प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले व्यक्तिगत स्टन्ट र गतिविधिबाट देश बन्न नसक्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले उद्योगमन्त्रीले व्यक्तिगत रूपमा ग्यास वितरण गर्दै हिँडेर मात्रै ग्यास अभावको समस्या समाधान नहुने बताइन्।
उनले भनिन्, ‘व्यक्तिवाद र व्यक्तिकेन्द्रित भएर सरकारी संयन्त्रको धज्जी उडाएर पनि राज्य बन्दैन भन्ने कुरा भन्न सक्ने ताकत यो सदनले राख्नुपर्छ।’
ग्यास अभावका कारण सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको बताउँदै ओलीले मन्त्रीको जिम्मेवारी केही व्यक्तिलाई फोन गरेर ग्यास छ कि छैन भनेर सोध्नु र व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराउनु नभएको बताइन्।
‘हाम्रो उद्योगमन्त्री ग्यास बाँड्दै हिँडिरहनुभएको छ। फोन गरेर तपाईंको घरमा ग्यास छ भनेर सोधिरहनुभएको छ। तर उहाँले जनताहरू यसरी तातो घाममा ग्यासको लाइनमा बसेको देखिरहनुभएको छैन,’ उनले भनिन्।
मन्त्रीले १०, २० वा ३० जनालाई फोन गरेर ग्यास उपलब्ध गराउन सक्ने भए पनि हजारौँ तथा लाखौँ नागरिकको समस्या त्यसरी समाधान गर्न नसकिने उनको भनाई थियो।
‘उहाँको जिम्मेवारी भनेको प्रणालीलाई काम गराउने हो। राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौँ,’ ओलीले भनिन्।
ओलीले ग्यास अभावको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीले उद्योगमन्त्रीसँग स्पष्टीकरण मागेर समस्या सम्बोधन गर्नुपर्ने बताइन्।
प्रकाशित: २६ श्रावण २०८३ १६:१३ मंगलबार





