दोलखा - भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्। ससाना केही सम्पदाको निर्माण सकिएको छ। धार्मिक र पुरातात्विक महत्वका ठूला सम्पदा निर्माण हुने क्रम जारी छ । केही सम्पदा पुनर्निर्माणमा स्विस सरकारले सघाएको छ।
भूकम्पका कारण दोलखाका प्राचीन मन्दिर, पाटीपौवासहित तीन दर्जन बढी सम्पदामा क्षति पुगेको छ। पुरातत्व विभागका अधिकारीका अनुसार प्रसिद्ध भीमेश्वर मन्दिरबाहेक सहरका प्रायः सम्पदा भूकम्पको धक्काले भत्किएक थिए । यहाँ सय वर्षभन्दा बढी पुराना मठमन्दिर, चैत्य, डबली, पार्टी पौवा गरी ५० भन्दा बढी छन्। तर सहरका अध्येताहरु भने सार्वजनिक र व्यक्तिको स्वामित्वमा रहेका मल्लकालअघिका पुराना संरचनासमेत जोड्दा १ सय १० वटाभन्दा बढी प्राचीन सम्पदा यहाँ रहेको दाबी गर्छन् ।
स्विस सरकारको ७ करोड लगानी
दोलखाको विकासमा २०१० कै दशकदेखि लगानी गर्दै आएको स्विस सरकारले दोलखा बजारका २ ठूला र मन्दिरको पुननिैर्माणमा ७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । स्विस सरकारको आर्थिक सहयोगमा पुरातत्व विभागले प्रसिद्ध त्रिपुरासुन्दरी र तलेजु भवानीको मन्दिरलाई पुरानै शैलीमा निर्माण गरिरहेको छ। विभागका इन्जिनियर सुजन बुढाथोकीका अनुसार ‘कटिङ’ गरिएका ढुंगामात्र प्रयोग गरेर यी मन्दिर पुरानै शैलीमा निर्माण भईरहेका छन्। यस्तै झ्याल र ढोकासमेत पुरानै डिजाइनमा हुनेछन्। तीनतले त्रिपुरासुन्दरी मन्दिरको दोस्रो तला निर्र्माण सम्पन्न भइसकेको जानकारी उनले दिए। मन्दिरको बीचको खण्डमा भने भारतबाट ल्याइएका ढुंगा प्रयोग गरिनेछ।
यस्तै दोलखा बजारको तल्लो टोलमा रहेको तलेजु भवानीको मन्दिरसमेत स्विस सरकारकै सहयोगमा पुनर्निर्माण भईरहेको छ। मन्दिर पुनर्निर्माण सम्पन्न हुने चरणमा रहेको बुढाथोकीले बताए । ‘अब छाना हाल्नमात्र बाँकी छ’, उनले भने। स्विस सरकारकै बजेटबाट त्रिपुरासुन्दरीदेखि तलेजु मन्दिरसम्म पुग्ने सडक पनि ऐतिहासिकता झल्कने गरी निर्माण गरिनेछ।
यस्तै पुरातत्व विभागको बजेटमा भीमेश्वर मन्दिरको भण्डार घरसमेत पुनर्र्निर्माण भइरहेको छ। बुढाथोकीका अनुसार विभागको २ करोड ५० लाख रुपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको भण्डार घरको भुइँतला बनाउने काम चलिरहेको छ । भण्डार घरको मूल ढोकालाई विभागले मल्लकालीन सजावट र आकृति झल्कनेगरी बनाएको छ। प्राविधिकहरुका अनुसार प्रायः ढोका र झ्यालहरु मल्लकालीन शैलीकै बुट्टा भएका हुनेछन् । ढुंगाजडित पुरानो शैलीकै गारोे र छाना तामाको हुनेछ।
टक्सार घरमा मुद्रण सहंग्रालय
बजारको स्वयंभूथान नजिकै रहेको टक्सार घरलाई प्रदेश ३ सरकारले मुद्रण सहंग्रालय बनाउन गृहकार्य थालेको छ। तत्कालीन दोलखा राज्यका राजा जय ईन्द्रसिंह देवले १६०५ सालअघि नै टक छाप्न र भण्डार गर्न यो घर बनाएको इतिहास छ । हाल पाँचजनाको स्वामित्वमा रहेको यो घरलाई अधिग्रहण गरी संरक्षण गर्ने तयारी ३ नम्बर प्रदेश सरकार र भीमेश्वर नगरपालिकाको छ । त्यसका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । प्रदेश सरकार र भीमेश्वर नगरपालिकाको लगानीमा टक्सार घर संरक्षण गरी यसलाई मुद्रण सहंग्रालय बनाइने नगरपालिका कार्यालयले जनाएको छ । तत्कालीन दोलखा राज्यबाट जारी मुद्रा नेपालकै पहिलो सिक्का भएको दाबी लण्डनबाट प्रकाशित पुस्तक ‘क्वाइनेज अफ नेपाल’ मा गरिएको छ । दोलखा बजार भीमेश्वर नगरपालिकामा पर्छ।
ससाना मन्दिर पनि पुनर्निर्माण क्रममा
भूकम्पले भत्किएका प्राचीन दोलखा सहरका वर्षौ पुराना ससाना मन्दिरलाई पनि महत्व दिएर विभागले निर्माण गरिरहेको छ । बजेट अभावमा कतिपय ससाना मन्दिर पुनर्निर्माण अघि बढाउन समस्या भएको छ । दुंगल टोलको नारायण मन्दिरको पुनर्निर्माण सकिएको छ । यो मन्दिरको निर्माण तोकिएको समयभन्दा ढिलो ३० लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो । बजेट अभावका कारण पिंगल महादेवको मन्दिर पुनर्निर्माणमा विलम्ब भइरहेको छ । मन्दिरमा टुँडाल र छानामा झिगंटी र गजुर राख्न बाँकी रहेको जानकारी इन्जिनियर बुढाथोकीले दिए । उनका अनुसार तल्लो टोलको नारायण मन्दिरमा पेटी र ढुंगा छाप्ने काम बाँकी छ । मच्छिन्द्रनाथको मन्दिरमा समेत छानो हाल्ने काम बाँकी छ । अघिल्लो वर्ष ५ लाख रुपैयाँ बजेट आएकाले दुंगल चैत्यको पेटी मात्र बनाइएको छ । बालकुमारी मन्दिरसमेत पुनर्निर्माण भइरहेको छ।
सम्पदा उठाउन लगानी अभाव
भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठले पुरातत्व विभागले सम्पदा पुनर्निर्माण गरिरहेको बताए। उनका अनुसार पर्याप्त बजेट नभएकाले अपेक्षित गतिमा पुनर्निर्माण अघि बढ्न नसकेको उनको भनाइ छ। ‘बजेट थोरै भए पनि पुनर्निर्माण सुरु भएको छ’, उनले भने, ‘यो सन्तोषको कुरा हो तर भत्किएका सम्पदा पुनर्निर्माणले जुन गतिमा अघि बढ्नुपथ्र्यो त्यो हुन सकेको छैन।’
सरकारले प्याकेज बनाएर सहरका सम्पदा पुनर्निर्माण योजना नल्याउँदा काम गर्न अलि बाधा परेको स्थानीयको बुझाइ छ । सरकारले केही सम्पदा पुनर्निर्माणमा चासो देखाए पनि सबैमा उत्तिकै ध्यान पु-याउन सकेको छैन। वडाध्यक्ष श्रेष्ठका अनुसार बज्रयोगिनी मन्दिर अलपत्र अवस्थामा छ । बालकुमारी र मञ्जुश्री मन्दिर पुनर्निर्माण अभावमा जीर्ण बनेका छन् । स्थानीयले पैसा उठाएर कालीमन्दिर बनाइरहेको श्रेष्ठले बताए।
भण्डार घरमा मिनी सहंग्रालय
पुनर्निर्माण हुँदै गरेको भीमेश्वर मन्दिरको भण्डार घरमा ‘मिनी सहंग्रालय’ समेत स्थापना गरिने भएको छ । समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार भण्डार घरको पहिलो तलामा परम्परागत र वर्षौ पुराना सामाग्रीसहितको सहंग्रालय बनाइनेछ । दोस्रो तलामा मन्दिरको भण्डार कोठा बनाइनेछ भने तेस्रो तलामा समितिको कार्यालय र बैठक कक्ष राखिनेछ । हाल भण्डार घरकका सामान घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा राखिएको छ।
निजी घर बनाउन अलमल
दोलखा बजारमा भूकम्पले क्षति पुगेका करिब २ सय २० निजी घरमध्ये हालसम्म ६० वटामात्र पुर्ननिर्माण भएका छन् । बहूस्वामित्वका घरहरुबारे यसअघि सरकारको स्पष्ट नीति नआएका कारण निजी घर समयमै निर्माण हुन नसकेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘२ वा सोभन्दा बढी व्यक्तिका नाममा रहेका बहूस्वामित्वका घरहरु बनाउन पाउने भनेर पुनर्निर्माण प्राधिकरणले भर्खरै निर्णय गरेका कारण अब निजी अघर निर्माणले गति लिन्छ भन्ने अपेक्षा गरेका छौं’, श्रेष्ठले भने । उनका अनुसार निजी घरका अगाडिको भागमा ढुंगा वा परम्परागत शैली झल्कने खालका इँटा टाँस्ने र आँखीझ्याल र ढोका राख्न नगरपालिकाले २० प्रतिशतसम्म लगानी गर्ने व्यवस्था गरेको छ।
प्रदेशसभा सांसद पशुपति चौलागाईंले मन्दिरैमन्दिरको सहर दोलखा बजारको ऐतिहासिक महत्व नमेटिने गरी पुनर्निर्माण गर्ने र यसलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिने बताए । ‘यहाँ पाइएका केही ऐतिहासिक तथ्यले देशका अन्य सांस्कृतिक सहरभन्दा दोलखा बजार पुरानो रहेको आंकलन गर्न सकिन्छ’, उनले भने, ‘यसबारेमा पुरातत्व विभागसहित थुप्रै निकायले अध्ययन गरिरहेका छन्।’
प्रकाशित: १८ आश्विन २०७५ ०१:२५ बिहीबार