१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गयाे ज्यान

लालबकैया नदीमा डुंगा दुघर्टना हुँदा बेपत्ता भएकाको खोजी गरिँदै । तस्बिर : मदन/नागरिक

रौतहट - लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्। पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण सक्ने भनी ठेक्का लिएको पुलको काम समयमा नसक्दा नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ।

‘समयमा बनाएको भए पुलबाटै आवतजावत गथ्र्यौं, दुर्घटना हुँदैनथ्यो’, गौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भुवनेश्वरप्रसाद चन्द्रवंशीले भने । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कात्तिक २९ गते सदरमुकाम रौटहट सदरमुकाम गौरलाई औरैयासँग जोड्न लालबकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । निर्धारित समयमा पुल निर्माण पूरा नहुँदा पटकपटक उक्त स्थानमा डुंगा डुबेर स्थानीयले ज्यान गुमाउनुपरेको छ।

वडाध्यक्ष चन्द्रवंशीले समयमा पुल नबनाउने ठेकेदारलाई राज्यले कारबाही गर्नुपर्ने बताए । २ सय २५ मिटर लम्बाइ भएको उक्त पुल २०७४ असार मसान्तभित्र निर्माण सक्ने भनेर पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेको थियो।

निर्धारित समयमा पुलको निर्माण कार्य पुरा नहुँदा बकैया आसपासका जनता जोखिमपूर्ण डुंगायात्रा गर्न बाध्य भएको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले बताइन्। पप्पु कन्स्ट्रक्सनका सञ्चालकसँग सरकारले किन निर्धारित समयमा पुल नबनाएको भनी सोध्नुपर्ने नेकपाका स्थानीय नेता शम्भु साहले बताए । उनले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्न पनि माग गरे।

बागमती र बकैयामा पटकपटक डुंगा दुर्घटना
२०६९ भदौ १० गते सर्लाहीको मानपुरबाट रौतहटको गम्हरिया पर्साको लक्ष्मीपुरतर्फ आउँदै गरेको डुंगा बागमती नदीमा डुब्दा स्थानीय रजिया खातुन, निसाद खातुन, अप्सरा खातुन र प्रतिमाकुमारी पटेलको ज्यान गएको थियो । उक्त दुर्घटनामा बेपत्ता भएका पाँचजनाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। बागमती नदीमै २०७१ भदौ ६ गते सर्लाहीको बैरियाबाट पिपरारजवडातर्फ आउने क्रममा डुंगामा सवार ६० जना नदीमा डुबेका थिए । तीमध्ये ५८ जनालाई स्थानीय तथा प्रहरीले उद्धार गरेका थिए भने सुखलीदेवी पण्डित र चिकनीदेवी दासको ज्यान गएको थियो।

लालबकैया नदीमा पनि पाँच वर्षअघि डुंगा डुब्दा तीनजनाको मृत्यु भएपछि उक्त स्थानमा पुलको निर्माण कार्य सुरु भएको थियो। तर काम समयमै नसकिँदा शनिबार पनि डुंगा दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाए भने अझै तीनजना बेपत्ता छन्। यसरी स्थानीय बासिन्दाले जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्दा पनि राज्यले बेवास्ता गरेको रौतहटबासीको गुनासो छ।

बेपत्ताको खोजीकार्य जारी
गौर नगरपालिका ४ टिकुलियास्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटनामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। डुबेर बेपत्ता भएका मध्ये दुई महिलाको शव आइतबार भारतीय क्षेत्रमा फेला परे पनि एक बालिकासहित अन्य ३ जना अझै बेपत्ता छन्।

शान्ति देवी र रुनाको शव आइतबार जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षणपश्चात् अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले बताएका छन्।

पुलको पिलरमा ठोक्किएर डुंगा भाँचिएर डुब्दा पिलर निर्माणमा प्रयोग गरिएको फलामको सेन्टरिङ समातेर करिब १२ जनाले ज्यान जोगाएको र एक बालकसहित अन्य नौजना पौडेर बाहिर निस्कन सफल भएका थिए । उष्माकुमारी, ओमप्रकाश चन्द्रवंशी र इन्दु देवीको अवस्था अज्ञात छ। नदीमा बेपता भएकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी रुद्र बाहिनी पथलैयाबाट २२ जनाको गोताखोर टोलीले हराइरहेकाको खोजीकार्य जारी राखेको छ।

शनिबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको तथा सीमापारी भारतीय क्षेत्रमा पनि एसएसबी र भारतीय प्रहरीको सहयोगमा खोज्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रजिअ रिजालले बताए। डुंगाचालक पप्पु चन्द्रवंशीलाई शनिबार राति नै प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेका छ।

प्रकाशित: ११ भाद्र २०७५ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App