पोखरा- पोखरामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन चाहने सर्वसाधारणको चाप उत्तिकै छ। तर फाराम दर्ता गराएका मध्ये आधाभन्दा बढीले लिखित तथा ट्रायल परीक्षा उत्तीर्ण गर्न नसकेको तथ्यांकले देखाएको छ। पछिल्लो समय चालक अनुमतिपत्र लिन निकै कठिनाइ छ । तर यातायात व्यवस्था विभागले तीनपटक अवसर भने दिँदै आएको छ।
चालक अनुमतिपत्रका लागि फाराम भरेको सर्वसाधारणले तीनपटक लिखित तथा ट्रायल दिने व्यवस्था छ । तर तीन महिनामा पनि पास गर्न नसक्ने संख्या अधिक छ । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार पोखराबाट एक वर्षमा फाराम दर्ता गर्ने प्रशिक्षार्थीमध्ये केवल ४२.६८ प्रतिशतले मात्रै परीक्षा उत्तीर्ण गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
६७ हजार सात सय १७ जनाले फाराम दर्ता गरेका थिए । जसमा २८ हजार नौ सय एकजनाले मात्र उत्तीर्ण भएको तथ्यांक यातायात व्यवस्था कार्यालय पोखराका कार्यालय प्रमुख तेजनारायण यादवले सुनाए । उनका अनुसार ३८ हजार आठ सय १५ जना लिखित तथा ट्रायल उत्तीर्ण हुन असफल भएका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मोटरसाइकलमा २६ हजार पाँच सय ५७ जनामा केवल १३ हजार दुई सय ७७ जना मात्रै उत्तीर्ण भएका छन् । स्कुटरतर्फ १७ हजार पाँच सय ६३ फाराम दर्तामध्ये सात हजार सात सय ८७ ले उत्तीर्ण गरी सवारीचालक अनुमतिपत्र पाएको कार्यालयले जनाएको छ ।
कार, जिप, डेलिभरी भ्यानअन्तर्गत २० हजार ५ सयमध्ये ६ हजार सात सय ५९ जनाले मात्रै परीक्षा उत्तीर्ण गरेको कार्यालयको तथ्यांकले देखाएको छ । सबैभन्दा कम मिनी (एफ) मा केवल २४.७२ प्रतिशत मात्रै उपलब्धि भएको तथ्यांकले देखाएको छ ।
उत्तीर्ण भएका परिक्षार्थीबाट यातायात व्यवस्था कार्यालय पोखराले १६ करोड ६२ लाख ७५ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । लामो समयसम्म पोखरामा लाइसेन्सको फाराम दर्ता खुलेको थिएन ।
झन्डै एक वर्षको नयाँ चालक अनुमतिपत्रको प्रक्रिया ठप्प हुँदा सेवाग्राहीको भीड एक्कासि बढ्न पुगेको थियो। त्यसैअनुसार राजस्व पनि उल्लेख्य उठेको कार्यालयले जनाएको छ । माघयता कार्यालयले दुई सय चारवटा ट्रायल गरिएको जनाएको छ ।
कार्यालय प्रमुख यादव पोखरा सरुवा भएलगत्तै लाइसेन्सको नयाँ फाराम दर्ता सुरु भएको थियो । माघपछि नै नयाँ फाराम दर्ता सुरु भएको थियो । माघ महिनापछि राजस्व संकलन पनि बढ्दै गएको हो । तथ्यांकअनुसार साउनमा ७८ लाख, ६१ हजार पाँच सय राजस्व संकलन भएको थियो ।
भदौमा ७२ लाख ३० हजार पाँच सय, असोजमा ८७ लाख १५ हजार सात सय, कात्तिकमा ९८ लाख ८८ हजार पाँच सय, मंसिरमा ७८ लाख ७५ हजार, पुसमा एक करोड आठ लाख ६० हजार पाँच सय, माघमा एक करोड ३४ लाख ५५ हजार पाँच सय, फागुनमा एक करोड ५५ लाख २९ हजार, चैतमा दुई करोड चार लाख १४ हजार, जेठमा दुई करोड ३४ लाख ८६ हजार पाँच सय, असारमा दुई करोड १५ लाख ५८ हजार राजस्व संकलन भएको जानकारी दिइयो।
सेवाग्राहीलाई प्रभावकारी सेवा अझै दिन नसकिएको गुनासो भने कार्यालय प्रमुख यादवले दुखेसो पोखे । ‘२८ जना कर्मचारी चाहिन्छ तर हामीसँग २० जना मात्रै छन् । ती कर्मचारीलाई पनि कहिले विहानैदेखि दिनभर निरन्तर खटाउँदै आएका छौं,’ उनले भने, ‘तर अझैं दक्ष जनशक्ति नहुँदा प्रभावकारी सेवा दिनै सकिरहेका छैनौं ।’ सेवाग्राहीलाई प्रभावकारी बनाउन अब टोकन प्रणालीको व्यवस्था सुरु गर्ने तयारी गरिएको सुनाए ।
टोकन प्रणालीका लागि स्रोतको खोजीमा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख यादवले अहिले सर्वसाधारणको लागि लाइन बस्दा समस्या हुँदा बस्ने फलामे कुर्सीको व्यवस्था गरिएको जनाए । ‘सेवाग्राहीको चाप छ । फोटो खिच्नेदेखि राजस्व बुझाउनेसम्म लाइन बस्नुपर्छ । तर अब टोकन लिएर कुर्सीमा बसेर काम टुंग्याएर जाने वातावरण बताउँदै छौं,’ उनको भनाइ थियो।
कार्यालय प्रमुख यादवले यातायात व्यवस्थालाई विकेन्द्रीकरण गरेर लैजान सकिए मात्रै फुलफेजमा काम गर्न सकिने स्पष्ट पारे । ‘जिल्लामै लाइसेन्सको नवीकरण गर्ने, फाराम दर्ता गर्ने व्यवस्था मिलाइदिए सेवाग्राहीको चाप घट्ने थियो,’ उनले भने, ‘एकै ठाउँमा काम गर्नुपर्दा सेवाग्राहीलाई ढिलाइ हुन्छ । त्यसका लागि नीतिगत समस्या हुँदा यातायात व्यवस्था कार्यालय दुर्गन्धित अड्डा बन्न पुगेको छ ।’
सम्बन्धित जिल्लाबाटै यातायातको काम गर्ने अफिस सञ्चालन गर्ने वातावरण मिलाउन पनि यातायात व्यवस्था विभागसँग आग्रह गरेका छन् ।
असार मसान्तपछि यातायात व्यवस्था कार्यालय पोखराले केही समयका लागि नयाँ लाइसेन्सको फाराम स्थगित गर्ने जनाएको छ । तर कार्यालयले कतिन्जेल स्थगित हुन्छ भन्ने बारेमा भने केही खुलाएन ।
कार्यालय प्रमुख यादवले प्रदेश सरकारको मातहतमा यातायात कार्यालय जाने भएपनि तत्कालै प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा काम अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सेवा सुधारका लागि प्रदेश सरकार रनीतिगत समस्या समाधानका लागि संघीय सरकारसँग समन्वयमा काम गर्ने बताए ।
प्रकाशित: ३१ असार २०७५ १३:३५ आइतबार