६ वैशाख २०८१ बिहीबार
समाज

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं - डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक बालविकास (इसिडि) शिक्षामा ४ वर्षसम्मका बालबालिकाको ८४ प्रतिशत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरे। सन् २००२ मा १२ प्रतिशत बालबालिकाले मात्र इसिडिको अनुभव हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै उनले बालविकासको क्षेत्रमा नेपालले राम्रो उपलब्धी हासिल गरेको जनाए।

युनेस्कोले इसिडिबारे गरेको एक अध्ययनअनुसार एशिया प्रशान्त क्षेत्रीय देशका कुल बालबालिकाको इसिडिमा ६९ प्रतिशतको पहुँच छ। विकसित देशमध्ये सबैभन्दा बढी ल्याटिन अमेरिका, क्यारेबियन, युरोप र उत्तरअमेरिकी देश छन्। यी देशका बालबालिकाले ९५ प्रतिशत इसिडिको ज्ञान हासिल गरेका छन्। सबैभन्दा कम सब–सहारन अफ्रिका रहेको छ। यी देशका ४७ प्रतिशत बालबालिकाले मात्र इसिडिको ज्ञान हासिल गर्दा रहेछन् । बंगालदेश, भारत, पाकिस्तान, भुटानलगायतका देशमा ५० प्रतिशतभन्दा कम बालबालिकाले मात्र इसिडिको अनुभव हासिल गरिरहेका छन्। तर नेपालका ८४ प्रतिशत बालबालिकाले इसिडिको अनुभव हासिल गरी उच्च सफलता प्राप्त गरेको अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुलेनै प्रसंसा गरेका छन्।

प्रारम्भिक बालविकास शिक्षा क्षेत्रमा समयसान्दर्भिक नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले सञ्चालित तीन दिने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका थिए। प्रधानमन्त्री ओलीले प्रारम्भिक बालविकास नेपाल सरकारको उच्च प्राथमिकताको क्षेत्रमध्ये एक भएको प्रष्ट पारे। उनले नेपालको संविधानले सम्पूर्ण बालबालिकालाई प्रारम्भिक बालविकास र शिक्षाको सुनिश्चितता गरेको दाबी गर्दै यसको गुणस्तर विकासको निम्ति सरकारले हरपल सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। ‘नेपालले विकास र समृद्धिको नयाँ अध्ययाय सुरु गरेको छ,’ प्रधानमन्त्री ओलिले भने, ‘अबको उद्देश्य भनेकै हाल स्थापित संरचनाको दीगो विकासतर्फ देशलाई डो-याउनु हो । यस उद्देश्य प्राप्तिमा गुणस्तरीय बालबाविकासले महत्वपूर्ण भूमिका खेल्नेछ।’ उनले बालबालिको स्वास्थ्य र विकास उनीहरुको समग्र हेरचाहमा भर पर्ने भएकोले उनीहरुको स्वास्थ्य, पोषण, आवश्यकता, अनुसारको हेरचाह, सुरक्षा र संरक्षण र प्रारम्भिक सिकाइमा सरकारको ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाए।

युनिसेफ दक्षिण एसियाकी क्षेत्रीय निर्देशक जिन गगले एशिया प्रशान्त क्षेत्रकै बालबालिकाहरुमध्ये नेपालले उपलब्धि हासिल गरेको बताइन्। ‘एशिया प्रशान्त क्षेत्रकै इसिडिमा बालबालिकाहरुको पहुँच ६९ प्रतिशत छ जबकी नेपालको ८४ प्रतिशत पुगेको तथ्यांक प्राप्त भएको छ,’ निर्देशक गगले भनिन्, ‘यस अर्थमा नेपाल विकासशील देशहरुमै इसिडिको सवालमा फड्को मारेको छ।’ उनले थपिन्, ‘प्रारम्भिक बालविकास वास्तवमै बहुक्षेत्रीय विषय भएकाले यसमा आइपर्ने चुनौती एक क्षेत्रले, मन्त्रालयले वा संस्था मात्र समाना गर्न सक्दैनन्।’

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:५७ बुधबार

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल