रुपन्देही- प्रदेश ५ मा सवारी दुर्घटनामा परि मृत्यू हुनेको संख्या क्रमश घट्दै गएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सवारी दुर्घटनाको संख्या बृद्धि भएपनि मृत्यू हुनेको संख्या भने घट्दै गएको छ। आर्थिक बर्ष २०७४/७५ सम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा दुर्घटनामा परि मृत्यू हनेको संख्या अघिल्लो बर्ष भन्दा कम छ।
आर्थिक बर्ष ०७३/७४ मा साविकको पश्चिमाञ्चलमा ६ सय ६० जनाको दुर्घटनामा परि मृत्यू भएको थियो। तर, आर्थिक बर्ष ०७४/७५ मा भने ५ सय ९९ जनाको मात्रै दुर्घटनामा परि मृत्यू भएको छ। यो बर्ष ७ सय १२ जना गम्भिर घाईते र ६ सय ३२ जना सामान्य घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरीले जनाएको छ।
सवारी साधनको संख्या अप्रत्याशित रुपमा बृद्धि भएकाले दुर्घटना हुनेक्रम बृद्धि भएपनि क्षति भने कम हुन थालेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए। ‘अझै पनि अवस्था भयावह नै छ तर तुलनात्मक रुपमा ट्राफिक सचेतना बढ्दै गएको छ’ उनले भने। ट्राफिक नियमको उल्लघन गर्ने सवारी भने बृद्धि भएका छन्। गत वर्ष २ लाख २३ हजार ६ सय ९२ सवारीलाई कारवाही गरेको छ। ट्राफिकले एक बर्षमा १३ करोड ५२ लाख ५६ हजार राजस्व संकलन गरेको छ।
ट्राफिकको क्षेत्राधिकार वाँडफाँट
मूलूक संघीय संरचनामा गएपछि ट्राफिक प्रहरीले पनि संघीय संरचनामा आफूलाई लगेको छ। पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लालाई हेर्दे आएको पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलको कार्य क्षेत्र अब परिवर्तन भएर प्रदेश ५ मा समेटिएको छ। आर्थिक बर्ष ७५/७६ देखि लागू हुने गरि प्रदेश ५ का १२ वटा जिल्ला हेर्ने गरि पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालयको नाम परिवर्तन गरि प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय रहनेछ। अघिल्लो आर्थिक बर्षसम्म साविकका गण्डकी, धौलागिरी र लुम्बिनीका १६ वटा जिल्ला हेर्दै आएको थियो।
प्रदेश ५ मा सबभन्दा बढी मोटरसाईकल
प्रदेश ५ मा सबैभन्दा बढि मोटरसाईकल छन्। तथ्यांक अनुसार १ लाख ७८ हजार ७ सय ५ मोटरसाईकल, ट्रक/बस ३१ हजार ४ सय ३३, जीप/कार १७ हजार ५ सय र ट्याक्टर २६ हजार ४ सय ६ रहेका छन्।
प्रकाशित: २२ श्रावण २०७५ १२:०९ मंगलबार