८ वैशाख २०८१ शनिबार
समाज

फैलियाे स्क्रवटाइफस संक्रमण

काठमाडौं – देशका विभिन्न भागमा विभिन्न सरुवा रोग फैलिएको छ । राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साता सबैभन्दा बढी स्क्रवटाइफस संक्रमणको तथ्याकं प्राप्त भएको छ । यो साता मात्र देशका विभिन्न भागमा गरी ४१ जनामा स्क्रवटाइफस फैलिएको तथ्यांक छ । मनसुनमा देखा पर्ने यो रोगका बिरामी गत एक महिनामा १ सय २६ जना पुगिसकेको भएको महाशाखाले जनाएको छ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत एक महिनामा २५ जना स्क्रवटाइफसकै बिरामी उपचारमा आएका छन् । खेतबारी या झाडीमा मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीविबाट मानिसमा सर्ने रोगलाई स्क्रव टाइफस भनिन्छ । खेतवारी या झाडीहरुमा रहने यो परजीविभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जिवाणुको शरीरभित्र प्रवेश गरेमा व्यक्तिमा यो रोगको संक्रमण हुन्छ । रोग सार्ने यो परजीविलाई बोलीचालीको भाषामा किर्ना भनिन्छ । घाँस या झाडीमा बसेमा, मुसा घरभित्र पसेर किर्ना छोडेमा वा घरभित्रै रेहेको यो परजीविले टोकेमा स्क्रवटाइफसको संक्रमण हुन्छ।

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा यो साताभित्र प्राप्त भएका तथ्यांकअनुसार युनाइटेड मिसन अस्पताल पाल्पावाट १६ जना, कान्तिबाल अस्पताल काठमाडौंबाट ११ जना र १० जना सेती अंचल अस्पताल कैलाली, २ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट र २ जना धादिङबाट छन् । स्क्रवटाइफस देशका विभिन्न स्थान गोर्खा, गुल्मी, लमजुङ, नुवाकोट, भोजपुर, कैलाली, सिन्धुली, धादिङ, प्युठान, दार्चुला, मोरङ, सर्लाहीलगायत जिल्लामा फैलिरहेको छ।

यो जीवाणुको लागि अनुकल तापक्रम भएका जिल्लामा देखिने गरेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक सम्भु ज्ञवालीले बताए । यो रोग फैलिएपछि स्थानीय संचारमाध्यममार्फत जनमानसलाई सचेत हुन आग्रह गरिएको प्रशासक ज्ञवालीले बताए।

चिकित्सकका अनुसार यो रोगको संक्रमण भएपछि शरीरमा रातो विमिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रव टाइफसको जीवाणुले टोकेको पाँचदेखि ६ दिनमा व्यक्तिलाई कडा ज्वरो आउने, पसिना आउने, कामज्वरो आउने, शरीर दुख्ने, कतिपयलाई शरीरमा रातो विमिरा देखिने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिन्छन् । संक्रमित व्यक्तिले समयमै उपचार नगरेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अंगमा समेत संक्रमण भई बिरमाीको मृत्यु पनि हुनसक्ने भएकाले जोखिममा रहेका सबैलाई सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । ‘यसको खतरा भनेकै छिटोछिटो अन्य अंगमा संक्रमण हुन सुरु गर्छ र अंग नै बिगार्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने।

चिकित्सकका अनुसार बितेका वर्षमा देशका विभिन्न जिल्लामा यसको संक्रमण फैलिएको थियो । यो वर्ष अन्य जिल्लामा पनि यसको जोखिम छ । विश्व तापमानमा आएको परिवर्तनको कारण पहिला खास भूगोलमा हुने रोग फरक भौगोलिक वातवरणमा रोग सार्ने किटाणु फैलिने क्रम बढेकाले सबै जिल्लाका मानिस सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ । यो रोगको संक्रमणको कारण गत वर्ष अर्थात् १ जनाको मृत्यु भएको थियो । सन् २०१५ मा स्क्रवटाइफसको कारण देशभरमा ८ जनाको मृत्यु भएको थियो।

चिकित्सकका अनुसार नांगा खुट्टाले खेतबारीमा टेक्ने र झाडीमा सुत्ने, घरवरपर मुसा भएका मानिसहरु यसको जोखिममा पर्छन् । घरभित्र र वरपरको वातवरण सफा राख्ने, झाडी सफा राख्ने गरेर यसको जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवि छालामा टाँसिने भएकाले त्यसो गर्नु हुँदैन । साथै खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट प्रयोग तथा हातमा पन्जा प्रयोग गरेमा जोखिम कम गर्न सकिन्छ।

लक्षणहरु

– टाउको दुख्नु
– कडा ज्वरो आउनु

– आँखा रातो हुनु
– टोकेको ठाउँमा नीलो या रातो दाग देखिनु

– ग्रन्थी सुन्निनु
– रक्तश्राव हुने

प्रकाशित: १३ भाद्र २०७५ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App