१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक बन्न नदिन चलखेल सुरु

बारा – पूर्व–पश्चिम राजमार्गको मानवतदेखि भारतको सीमाना मटिअर्वासम्म निर्माण भइरहेको मानमत–कलैया–मटिअर्वा हुलाकी सडकलाई अनावश्यक मागहरू राखेर बन्न नदिनको लागि चलखेल शुरु गरिएको छ।

कलैया उपमहानगरपालिकामा असोज ७ गते भएको सर्वपक्षिय भेलामा उक्त मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डलाई १५–१५ मिटरमा निर्माण गर्न दिने र मुआब्जा पुनर्मूल्यांकन गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको थियो। सर्वपक्षीय भेलामा भएको सहमति विपरित मानमत–कलैया–मटिअर्वा सडक बन्न नदिनको लागि नयाँ नगर सडक संघर्ष समिति गठन गरी अनावश्यक मागहरू अगाडि सारिएको बताइएको छ।

नयाँ समितिले मंगलबार पत्रकार सम्मेलन गरी सडकमा पर्ने जग्गाको मुआब्जा बढाएर वितरण नगरेसम्म सडकको निर्माण कार्य गर्न नदिने बताएका हुन्। नयाँ गठन गरिएको मानमत–कलैया–मटिअर्वा नगर सडक संघर्ष समितिका सचिव प्रकाश सर्राफले पहिले निर्धारण गरिएको मुआब्जा थोरै कम रहेकोले पुनः मुआब्जा बढाएर दिनुपर्ने बताए।
सर्वपक्षीय भेलामा भएको सहमतिले निर्धारण गरेको मुआब्जा बढाएर पाउने हो की होइन निश्चित नभएकोले शुरुमै अहिलेको चलन चल्तिमा खरिद बिक्री भइरहेको आधारमा जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्नुपर्ने उनले तर्क गरे।

मानमत–कलैया–मटिअर्वा नगर संघर्ष समितिका तत्कालिन अध्यक्ष सुरेश मोदकाले सर्वपक्षीय भेलामा भएको सहमति अनुसार अहिले वितरण गरिएको मुआब्जालाई पुनर्मूल्यांकन गरी हालको चलन चल्तिमा कायम गर्नको लागि कलैया उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बारा लागेको बताए। पहिला थोरै रहेको मुआब्जालाई बढाएर दिनको लागि पहल भइरहेकै बेला अर्को संघर्ष समिति गठन गरी सडकको लागि जग्गा खाली गर्नुभन्दा अघि नै बढी मुआब्जाको माग गर्नु समय सापेक्ष नभएको मोदकले बताए।

२०६९ सालमा बाराका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णहरी पुष्करले कलैया बजार क्षेत्रमा पर्ने जग्गाको न्युनतम मूल्य प्रति कट्ठाको १५ लाख निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

८ वर्ष पहिला निर्धारण गरिएको जग्गाको मुआब्जा नबुझी मानमत–कलैया–मटिअर्वा नगर सडक संघर्ष समितिले १५–१५ मिटरमा निर्माण भइरहेको सडकलाई ७.५–७.५ मिटरमा निर्माण गर्न आन्दोलन गर्दा भारतीय निर्माण कम्पनी भिस्वाले सडकको निर्माण कार्य पुरा गर्न नसकेको कलैयाका स्थानीय सुनिल कुश्वाहाले बताए। पहिला नै मुआब्जा बुझेको भए सडकमा पर्ने जग्गाको मुअब्जाबाट राम्रो स्थानमा जग्गा खरिद गर्न सकिने अवस्था रहेपनि संघर्ष समितिका केही पदाधिकारीले निजी स्वार्थमा लागेर कुनै न कुनै बहानामा सडक बन्न नदिने गतिविधि गरेको उनले बताए।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडकलाई बिभिन्न बहानामा बन्न नदिनको लागि चलखेल गर्दै आएको नगर सडक संघर्ष समितिलाई नै कलैयावासी मिलेर तह लगाउन जरुरी रहेको कुश्वाहाले बताए। एक पटक सहमति भए विपरित गएर मानमत–कलैया– मटिअर्वा नगर सडक संघर्ष समितिले गर्ने कुनै पनि कार्यले सडकको निर्माण कार्यमा जटिल्ता थपिने सम्भावन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७५ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App