२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

कवि सुशीला ढकाल अधिकारीको ‘गोरखाली गुराँस’ लाेकार्पण

नोबेल साकोस साहित्य संस्थाले साहित्यकार सुशीला ढकाल अधिकारीको ‘गोरखाली गुराँस’ कवितासङ्ग्रहको लाेकार्पण गरेकाे छ।

साहित्यकार ढकालकाे जन्मदिनकाे अवसर पारेर वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्य र भुँडी पुराणका सञ्चालक केशव पराजुलीको अध्यक्षतामा कवितासङ्ग्रहको लोकार्पण गरिएकाे हाे।

उक्त लाेकार्पणमा विशिष्ट अतिथिको रूपमा डा. शैलेन्दुप्रकाश नेपाल, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा गोविन्दमानसिंह कार्की, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले स्रष्टा ढकालको कविता कृति ‘गोरखाली गुराँस’ बारे समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कवि दिवसले नियम बनाएर, कक्षामा पढाए जसरी पढाएर र सिकाएर कविता नलेखिने बताए। कविताहरू नवीन, मौलिक र निजत्व दर्शाउने हुनुपर्छ उनकाे भनाइ रहेकाे थियाे।

लोकार्पणमा प्राडा गोविन्दमानसिंह कार्की, डा. शैलेन्दुप्रकाश नेपाल, डा. छायादत्त न्यौपाने, कवि चन्द्र न्यौपाने, सुसेली फाउण्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, कवि सन्तोषकुमार पोख्रेल लगायतले कवि सुशीला ढकाललाई बधाई तथा शुभकामना दिंदै कविता कृतिबारे प्रकाश पारेका थिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिताका शिक्षक शान्तराम बिडारीले कवि सञ्चार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकाे बताए।

कार्यक्रममा लालित्य सिर्जना समाज, ललितपुरले स्रष्टा सुशीला ढकाल अधिकारीलाई सम्मान पनि गरेको थियो। त्यस अवसरमा गायक तथा सङ्गीतकार शिशिर योगीले गीतसङ्गीत प्रस्तुत गरेका थिए।

नोबेल साकोस साहित्य संस्थाका संस्थापक राजन न्यौपानेले सहजीकरण गरेकाे कार्यक्रममा स्रष्टा ढकालले कविता लेखनकाे क्रममा भाेगेका अनुभवहरू सुनाएकी थिइन्। आफ्नो पहिलो कविताकृति जन्मदिनमा लाेकार्पण गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले लेखनयात्रामा  घरपरिवारकाे भरपूर भरथेग रहेकाे बताइन्। 

प्रकाशित: २१ आश्विन २०८१ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App