१६ चैत्र २०८० शुक्रबार
समाज

सिन्धुपाल्चोकमा अझै नौ हजार घर बन्न बाँकी

सिन्धुपाल्चोक, हेलम्बुको मेलम्ची घ्याङ गाउँ । बर्खाले सडक बन्द हुँदा हिमाली गाउँमा पुनर्निर्माण सुस्त छ। तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक - भूकम्पबाट सर्वाधिक क्षति भएको सिन्धुपाल्चोक पुनर्निमाणमा विभिन्न व्यावहारिक तथा कानुनी उल्झनमा फसेका र अटेरी पीडित बाधक देखिएका छन्। उनीहरूकै कारण यहाँ पुनर्निर्माण पछाडि धकेलिने देखिएको छ। जिल्लामा पुनर्निर्माण अन्तिम चरणमा पुग्दा साढे ६ हजार पीडितले अझै घर बनाउन सुरु नै गरेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को तथ्यांकअनुसार पहिलो चरणमा लाभग्राही सूचीमा समेटिएकामध्ये ६ हजार ५ सय ५० पीडितले घरको जग खन्न पनि सुरु गरेका छैनन्। पहिलो चरणमा ८३ हजार ६ सय ६३ पीडित लाभग्राही सूचीमा समेटिएका थिए।

विदेशमा रहेका, विस्थापित भएका, घर बनाउने जग्गा नभएका, सुकुम्बासी, जग्गामा बहुस्वामित्व भएका, गुठी समस्या र प्राविधिक त्रुटिको उल्झनमा परेकाहरूले घर निर्माण थाल्न नसकेको एकाइ प्रमुख टंकप्रसाद गौतमले बताए । ‘पीडितले अझै घर बनाउन नसक्नुमा धेरै व्यावहारिक र कानुनी जटिलता देखिए,’ एकाइ प्रमुख गौतमले नागकिसँग भने, ‘केही पीडित अटेरी र पेलाहासमेत भेटिए।’

एकाइका अनुसार पहिलो चरणका लाभग्राहीमध्ये ५ हजार ७० ले अनुदान सम्झौता नै गरेका छैनन्। अनुदान सम्झौता गरेका ७८ हजार ५ सय ८० मध्ये ८ सय ६८ ले घर निर्माण सुरु नै छैनन् । उनीहरूले घरको जग संरचना तयार गर्न पहिलो किस्ता ५० हजार रुपैयाँ लिइसकेका छन् । सम्झौता चरणमा गरेका त्रुटिका कारण १ सय ९९ भूकम्पपीडित पहिलो किस्ता पाउनबाट वञ्चित भएका छन् । किस्ता नपाएका कारण उनीहरूले घरको जग खन्न नसकेका हुन्।

घर बनाउन नसक्ने पीडितसँग फरक–फरक समस्या रहेको एकाइ प्रमुख गौतम बताउँछन् । ‘घर बनाउन नसक्नुमा सबै पीडितका समस्या एकै किसिमका छैनन्,’ उनले भने, ‘पीडितले के–के कारणले घर बनाउन सकेनन् भनेर प्रत्येक वडामा सर्वे गर्दै र्छौं।’ सर्वेपछि मात्रै पीडितका समस्या पहिचान हुने र समाधान निस्कन सक्ने उनको भनाइ छ।

भूकम्पका कारण जमिन चर्कंदा जग खन्ने ठाउँ नभएका पीडितलाई जग्गा खरिद गर्न प्राधिकरणले भर्खरै अनुदान वितरण थालेको छ। त्यस्ता पीडितले जग्गा किन्न थप दुई लाख रुपैयाँ अनुदान पाउँछन्। सिन्धुपाल्चोक सबैभन्दा बढी गुठी समस्या रहेको जिल्ला हो । गुठी समस्याकै कारण घर बनाउन नसकेको पीडित बताउँछन्। तर, गुठी जग्गा भोगचलनको निस्सा प्रमाण भए अनुदानको घर बनाउन नरोकिने प्राधिकरणका अधिकारीहरूको भनाइ छ। उनीहरूका अनुसार निस्सा प्रमाण नभए सँधियारको मुचुल्काका आधारमा अनुदान प्राप्त गर्न र घर बनाउन सकिन्छ । ‘यो सन्देश पीडितसम्म पु-याउन नसक्दा पनि समस्या थपिएको छ,’ वरिष्ठ इन्जिनियरसमेत रहेका एकाइ प्रमुख गौतम बताउँछन्।

कामदार अभाव, निर्माण सामग्रीमा महँगी र कालोबजारी, खेतीपातीमा व्यस्त हुनुपर्ने बर्खाको सिजन, वर्षा, बाढी, पहिरोले ग्रामीण सडक बन्द हुँदा सिर्जित ढुवानी समस्यालगायत कारणले पनि पुनर्निर्माणलाई असर पु-याइरहेको देखिन्छ । एकल, असहाय लाभग्राही घर बनाउन नसक्नेको सूचीमा छन्।

यति हुँदा–हुँदै पनि जिल्लामा पुनर्निर्माणले भने फड्को मारेको देखिन्छ । हालसम्म ७७ हजार ५ सय १३ घर बनिरहेको एकाइको तथ्यांक छ । ७६ हजार ३ सय ६० भूकम्पपीडितले दोस्रो किस्ता पाएका छन् भने ४८ हजार ८ सय ८९ पीडितले तस्रो किस्ता लिइसकेका छन्।

पछिल्लो समयले प्राधिकरणले छुट र पुनः सर्वेबाट तीन हजार पीडित लाभग्राही सूचीमा थपिएका छन् । उनीहरूका लागि घरको जग खन्न पहिलो किस्ता निकासा गर्न थालिएको छ । योसमेत जिल्लामा लाभग्राहीको संख्या ८६ हजार ९ सय ७१ पुगेको छ । पहिलो चरण र थपिएका लाभग्राहीसमेत गरेर सिन्धुपाल्चोकमा साढे नौ हजार भूकम्पपीडिले घर बनाउन बाँकी देखिन्छ।

प्रकाशित: २६ भाद्र २०७५ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App