७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुपाल्चोकमा रोकियो भूकम्पपीडितको अनुदान

सिन्धुपाल्चोक - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्पपीडितको अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

यसअघि जिल्ला समन्वय समिति (तत्कालीन जिविस) ले अनुदान वितरण गर्दै आएको थियो । प्राधिकरणले संरचना बदल्दै जिल्लामा अनुदान वितरण र व्यवस्थापनसहित स्थानीय पूर्वाधार हेर्ने गरी छुट्टै निकाय जिल्ला आयोजना कार्यान्वयन एकाइ (जिमाली) गठन गरेको छ । प्राधिकरणको गत चैत २० गतेको निर्णयमा साउन १ देखि यो एकाइ सञ्चालनमा आउने भनिएको थियो । तर जिल्लामा अझै नयाँ संरचनामा जानेबारे गृहकार्य थालिएको छैन।

प्राधिकरणले नयाँ संरचनामा जाने निर्णय गरिसकेकाले त्यो कार्यान्वयनमा नआउञ्जेल अनुदान वितरण रोकिने एकाइका जिल्ला आयोजना व्यवस्थापन प्रमुख माधवजंग कार्कीले बताए । नयाँ संरचनामा जाने निर्णयसँगै प्राधिकरणले जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर कार्कीलाई एकाइ प्रमुखको जिम्मेवारी दिएको थियो । ‘एकाइको कार्यालय व्यवस्थापन नै भएको छैन,’ कार्कीले नागरिकसँग भने, ‘प्राधिकरणले खर्चको अख्तियारीसमेत दिइसकेको अवस्था छैन ।’ परिवर्तित संरचनामा जान सरोकारवाला सम्वद्ध निकायबीच छिट्टै बैठक बसेर निर्णयमा पुग्ने उनले जानकारी दिए । जिससबाट हुँदै आएको अनुदान वितरणको कार्यप्रगति सहतिको कागजात लिन र कोलेनिकाबाट जिससमा रकम निकासा हुँदै आएको लेखा प्रणाली एकाइ (जिमाली) मा ल्याउन समय लाग्ने उनले बताए ।

यसअघि सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन एकाइ (डिएलपिआइयु) को प्राविधिक सिफारिसका आधारमा जिससले पीडितलाई अनुदान वितरण गर्दै आएको थियो । त्यस्तै भूकम्पमा क्षतिग्रस्त पूर्वाधारको काम गर्न जिल्ला प्राविधिक कार्यालयअन्तर्गत छुट्टै जिल्ला आयोजना कार्यान्वयन एकाइ थियो ।
यी सबै कामलाई सहजीकरण गर्न प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय थियो । प्राधिकरणको नयाँ निर्णयसँगै सचिवलय खारेज भएको छ । यसले गर्ने कामसहित अनुदान वितरण र पूर्वाधारका काम एउटै एकाइ जिमालीले गर्ने जिल्ला आयोजना व्यवस्थापन प्रमुख कार्की बताउँछन् । प्राविधिक जाँच गर्ने र किस्ता सिफारिस गर्ने भवन डिभिजनको जिम्मेवारी भने यथावत् छ ।

अनुदान वितरण रोकिए पनि भवन डिभिजनको आयोजना कार्यान्वयन एकाइले जिससमा सिफारिस पठाउन छाडेको छैन । सिफारिस नपठाउनू भन्ने सूचना कतैबाट नआएकाले नियमित काम गरिरहेको एकाइ प्रमुख टंक गौतम बताउँछन् । उनका अनुसार साउनयता मात्रै करिब एक हजार पीडितलाई विभिन्न किस्ता दिन जिससमा सिफारिस पठाइएको छ।

अनुदान वितरण रोकिएपछि जिससमा भूकम्पपीडित लाभग्राही गुनासो लिएर पुग्न थालेका छन् । ‘किन अनुदान आएन भनेर पीडित गुनासो गर्न धाइरहेका छन्,’ जिससका सूचना अधिकृत युगबहादुर खड्काले भने । प्राधिकरणको नयाँ संरचना सञ्चालनमा नआउँदा अन्योल थपेको उनले बताए । उनका अनुसार प्रक्रिया नमिल्दा रोकिएका पुराना किस्ता निकासा दिनेबाहेक अनुदान वितरणका सबै काम जिससले रोक्दै आएको छ।

प्रकाशित: ९ श्रावण २०७५ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App