१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले साधी खोलाको पुल बग्यो, बाह्रविसेबासी त्रसित

सिन्धुपाल्चोक – निरन्तरको बाढी र पहिरोले अरनिको राजमार्गस्थित बाह्रविसे–खुर्सानीबारी जोड्ने पक्की साधी खोलाको पुल बगाएको छ। अबिरल वर्षासँगै शुक्रबार राति कोसिनडाँडाबाट पहिरो जाँदा निम्तिएको बाढीले क्षतिग्रस्त बनाएको पुल शनिबार राति फेरी आएको बाढीले बगाएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापाले बताए।

‘४० फिट लम्बाइ र ६ फिट चौडाइको पुल बगाएपछि सो क्षेत्र बाढीले ल्याएको ठुल्ठूला ढुंगा र लेदोमाटोले ढाकिएको छ,’ उनले नागरिकन्यूजसँग भने, ‘राजमार्गमै बगेको बाढी स्थानीयको घर–घरमा छिरेपछि उनीहरू त्रसित छन्।’

शनिबार राति १० बजेतिर आएको दोस्रो पटकको बाढीले पुल बगाउँदै राजमार्ग क्षेत्रका बस्ती छिरेपछि स्थानीयमा भागदौड मच्चिएको थियो। सडक क्षेत्रको एउटा घरको एक तला बाढीले पुरिएको र अरु २२ घरमा लेदो माटो र ढुंगा छिरेको इन्स्पेक्टर थापाले बताए। उनका अनुसार त्रासले स्थानीय रातभर सुत्न सकेका छैनन्।

‘ढुंगामाटो सहितको ग्रेगन सडक तहसम्मै भरिएको र त्यहीँबाट देलो बगिरहेकोले अझै ढुक्क हुने अवस्था छैन्,’ उनी भन्छन्, ‘फेरी बाढी आउँदा खतरा हुन्छ।’ ठूला ढुंगासहित बेगले आएको शुक्रबारको बाढीले ठक्कर दिँदा पुलको स्ल्याप दुई मिटर तल धस्सिएको थियो।

थुप्रिएको ढुंगा ब्रेकरले फुटाल्दै पन्छाएर सम्भावित दुर्घटना टार्ने प्रयास भइरहेका बेला निम्तिएको अर्को बाढीले पुल संरचना पूरै ध्वस्त बनाउँदै थप बितन्डा मच्चाएको हो। ‘थुप्रिएको ढुंगाले साधी खोला थुन्दा पुल बगाउँदै बाढी राजमार्ग र बस्तीतिर छिर्यो,’ प्रत्यक्षदर्शी रहेका इन्स्पेक्टर थापाले बताए। 

झण्डै ६ मिटर अग्लो पुलको फाउन्डेसन (जग) ढुंगा र लेदोमाटोले पुरेको छ। पुल क्षेत्रको राजमार्गमा झण्डै एक मिटर गेग्रान थुप्रिएको छ। स्थानीय त्यही थुप्रिएको गेग्रानमाथि हिँडेर ओहोर–दोहोर गरिरहेका छन्। पुल बगेपछि सीमा नाका तातोपानी–बाह्रविसे खण्डमा सिधा सडक सम्पर्क टुटेको छ। बाह्रविसे झर्ने र फर्कने सीमा क्षेत्रवासीलाई असुविधा पुगेको छ। तर सडक सम्पर्क टुटेको वारी–पारी दुई खण्डबाट यातायात साधन भने सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। 

अहिले एक्स्काभेटर लगाएर सडकमा थुप्रिएका गेग्रान पन्छाउने प्रयास भइरहेको इन्सपेक्टर थापाले जनाए। २०२३ मा चीन सरकारले १ सय १४ किमी लामो अरनिको राजमार्ग खोल्दा साधी खोलाको पुल बनेको थियो। 

प्रकाशित: ३ भाद्र २०७५ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App