२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, १८ वर्षीय चालक घाइते

पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १६ वर्षीय अनिल विकको मृत्यु भएको छ।

टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय दिनेश वि.क. घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ।

मणिपाल शिक्षण अस्पतालमै उपचाररत दिनेशको अवस्था मध्यम रहेको र हल्का बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै दुवै जनालाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हेम्जाको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २६ श्रावण २०८३ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App