२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दसैं मनाउन घर फर्किदै नेपाली, रेलस्टेसनमै पुग्छ नेपाल प्रहरी

बाँके–भारतको गुजरातबाट दसैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित थिए।

उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने। कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगें, शाहीले भने । तर, जब उनी जमुनाहा पुगे ढुक्कसँग नेपाल प्रवेश गरे। दुई वर्षसम्म नेपाल नआएकोले उनी ढुक्कसँग घर पुग्नेमा आशावादी छन्।

उनीजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गरेका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । ‘सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन।’

दसैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ। ‘रुपैडिहा रेल्वे स्टेसन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ।’

भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पु-याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ। नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ।

जाजरकोट शिवालय–२ का खगेन्द्र विक, कुशे गाउँपालिका–५ का हीरालाल टमाटाले  चाडपर्व मनाउन नेपाल फर्किएको बताए । भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीका लागि भारत जान्छन् ।अरु बेला आउन नसकेपछि दसैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौं, श्रीमानसँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भनिन्,‘वर्षमा आउने ठूलो चाड घर त आउनु नै प-यो नि।’ रासस 

 

प्रकाशित: १८ आश्विन २०७५ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App