७ वैशाख २०८१ शुक्रबार
समाज

थपिए भूकम्प पीडित लाभग्राही

सिन्धुपाल्चोक – छुट र पुनःसर्वेबाट भूकम्प पीडित लाभग्राही थपिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयअनुसार छुट र पुनःसर्वेबाट ३ हजार, ३ सय, ७ पीडित लाभग्राहीमा थपिएका हुन्।

पीडितका गुनासोपछि प्राधिकरणले गत वर्षको भदौमा छुट र पुनःसर्वे गरेको थियो। प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख माधवजंग कार्कीले विभिन्न चरणमा भइरहेको गुनासो सम्बोधन, छुट र पुनःसर्वेबाट लाभग्राही थपिइरहेको बताए।

योसँगै भूकम्पबाट सबैभन्दा धेरै क्षतिग्रस्त सिन्धुपाल्चोकमा आवास निर्माण अनुदान पाउने लाभग्राही संख्या बढेर ८६ हजार, ९ सय, ७१ पुगेको छ। भूकम्पपछि गरिएको क्षति सर्वेबाट पहिलो चरणमा ७८ हजार, ५ सय, ३७ लाभग्राहीमा समेटिएका थिए। गुनासो, छुट र पुनःसर्वेबाट थप ८ हजार, ४ सय, ३४ पीडित लाभग्राहीमा समेटिएका छन्। छुट र पुनःसर्वेबाहेक प्राधिकरणले विभिन्न समयमा गरेको गुनासो फछ्योटबाट ५ हजार, १ सय, २२ लाभग्राही थप भएका थिए।

सचिवालयका अनुसार पीडित लाभग्राहीमा नपरेको भन्दै छुट र पुनःसर्वेसमेत २३ हजार, ९ सय, ५४ ले गुनासो भरेका थिए। हालसम्म १० हजार, २ सय, २८ गुनासो फछ्योट हुँदा १ हजार, ८ सय लाभग्राहीमा समेटिएनन्।

छुट र पुनःसर्वेबाट लाभग्राहीमा समेटिएका पीडितले सम्वन्धित वडा कार्यालयमार्फत धमाधम अनुदान सम्झौता गरिरहेको जिल्ला समन्वय समितिका सूचना अधिकृत युगबहादुर खड्काले बताए। ‘उनीहरुलाई आइतबारदेखि बैंकमार्फत पहिलो किस्ता ५० हजार रुपैयाँ अनुदान निकासा गर्दैछौँ,’ उनले भने।

५ सय ६२ ले मर्मत अनुदान पाउने
भूकम्पले घर क्षति पु-याएका जिल्लाका ५ सय ६२ पीडितले रेट्रोफिट (मर्मत) गर्न अनुदान पाउने भएका छन्। प्राधिकरणले उनीहरुलाई प्रवलीकरण (घर मर्मत) सूचीमा समेटेको छ। भूकम्पबाट क्षतिग्रस्त घर रेट्रोफिट गर्न पीडितले १ लाख रुपैयाँ अनुदान पाउँछन्।

यसअघि प्रवलीकरण सूचीमा परेकामध्ये २५ पीडितले मात्र अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन्। अधिकांश छुट र पुनः सर्वे र गुनासोमार्फत प्रवलीकरणमा समेटिएको हुँदा उनीहरुले अनुदान सम्झौताको प्रक्रियामा छन्।

प्रकाशित: ३० असार २०७५ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App