भवन निर्माणपछि पढाइमा पनि सहज भएको छ । भवन नहुदाँ सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनुपर्ने अवस्था थियो अहिले त्यो हटेको छ।

विद्यालयका प्रधानाध्यापक मणि तामाङले भने, ‘भवन नहुँदा कतिपय विद्यार्थीले बीचमा नै पढाइ छोडेका थिए । अब विद्यालय भवन भनेको छ, ढुक्क भएर सुरक्षित ठाउँमा पढाउन पाएका छौं ।’ विद्यालय भवन ४४ लाख ६६ हजार ५ सय ३५ रुपैयाँ लागतमा निर्र्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए।

त्यस्तै प्रयासले ४५ लाख २९ हजार १ सय १ को लागतमा सिम्टार आधारभूत विद्यालय र २४ लाख १३ हजार ४ सय ९० रुपैयाँ लागतमा सिंहदेवी आधारभूत विद्यालयको भवन बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले बस्न नहुने गरी विद्यालय भवन भत्काएपछि युनाइटेड मिसन टू नेपाल (युएमएन) को साझेदारीमा प्रयास नेपाल धादिङले विद्यालय भवन निर्माण गरिदिएको हो । प्रयासका अनुसार बेनीघाट १ मा रहेका ८ वटा विद्यालयको भवन निर्माण गरिएको छ । हालसम्म जिल्लामा भूकम्पले भत्किएका विद्यालय भवन ५० प्रतिशत भन्दा बढी पुनर्निर्माण गरिसकिएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App