१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण, प्रहरीको ध्यान घटना मोड्नमै केन्द्रित

शोकाकुल अवस्थामा घरमै रहेकी निर्मलाकी आमा, दिदी र बहिनी। इन्सेटमा निर्मला। तस्बिरः दिलबहादुर छत्याल

उल्टाखाम (कञ्चनपुर)- साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिइन्। उनले प्रहरीलाई गुहारिन्। गाउँलेले पनि प्रहरीलाई खोजी गरिदिन आग्रह गरे। दुर्गादेवीले प्रहरी चौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजी दिन अनुनय विनय गरिन्, तर प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन। ‘प्रहरीले त्यही साँझ छोरीको खोजी गरिदिएको भए सास नभेटिए पनि दोषी पत्ता लाग्न सक्थ्यो,’ उनले भनिन्, ‘प्रहरीले त्यही साँझ भनेको ठाउँमा खोजी नगरिदिँदा छोरीलाई बलात्कारपछि हत्या गरि हत्याराले उखुबारीमा लगेर फाल्ने मौका पाए।’ आफूले निर्मलाकी साथी रोशनीको घरमा त्यतिबेला खानतलासी गरिदिन प्रहरीलाई आग्रह गरेको बताइन्। 

प्रहरीको पहिलो दिनकै व्यवहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गतेदेखि दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शन सुरु गरे। प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बुझेका आफन्तले निर्मलाको शव बुझ्न मानेनन्।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरे। निर्मला हराएको रोशनीको घरबाट अनुसन्धान सुरु गर्न उनका बुबालगायत आफन्तले गरेको आग्रह प्रहरीले मानेन। ‘मैले पटक–पटक छोरी निर्मला हराएको रोशनीको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर एसपी र प्रहरीको टोलीलाई भन्दा कुनै सुनवाई भएन,’ निर्मलाका बुबा यज्ञराज पन्तले भने। छोरी हराएको घरका रोशनी बम र बविता बम माथि शंका छ भन्दा पनि प्रहरी अनुसन्धान नगरेकाले प्रहरीले वास्तविक दोषी लुकाउन खोजेको उनको भनाइ छ। बबिता रोशनीकी दिदी हुन्। रोशनीले अघिल्लो दिन निर्मलाकै घरमा आएर उनलाई भोलि विज्ञान विषयको नोट गर्न आफ्नो घरमा आउनु भनेर बोलाएकी थिइन्।

प्रहरीले आफूहरुको आँखामा छारो हालेर झुठा कुरा गर्नुले प्रहरीमाथि नै थप शंका उब्जिएको स्थानीय बताउँछन्। वास्तविक दोषी बचाउन प्रहरीले नभएका झुठा प्रमाण जोड्दै निर्दोषलाई फसाउन खोजेको बताउँदै वास्तविक दोषी बचाउन खोज्ने एसपी डिल्लीराज बिष्टसहित प्रहरीको टोलीमाथि छानबिन हुनुपर्ने समेत माग उठेको छ।

प्रहरीले अनुसन्धान गरिरहेका छौं भने पनि रोशनी र बबितामाथि सामान्य केरकार पनि नगरेकाले स्थानीय प्रहरीको भूमिका माथि विश्वस्त भएनन्। दोस्रो दिन बिहान साइकल भेटिएकै ठाउँमा शव फेला पर्न सक्छ भनेर बबिताले भनेको स्थानीय रुपा कार्कीले सिआईबीको टोलीलाई समेत बयान दिएको यज्ञराज बताउँछन्।  घरमा छोरी खोज्न जाँदा पत्नीलाई खरो व्यवहार गरेर घरभित्र प्रवेश गर्न नदिएको, उसले शव पाइन्छ भनेकै ठाउँतिर शव फेला परेको जस्ता व्यवहारले दिदी बहिनीको व्यवहार शंकास्पद देखिएको उनी बताउँछन्। दिदी बहिनीले मारेको भनेको होइन, उनीहरुलाई घटनाको बारेमा थाहा हुनसक्ने भएकाले अनुसन्धान गर्नुपर्छ भनेर आफूले प्रहरीलाई भन्दा पनि प्रहरी नसुनेको उनले बताए। सुरुका दिन सामूहिक बलात्कार भएको हुनसक्ने र बाहिर हत्या गरेर उखुबारीमा फालेको हुनसक्ने प्रहरी अधिकारीले भनेको उनी बताउँछन्।

साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट जारी रह्यो। प्रहरीको अनुसन्धानबाट असन्तुष्ट स्थानीय भदौ ३ गते मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलीपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर सार्वजनिक गरेपछि अक्रोशित भए। गाउँमा खानेकुरा माग्दै हिँड्ने, महिला देख्दा पनि छेउबाट हिँड्ने, महिलालाई छुन डराउने र घटनास्थलको अवस्था हेर्दा दिलीप दोषी भएको कोही पनि पत्याउन तयार छैनन्। प्रहरीले निर्मलाका बुबालाई दिलीपका विरुद्ध किटानी उजुरी दिन भने पनि उनले मानेनन्।

प्रहरीले दिलीपसिंहको घरबाट ल्याएको कमिजको गोजीको टुक्रा छैन भन्दै निर्मलाका बुबालाई समेत शव फेला परेको उखुबारीमा लगे। उखुबारीमा कमिजको टुक्रा फेला पर्यो भन्दै प्रहरीले टिपे। ‘त्यो कपडाको टुक्रा भिजेको पनि थिएन, माटो लागेको पनि थिएन, न त्यो टुक्रा उठाएको ठाउँमुनि छाप परेको थियो,’ निर्मलाका बुबा यज्ञराजले भने,‘मैले छेउमा रहेका खैनीको खोल लगायतका ३/४ वटा प्लाष्टिकका टुक्रा उठाउँदा भुइँमा छाप देखियो, तर कमिजको टुक्रा रहेको जमिनमा छाप नदेखिँदा केही समय पहिले फालेको हो भनेपछि प्रहरीले उल्टै मलाई धम्कायो।’ प्रत्येक दिन प्रहरीको टोली घटनास्थल गएर अनुसन्धान गर्दा २५ दिनसम्म नभेटिएको त्यो कपडाको टुक्रा २६ दिनमा कसरी भेटियो भन्ने आशंका आफूमा उब्जिएको बताउँदै उनी भन्छन्,‘त्यसपछि भदाै ४ गते नै प्रहरीले पुन: दिलीपसिंहविरुद्ध किटानी उजुरी दिन दबाब दियो।’ दिलीपलाई भेटाएर मेरा अघि मैले हत्या गरेको हुँ भन्न लगाउनुस्, त्यसपछि किटानी उजुरी दिन्छु भन्दा प्रहरीले दिलीपलाई भेटाउन नमानेको उनले बताए। ‘दिलीपले तपाईहरुसँग आफूले नै हत्या गरेको हुँ भन्ने भिडियो भएपनि सुनाउनुहोस् भन्दा पनि प्रहरीले नमानेपछि मैले किटानी उजुरी दिइन,’ उनले भने।

दिलीप बिष्टले प्रहरीले हत्या मैले गरेको हुँ भनेर झुठो बोल्न लगाएको, भेट्न गएका दाजु र बुबालाई बताएका छन्। वडा अध्यक्षको रोहबरमा घरबाट दिलीपको कमिज लगेको प्रहरीले ‘नक्कली’ प्रमाण बनायो। घटना भएको २६ दिनपछि भेटिएको दिलीपको कमिजको टुक्रा घटनास्थलमै भेटिएको भन्दै निर्मलाका बुबालाई पत्याउने आधार देखाउन खोजेको स्थानीय बताउँछन्। ‘यो कुरालाई प्रहरीले बिष्टलाई फसाउन कति नाटक गर्यो भन्ने प्रष्ट पारेको छ,’ छिमेकी मञ्जु भट्टले भनिन्, ‘घटना घटेको २५ दिनसम्म त्यो कपडाको टुक्रा नपाइने र अहिले त्यही ठाउँमा पाइने हुन्छ?’ निर्मलाका बुबालाई सँगै लगेर गोजीको टुक्रा खोज्न जानुको कारण पनि रहस्यमय भएको उनको तर्क छ। 

प्रहरीले आफूहरुको आँखामा छारो हालेर झुठा कुरा गर्नुले प्रहरीमाथि नै थप शंका उब्जिएको उनी बताउँछन्। वास्तविक दोषी बचाउन प्रहरीले नभएका झुठा प्रमाण जोड्दै निर्दोषलाई फसाउन खोजेको बताउँदै वास्तविक दोषी बचाउन खोज्ने एसपी डिल्लीराज बिष्टसहित प्रहरीको टोलीमाथि छानबिन हुनुपर्ने उनको माग छ। रोशनीको घरबाट अनुसन्धान गर्न सिआईबीको टोलीसँग माग राख्दा पनि नसुनेको बुबा यज्ञराज बताउँछन्। दोषी पत्ता लगाउने मागसहित दिनहुँ प्रदर्शन गरिरहँदा पनि प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ। ‘प्रहरीले निर्मला हराएको घरबाटै अनुसन्धान सुरु गर्न चासो नदिनुको कारण बुझ्न सकिएन,’ मञ्जुले भनिन्, ‘प्रहरीले सुरुदेखि नै लापरवाही गरेर दोषी पत्ता लगाउन ध्यान दिएन।’

साँझ ८ बजेतिर आँफैले जिप्रका फोन गरेर निर्मला हराएकाले खोजी गरिदिन आग्रह गर्दा बिहान ११ बजे हराएकीलाई अहिले खबर गर्ने हो भनेर उल्टै गाली गरेको बताउँदै भट्टले भनिन्,‘प्रहरीलाई खबर गर्दा उल्टै थर्कायो, तर खोजी गर्न प्रहरी आइदिएन।’ सुरुदेखि नै प्रहरीले दोषीलाई बचाउन घटनालाई मोड्ने प्रयास गरेको स्थानीय बताउँछन्। स्थानीयको प्रदर्शन र व्यापक दबाब हुँदा पनि प्रहरीले अनुसन्धानमा चरम लापरवाही गरेको बताउँदै स्थानीय व्यापारी हरिकृष्ण शाहले भने,‘प्रहरीले दोषी पत्ता लगाउन चाहेको छैन, कुनै व्यक्तिलाई दोषी देखाएर घटनालाई मोड्नमा प्रहरीको ध्यान गइरहेको छ।’

संसदमा गृहमन्त्रीको झूठो विवरण  

केही दिन अघि दुई जनालाई प्रहरीले पक्राउ गरेर उनीहरुलाई दोषी भएको देखाउन दोषी पत्ता लगाएको गलत रिपोर्टिङ गरेर गृहमन्त्री रामबहादुर थापालाई संसदमा गलत नाम भन्न बाध्य पारे। स्थानीयको चर्को विरोधपछि गृहमन्त्रीले संसदमा भाषण गरेको केही बेरमै डिएसपी ज्ञानबहादुर सेठीले निर्मला पन्तका हत्यारा दुई जना नभएको स्पष्टीकरण मात्रै दिएनन्, दुई जनालाई निर्दोष भन्दै रिहा गरे। दोषीलाई बचाउन घटना मोड्ने कञ्चनपुरका प्रहरीका कारण गृहमन्त्री समेत संसदमा झुठो बोलेर फसेको स्थानीय लोकेन्द्र बिष्ट बताउँछन्। अपराधी पत्ता लगाउनुपर्ने मागसहित स्थानीयले रिले अनशनसहित आन्दोलन चर्काएपछि आइतबार मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरेर दोषी भएको भन्दै सार्वजनिक गर्‍यो। घटना मोड्न मानसिक सन्तुलन गुमाएको, मागेर खाने बिष्ट सहज पात्र हुने बुझाइमा रहेको प्रहरीको कदम स्थानीयको प्रदर्शनका कारण सफल हुन सकेको छैन। प्रहरी उनलाई नै दोषी देखाउन प्रयत्नशील छ। ‘घटनास्थलमा कमिजको टुक्रा फेला पारेका छौँ,’ प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले भने,‘बिष्ट नै दोषी हो।’ 

प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दा पनि दोषी बचाउन लागेकोमा स्थानीय एकमत छन्। कुनै निर्दोष मान्छेलाई दोषी देखाएर वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै आक्रोशित स्थानीयले मंगलबारदेखि अनिश्चितकालीन आमहड्तालसहित आन्दोलन चर्काएका छन्। प्रदर्शनकारी र प्रहरीबीचको मुठभेडले महेन्द्रनगरले उग्ररुप लिएको छ। आन्दोलन चर्कदै जाँदा बिहीबार महेन्द्रनगरमा प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएका छन् भने स्थितिलाई नियन्त्रण गर्न बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि बजार आसपास कर्फ्यू जारी गरिएको छ। 

शव भेटिएको स्थान नै शंकास्पद

शव फेला परेको उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभएको स्थानीय बताउँछन्। निर्मलाको घरबाट रोशनी घरको दूरी १३ सय मिटर छ। कालोपत्रे यो सडकमा ओहोरदोहोर भइरहने र वरिपरि बस्ती छ।  सडकबाट करिब ७ फिट गहिरो नाला छ। १० फिट चौडाइ र करिब दुई फिट गहिराइ पानी रहेको यो नाला पार गरेर सडक जत्तिकै उचाइमा रहेको उखुबारी छ। सडकबाट एक जना व्यक्तिले घिसारेर वा उचालेर  नाला पार गरी उखुबारीमा जान सहज नभएको स्थानीय बताउँछन्। नालामा साइकल भेटिएपछि उखुबारीमा प्रहरी र स्थानीयले साउन ११ गते बिहान खोजी गर्दा निर्मलाको शव फेला परेको थियो। उखुबारीमा कोही नजाँदै नालाबाट उखुबारी उक्लने ठाउँमा फरक–फरक तीन जना मानिसको खुट्टाको छाप देखिएको घटनाकै दिनदेखि निर्मलाको खोजिमा सक्रिय रहेका पीडितका छिमेकी भूतपूर्व सैनिक मोतिबहादुर नेपालले बताए। यो खुट्टाको छापले पनि तीन जना उखुवारीमा गएको देखिन्छ। ‘पानीमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो,’ उनले भने,‘अनुसन्धानका लागि केही आधार दिन खोज्दा तपाईले प्रहरीलाई अनुसन्धान गर्न सिकाउन हुँदैन भनेर प्रहरीले खरो जवाफ दियो।’  उखुबारीमा लछारपछार भएको जस्तो केही नदेखिनु, कपाल र पिठ्युतिरको लुगामा हिलो लागेको नभेटिनु, लासमा कुनै कीरा, झिंगा लागेको नहुनु र उखुबारीमा पानी जमेको तथा हिलाम्मे हुनु जस्ता कारणले शव भेटिएको ठाउँमा बलात्कारपछि हत्या भएको हुनै नसक्ने उनको तर्क छ। बिहान ४ बजेदेखि राति ११ बजेसम्म यो सडकमा ओहोरदोहोर भइरहने भएकाले साउन १० गते कुनै सुरक्षित घरमा बलात्कार गरेर हत्यापछि राति १२ देखि ३ बजेको बीचमा  उखुबारीमा शव ल्याएर फालेको हुनसक्ने उनी बताउँछन्। साँझ दुई पटक जाँदा पनि रोशनी बमको घरभित्र आफूलाई छिर्न नदिएको र प्रहरीलाई पनि घरभित्रै छोरी खोजिदिन आग्रह गर्दा पनि मतलब नगरिएकाले प्रहरीमाथि नै शंका उब्जिएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्।  शक्तिशाली मान्छेले कुनै घरभित्र बलत्कार गरेर हत्यापछि उखुबारीमा फालेको उनी बताउँछिन्।

घटना योजनावद्ध ढंगले प्रमाण नदेखिनेगरी बनाएको बताउँदै स्थानीय नेपालले भने,‘खोला पारि शव फ्याँक्दा तालिमप्राप्त कुकुरले पनि पछ्याउन सक्दैन।’ निर्मला हराएको रातभर पानी परेको थियो। तर, बिहान सडकको छेउमा उनको कापी किताब नभिजेको भेटिनुले थप शंका उब्जिएको बताउँदै उनी भन्छन्,‘सडक छेउमा बिहानै किताब ल्याएर राखिएको देखिन्छ।’ सडकबाट बलात्कारका लागि उखुबारीमा लैजाँदा सडक छेउमै साइकल र कापी किताब जतनसाथ राखेको भेटिन नहुने स्थानीयको तर्क छ। ‘यदि सोही ठाउँबाट बलात्कारका लागि उखुबारीमा लगेको भए कापी किताब छरपस्ट हुनुपर्ने थियो,’ नेपालले भने,‘यो शंकाकै विषय बनेको छ।’ जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको भूमिका शंकास्पद भएको भन्दै उनीमाथि छानबिन हुनुपर्ने स्थानीयको माग छ। 

 

 

 

प्रकाशित: ७ भाद्र २०७५ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App