२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काष्ठमण्डप पुनर्निर्माण अब द्रुत गतिमा, दातासँग पैसा नलिने मेयरको निर्णय

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिन थालेको छ। भूकम्पले भत्किएको काठमाडौंको ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माणको कामअन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम गरिरहेको छ। 

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले पनि अब पुनर्निर्माणको कामले गति लिएको बताए। काष्ठमण्डप पुनर्निर्माणका लागि आउँदो असोज ५ गतेभित्र पहिलो चरणमा काठ आइपुग्ने उनको भनाई छ।

‘मंसिर १५ गतेभित्र २५ फुटभन्दा लामा काठ र इट्टा आइपुग्छन्। मंसिर १५ गते जगको काम औपचारिक शुरुवात गर्ने र माघको १५ गते पहिलो तलाका थाम उभ्याउने तयारी भएको छ’, मेयर विद्यासुन्दर शाक्यले भने, ‘२०७६ असार मसान्तभित्र पहिलो तलाको पुनर्निर्माण सम्पन्न गर्छौं।’ 

शुक्रबार राष्ट्रियसभा गृहमा महानगरका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र भित्री वडाका वडाध्यक्षसहित बसेको पुनर्निर्माण निर्देशक समितिको बैठकमा शाक्यले अहिलेसम्ममा काठ, इट्टा र माटो प्राप्त गर्ने काम भइरहेको बताए। 

बैठकमा पुनर्निर्माणको प्राविधिक पक्ष पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले तथा आर्थिक पक्ष महानगरले हेर्ने पनि मेयर शाक्यले बताए। लक्षित बजेटको सीमामा बसेर समितिले काम गर्नुपर्ने उनको भनाई थियो। मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा खर्चको विषयलाई लिएर विवादित टिप्पणी आएकोप्रति पनि लक्षित गर्दै भने, ‘हामी विदेशी या अरु दातासँग पैसा माग्दैनौं, सरकारले दिएको रकममा अपुग महानगरले खर्च गर्छ, यो विषयमा सबै स्पष्ट हुन जरुरी छ।’

निर्धारित समयमा काम सक्नुपर्ने भन्दै मेयर शाक्यले यसो भएन भने खर्च बढ्ने र जनविश्वास घट्नेतर्फ सचेत गराए। ‘त्यसैले कामको प्रगति लिखित रुपमा महानगरलाई प्राप्त हुनुपर्छ’, बैठकमा उनले भने। बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले नागरिक सम्बन्ध स्थापित गर्दै पुनर्निर्माणको काम अघि बढाउनुपर्ने सुझाव दिइन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको विषयलाई आफूले नजिकबाट निगरानी गरिरहेको बताए। काष्ठमण्डपलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्न साना–साना काठमा बुट्टा कुद्ने काम थालनी शुरु गर्दा हुने सुझाव दिए। 

बैठकमा उपस्थित वडाध्यक्षले जात्रा पर्व, काष्ठमण्डप र स्थानीयको सम्बन्ध निरन्तरताका विषयमा ख्याल गर्न सुझाव दिए। काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले गएको जेठ २९ गते एक औपचारिक कार्यक्रम आयोजना गरेर समितिलाई पहिलो किस्ता ५० लाख रुपैयाँ अनुदान रकम प्रदान गरिसकेको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App