coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन वर्षपछि बल्ला तेस्रो किस्ता

खोटाङ - भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोटाङका भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण सुरु गरेको छ। २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो र दोस्रो किस्ता लिएर आवास निर्माण गरिरहेका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको हो।

खोटाङका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये पहिलो र दास्रो किस्ता लिएर सम्झौता र मापदण्डअनुसार घर निर्माण गरेका लाभग्राहीलाई हाल धमाधम तेस्रो किस्ता वितरणको भइरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए। डिपिसी सकिएपछि दोस्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु-याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजार रुपैयाँका दरले अनुदान दिने प्रावधान छ।

खोटाङका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये पहिलो र दास्रो किस्ता लिएर सम्झौता र मापदण्डअनुसार घर निर्माण गरेका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको हो।

०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता र २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता वितरण थालेको प्राधिकरणले बल्ल तेस्रो किस्ता वितरण सुरु गरेको हो। प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत् जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान वितरण गरिरहेको छ । हालसम्म कुल लाभग्राहीमध्ये ८ हजार ३१० लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ३ हजार ३७९ लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ अनुदान पाएर घर बनाइरहेका छन्। प्राधिकरणले दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक, सालपा विकास बैंक, ज्योति विकास बैंक, बैंक अफ काठमाण्डौ र सेञ्चुरी कमर्सियल बैंकबाट आवास अनुदान वितरणको व्यवस्था मिलाएको छ।

भूकम्पीय आवास पुर्निर्माणको अनुदान वितरणमा ढिलासुस्ती हुँदा समस्या झेल्नु परेको लाभग्राहीको गुनासो छ। आवश्यक परेका बेला अनुदान नपाउँदा सोचेको समयमा आवास निर्माण पूरा गर्न नसकिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५, सछितापोखरीका भूकम्पपीडित श्यामकुमार थापाले गुनासो गरे । अधिकतर भूकम्पपीडितले प्राधिकरणको अनुदान वितरण सुस्त भएको गुनासो गरेका छन् । ‘मापदण्डअनुसार आवास निर्माण थाले पनि किस्ता पाउन लामो समय पर्खनुप-यो,’ थापाले भने, ‘चाहिएको समयमा किस्ता नपाउँदा ऋण काढ्नुपर्ने बाध्यता आइप-यो।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाएका इन्जिनियर पनि काम छाडेर हिँड्दा, प्राविधिक मूल्यांकनका क्रममा डाटा इन्ट्री गर्ने ट्याब आवश्यक मात्रामा व्यवस्था नहुँदा, जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना नहुँदा आवास निर्माण प्रभावित भएको हो । बेलामा तेस्रो किस्ता नपाएका कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् भने कतिपयले छाना हाल्न बाँकी राखेर तेस्रो किस्ता प्रतीक्षा गरिरहेका छन् । किस्ता बुझेर अझै आवास निर्माण सुरु नगर्ने पनि छन् । भूकम्पपीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि बेलामा दोस्रो र तेस्रो किस्ता नपाउँदा अधिकांश आवास निर्माण प्रभावित भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए।

खोटाङका ८ हजार ४४३ लाभग्राहीमध्ये अझै १३३ लाभग्राही पहिलो किस्ता पाउनबाटै बञ्चित छन् । विदेशमा रहेका घरमुलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेशिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्नेलगायत समस्याका कारण कतिपय भूकम्पपीडित परिवारले हालसम्म आवास अनुदानको पहिलो किस्ता नै पाउन नसकेका हुन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक छ।

प्रकाशित: १८ आश्विन २०७५ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App