नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको ऐतिहासिक कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीस्थित यो ताल अहिले झाडी र बुट्यानले भरिएर लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित अखडामा परिणत भएको हो।
उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित पर्यटकीयस्थलका रूपमा विकास गर्न करिब १० करोड रुपैयाँ लगानी गरेको थियो। तर, नियमित रेखदेख र सरसफाइको अभावमा करोडौंको लगानी बालुवामा पानी खन्याए सरह भएको छ।
ताल क्षेत्रको सौन्दर्यका लागि बनाइएका रेलिङहरू भत्किसकेका छन् भने रातको समयमा शङ्कास्पद गतिविधि बढ्दा स्थानीयवासी असुरक्षित महसुस गरिरहेका छन्।
स्थानीय चक्र बुढाले भन्छन्, ‘करोडौं खर्चेर बनाएको रेलिङ भत्किएका छन्, रातमा दुर्व्यसनीको जमघट हुन्छ। सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक-पटक गुहार्दा पनि कुनै सुनुवाइ भएको छैन।’
पर्यावरण र चराचुरुङ्गीको बासस्थानका रूपमा रहेको कान्तिताल जोगाउन संरक्षणकर्मीहरूले निरन्तर आवाज उठाइरहे पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको गुनासो छ।
वार्षिक २८ लाख रुपैयाँ राजस्व उपमहानगरलाई बुझाउने गरी ताल सञ्चालनको जिम्मा पाएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले नै रेलिङ तोडफोड गरेको हुनसक्ने बताए। उनले यस विषयमा वास्तविकता पत्ता लगाएर समाधान खोजिने उल्लेख गरे।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई पुनः व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना अघि बढाउन लागेको जानकारी दिए।
विगतका योजना प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सरोकारवालाहरूसँग छलफल गरी दिगो संरक्षणको ठोस योजना लागू गरिने बताए।
प्रकाशित: ३० श्रावण २०८३ १८:३१ शनिबार





