coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अव्यवस्थित सडक मर्मतले बेहाल काठमाडौं

आसन्न बिमस्टेक सम्मेलनका लागि सडक मर्मतका कारण मंगलबार राजधानीको सुन्धारा क्षेत्रमा भएको जाम । तस्बिरः प्रतिक रायमाझी/नागरिक

काठमाडौं – मंगलबार अपराह्न कालिमाटीबाट टंगालसम्म जान निस्केकी शिवानी न्यौपाने दुई घण्टामा पनि टंगाल पुग्न नसकेपछि कालिकास्थानबाटै घर फर्किइन् । एक हप्तादेखि नियमित रुपमा ‘मेडिटेशन’ कक्षामा सहभागी हाुदै आएकी उनको कक्षा मंगलबार ट्राफिक जामका कारण छुट्यो । सो कक्षा छुट्दा अबको एक महिनापछि मात्रै उनी त्यसमा सहभागी हुन पाउनेछिन्।

‘कालिमाटीबाट म निस्कँदा समान्य जस्तो लागेको थियो । त्रिपुरेश्वर पुग्न करिब एक घण्टा लाग्यो । त्यहाँबाट जाम देखेर थापाथली हुँदै कालिकास्थान पुग्दा अर्को एक घण्टा गयो । म कक्षामा सहभागी हुन सकिनँ । त्यसकारण एक महिना पछि सार्नु पर्याै,’ उनले गुनासो गरिन् । ‘सरकारले सूचना दिएर सडक मर्मत थालेको भए म र म जस्तै अन्यले यस्तो समस्या भोग्नुपर्ने थिएन,’ उनले भनिन्, ‘मैलेभन्दा पनि सडकमा गुडेका एम्बुलेन्स र उपचारका लागि जान लागेका बिरामीलाई कति कष्ट भयो होला ?’

सर्वसाधारणलाई जानकारी नै नदिई दिउँसो सडक मर्मत मंगलबार दिनभर राजधानीका सडक अस्तव्यस्त भए । आसन्न बिम्स्टेक सम्मेलनको तयारीका लागि सडक विभागले दिउँसो सडक मर्मत गर्न लाग्दा दिनभर सडक अस्तव्यस्त भएको थियो । मंगलबार दिउँसो काठमाडौंको जमल लैनचौरदेखि भारतीय राजदूतावासम्मको सडक अस्तव्यस्त मात्र भएन दुई किलोमिटर पार गर्न करिब २ घण्टा लागेको थियो।

त्यस्तै गौशाला चावहिल जोरपाटी सडकखण्डमा पनि सरकारले दिउँसो नै काम सुरु गरेपछि त्यस क्षेत्रमा सवारी साधानको अत्याधिक चाप बढेको थियो । सर्वसाधारण गन्तव्यमा पुग्न घण्टौं ट्राफिक जामको सामान गर्नुपरेको थियो । दरबारमार्ग भगवती बहाल नक्साल क्षेत्रमा पनि दिनभर सडक मर्मत गरिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनभर सडक मर्मत हुँदा ट्राफिक जाम भएको जनाएको छ । सरकार मातहतका निकायहरूले सम्मेलनको निहुँ पारेर दिनभर सडक मर्मत थालेका हुन् । एक हप्ता अघि नै ट्राफिक प्रहरीले सडक मर्मत गर्दा राती र बिहानको समय उपयोग गर्न सुझाएको थियो तर सडक विभागले मंगलबार दिँउसो एक्कासी मर्मतको बोर्ड राखेर सुरु गरेको हो।

दिनभर ट्राफिक जाम हुनुको मुख्य कारण नै सडकमर्मत भएपछि सर्वसाधारणले पाउनुसम्म सास्ती पाए । महानगरबाहिर तीव्र रूपमा सडक विस्तारको काम भए पनि महानगरमा भने सडक विभागले ट्राफिक प्रहरीलाई समेत नसोधी मर्मत थालेको हो । काठमाडौं उपत्यकाभित्रका निजी सवारी साधानको अत्याधिक चाप हुने गरेको छ । त्यस्तै निजी स्कुलले समेत गरी दैनिक १२ सय भन्दा बढी भाडाका बस स्कुलका विद्यार्थी ओसार्न प्रयोग हुन्छन् । कार्यालय समय सकिएपछिको समयमा ट्राफिक जाम अत्यधिक हुन्छ तर मंगलबार भने दिनभर नै मुख्य सडकमा मर्मतको बोर्ड टाँगेर सडक विभागले काम थालेको थियो।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तका अनुसार सडक मर्मतमा सडक विभागले ट्राफिक महाशाखमा कुनै समन्वय गरेको छैन । ‘दिउँसो सडक मर्मत गर्नु हुँदैन भनेर हामीले धेरै पटक सडक विभागलाई भनेका छौं तर हाम्रो कुरा सुनुवाई नगरी लाखौं सर्वसाधारणलाई दुःख दिने काम भयो,’ पन्तले भने, ‘सडक विभागले सरोकारवाला निकायलाई जानकारी नदिई काम गर्दा अप्ठ्यारो परेको छ ।’ भदौको १४ र १५ गते काठमाडौंमा हुने विम्स्टेक सम्मेलन लक्षित गरेर सरकारले सडक विभागलाई सडक मर्मत गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार काठमाडौं महानगरपालिकाभित्र मुख्य सडक मर्मत थालिएको छ।

काठमाडौंको गौशला, मित्रपार्क, नारायणगोपाल चोक, चावहिल चोक, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी, सातदोबाटो, कलंकी र माइतीघरलगायतका स्थानमा पाहुना रुट पर्ने भएपछि सरकारले ती स्थानका सडकलाई तत्काल मर्मत गर्न विभागलाई निर्देशन दिएको थियो । काठमाडौंमा साना ठूला गरी ११ लाख ३२ हजार भन्दा बढी सवारी साधान सञ्चालनमा छन् । कार्यालय समयमा र बेलुकी घर फर्किदा काठमाडौंका सबै सडक व्यस्त हुने गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७५ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App