coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेरिँदै सिन्धुका गाउँबस्ती

जुगल हिमालको काख ब्रह्मायाणी नदी किनारको जलवीर फाँटमा भूकम्पपछि बनेका रंगिन घर। फाइल तस्बिर : ध्रुव/नागरिक तस्बिर

सिन्धुपाल्चोक - साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँबस्ती। टोलैपिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घरघरमा शौचालय अनि व्यवस्थित बिजुलीबत्ती।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पु¥याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिइरहेका गाउँ क्रमशः खानेपानी, शौचालय, बिजुलीलगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिँदै गएका छन्। ‘भूकम्पपछिको तीन वर्षमा पुनर्निर्माणमार्फत सिन्धुपाल्चोकको मुहारै फेरिएको छ,’ भूकम्पपीडितका आवास निर्माणको नेतृत्व गरिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख टंक गौतमले भने। उनका अनुसार सिंगो जिल्ला पुनर्निर्माणको मौजारो छ । अर्थात् पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ सिन्धुपाल्चोक।

भूकम्पपीडितका आवास निर्माणको नेतृत्व गरिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का अनुसार तेस्रो किस्ता वितरणको आधारमा साढे ४४ हजार पीडित भूकम्पपछिको पुनर्निर्माण सकेर नयाँ घर सरिसकेका छन्।

यतिबेला जिल्लामा एकसाथ साढे ७५ हजारभन्दा बढी घर परिवार पुनर्निर्माणमा प्रत्यक्ष जुटिरहेको जिल्ला आयोजना प्रमुख गौतम बताउँछन्। तेस्रो किस्ता वितरणको आधारमा साढे ४४ हजार पीडित भूकम्पपछिको पुनर्निर्माण सकेर नयाँ घर सरिसकेको एकाइको तथ्यांक छ। तर, आयोजना प्रमुख गौतम जिल्लामा ५० हजारभन्दा बढी घर ठडिइसकेको तर्क पेस गर्छन्।

एकाइका अनुसार ७५ हजार ७ सय २५ पीडितले घर बनाउन दोस्रो किस्ता लगिसकेका छन्। भुइँ तहको संरचना बनेपछि पीडितले दोस्रो किस्ता माग गर्छन्। विभिन्न प्रक्रिया पूरा भई किस्ता निकासा हुन दुई महिनासम्म समय लाग्ने गौतम बताउँछन्। ‘त्यतिञ्जेल निर्माणाधीन संरचना अन्तिम चरणमा पुगिसक्छन्,’ पुनर्निर्माण सम्पन्न घर संख्या अझै बढ्ने आधार प्रस्तुत गर्दै उनले भने । पुनर्निर्माणमा खटिने प्राविधिक अभाव हुँदा र असार मसान्तसम्म समयसीमाका कारण प्राविधिक दोस्रो किस्ता निकासापूर्वको परीक्षणमै व्यस्त हुनुपर्दा निर्माण सम्पन्न घरको यकिन तथ्यांक आउन नसकेको उनी प्रस्ट्याउँछन्।

पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म पुनर्निर्माणको चटारो छ । खेतीपातीको सिजन, बर्खाले अवरुद्ध बनाएका ग्रामीण सडक, ढुवानी समस्या, सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामग्री अभाव, लगातारको मूल्यवृद्धि र कालोबजारीका बाबजुद पुनर्निर्माणले तीव्रता लिइरहेको छ। साबिक ७९ गाविसमध्ये अधिकांशले पुनर्निर्माणलाई मौजारोमा पु¥याएका छन्। पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति खटिइरहेको एकाइको अनुमान छ।

एकाइका अनुसार जिल्लामा पहिलो चरणको सर्भे, गुनासो, छुट तथा पुनः सर्भेबाट पीडित लाभग्राही संख्या बढ्दै ८६ हजार ९ सय ७१ पुगेको छ । छुट र पुनः सर्भेबाट गत महिनामात्र ३ हजार लाभग्राही थपिएका हुन्। गुनासोमार्फत सम्बोधन भएका र थपिएका लाभग्राहीसमेत अब करिब ९ हजार पीडित परिवारले पुनर्निर्माण थाल्न बाँकी रहेको तथ्यांकले देखाएको छ।

विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु-याउने क्रममा ३ हजार ५ सय ७० को ज्यान लिँदै ९५ प्रतिशत घरसंरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। सबै गाउँबस्ती खण्डहरमा बदलिँदा जिल्ला झन्डैझन्डै संरचनाविहीनको अवस्थामा पुगेको थियो। भग्नावशेषै–भग्नावशेषका गाउँबस्ती हेर्दा सजिलै सिन्धुपाल्चोक ब्यँुतन सम्भव छैन लाग्थ्यो । तर, पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको तीन वर्ष र पुनर्निर्माण अभियान थालनीको दुई वर्षको छोटो समयमै सिन्धुपाल्चोक ठडिएको छ । पुनर्निर्माणलाई पीडितले साझा संकल्प बनाउँदा जिल्लाका गाउँबस्ती भूकम्पअघिककै पूर्ववत् अवस्थामा मात्र पुगेका छैनन्, झन् राम्रा, चिटिक्क र सुन्दर भएका छन्। जिल्लाको जुनसुकै भूभागबाट नियाल्ने हो भने चारैतिर रंगिन बनेर ठडिइरहेको गाउँबस्ती देख्न सकिन्छ।

भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए । त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले आशातीत गति लिन सकेको थिएन। गएको वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माण अभियानकै रूप अघि बढिरहेको छ।

अघिल्लो वर्ष असारयताको एक वर्षमा मात्र पीडितले एकसाथ ६५ हजार घरको पुनर्निर्माण थालेको एकाइको तथ्यांकले देखाएको छ। स्थानीय तहले जनप्रतिनिधि पाइरहँदा गत वर्षको जेठ अन्तिमसम्म जिल्लामा १ सय ६३ घर निर्माण सम्पन्न हुँदा करिब १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए।

एकाइ प्रमुख गौतम स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको बताउँछन्। पीडितका अनुदान किस्ता वितरणसम्बन्धी र अन्य गुनासाका चाङ बोकेर जनप्रतिनिधि आफैँ सदरमुकाम आइपुग्छन्,’ उनी भन्छन्, ‘जिल्लादेखि केन्द्रसम्म धाएर समस्याको गाँठो फुकाउँछन्।’ चुनावी अभियानमा पुनर्निर्माणलाई नै मुख्य अजेन्डा बनाएका उनीहरूले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन्। यसबीचमा बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाका दुईटा वडा पुनर्निर्माण सम्पन्न गाउँ घोषित भइसकेका छन्।

पुनर्निर्माणका कारण सडक, खानेपानी, शौचालय, सरसफाइ, विद्युत्का क्षेत्रमा समेत ठूला काम भएका छन्। घर बनाउन पानीको जोहो गर्दा प्रत्येक जनस्तरबाट बस्तीमा खानेपानी सुविधा पुगेको छ। सरकार र संघसंस्थाको सहयोगमा पम्पिङ र लिफ्टिङसहित सानाठूला दर्जनौं खानेपानी आयोजना पुगेका छन्। त्यस्ता ठाउँका बस्तीका हरेक घरमा व्यक्तिगत धारा जडान गरिएको छ । ‘त्यस्ता सार्वजनिक र व्यक्तिगत धारा अपांग र बालबालिकामैत्री समेत छन्,’ भूकम्पपछि एक दर्जनभन्दा बढी खानपानी आयोजनामा काम गरेको जनहित ग्रामीण सेवाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने।

जिल्लाका साबिक सबै गाविस भूकम्पअघि नै सडक सञ्जालले घेरिइसकेका थिए। तर, टोलबस्ती र गाउँमा सडक पुगेको थिएन । निर्माण सामग्र्री ओसार्न ट्रयाक खोलिँदा प्रत्येक टोलबस्तीमा सडक पहुँच विस्तार भएको छ । इकाइले अन्तिम किस्ता प्राप्त गर्नका लागि अनिवार्य गरेपछि प्रत्येक घरमा शौचालय बनेको छ । पीडितले नयाँ संरचनामा बलियो वायरिङ गरेर विद्युत् लाइन व्यस्थितमात्र गरेका छैनन्, चट्याङले निम्त्याउने सम्भावित दुर्घटना रोक्न लाइटिङ रडसमेत प्रयोग गरेर घरबस्तीलाई नै चट्याङमैत्री समेत बनाएका छन्।

एकाइ प्रमुख गौतमका अनुसार अधिकांश पीडित लोड बियरिङ संरचनामा आकर्षित देखिएका छन् । गारोले भार बोक्ने भूकम्पप्रतिरोधी यो संरचना निकै बलियो मानिन्छ। ढुंगामाटो र काठ तथा इँटा, सिमेन्ट र छड प्रयोग गरी बनाइने यस्ता घर आधुनिक र आकर्षकसमेत देखिन्छन् । धेरै इँटा, सिमेन्टका घर बनेका छन् । कतिपय पीडितले ढुंगामाटो र काठ प्रयोग गरी घर बनाए पनि ती भूकम्पप्रतिरोधी छन्। आरसिसी संरचनाको आधुनिक घरसमेत ठूलो संख्यामा बनेको देख्न सकिन्छ।

जिल्लामा सहरी पूर्वाधारसहित एक दर्जन एकीकृत नमुना बस्ती विकास भइरहेको छ। प्राधिकरणले तेस्रो किस्ता लिन तोकेको समयसीमा पुससम्ममा जिल्लाको पुनर्निर्माणले ठूलो फड्को मार्ने भूकम्पपछिदेखि नै एकाइको नेतृत्व गरेका प्रमुख गौतम बताउँछन् । ‘एक वर्षभित्र सिन्धुपाल्चोकको पुनर्निर्माण सक्ने लक्ष्य लिएर काम गरिरहेका छौँ,’ उनले भने।

प्रकाशित: २७ श्रावण २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App