७ वैशाख २०८१ शुक्रबार
समाज

अप्ठ्यारो सडक निर्माणको कथा (भिडियो)

चितवन – चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ। अहिले यो सडकखण्डमा अन्तिम चरणको निर्माणको काम भइरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार अब ४ सय ५० मिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ। निर्माणका हिसावमा निकै अप्ठेरो मानिएको यो सडकखण्डमा दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा सडक विस्तारको काम थालिएको थियो।

कालोपत्रेको काम अन्तिम चरणमा भए पनि धेरै ठाउँमा सेफ्टी ब्यारियर, ड्रेनेज भने बनाउन बाँकी छ। सडकखण्डमा केही ठाउँमा पहाड फोड्ने, पीच गर्न बाटो सम्याउने, दोस्रो र तेस्रो तहको पीच गर्ने, ड्रेनेज, सेफ्टि ब्यारियर, पर्खाल बनाउने लगायतका निर्माणका काम भैरहेका छन्।

आँपटारीदेखी मुग्लिनसम्मको सडकलाई तीन खण्डमा विभाजन गरेर काम सुरु भएको थियो। ३३.२ किलोमिटर लामो सडक विस्तारको लागि तीन फरक कम्पनीले ठेक्का पाएका थिए। बिएलए- एससीसीले आँपटारीदेखी दासढुङ्गासम्मको १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुङ्गादेखी सीमल तालसम्मको १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सीमलतालदेखी मुग्लिनसम्मको १२.१ किलोमिटर सडक विस्तारको ठेक्का लिएर आफ्नो काम गरिरहेका छन्।

विस्तारको समय बढ्दा आयोजनाको लागत समेत बढेको छ। पहिले सम्झौता हुँदा सडक विस्तारको लागत २ अर्ब ८९ करोड रहेकोमा अहिले ३ अर्ब २० करोड पुगेको छ। सडक विस्तार सुरु गर्दा सेफ्टी प्लेट राखेर पहाड फोर्ने र एकतर्फी सडक बन्द गरेर काम गर्ने गरि सम्झौता भएको थियो। तर यसरी काम गर्न असुरक्षित देखिएपछि दुईतर्फी बाटो बन्द गरेर नै निर्माण कार्य गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनाल बताउँछन्।

कालोपत्रेको काम करिब करिब अन्तिम चरणमा भए पनि धेरै ठाउँमा सेफ्टी ब्यारियर, ड्रेनेज भने बनाउन बाँकी छ। सडकखण्डमा केही ठाउँमा पहाड फोड्ने, पीच गर्न बाटो सम्याउने, दोस्रो र तेस्रो तहको पीच गर्ने, ड्रेनेज, सेफ्टि ब्यारियर, पर्खाल बनाउने लगायतका निर्माणका काम भैरहेका छन्।

यो सडकखण्ड विस्तारको अर्को महत्वपूर्ण पाटो पुल निर्माणको हो। मुग्लीन देखि नारायणगढसम्म १८ वटा पुल विस्तार गर्नु पर्ने छन्। सडक विस्तार हुने तर पुलको क्षमता भने पुरानै रहने हो भने यात्रुले उस्तै सास्ती व्यहोर्नु पर्ने निश्चित छ। १८ पुल मध्ये दासढुगा, मौरी, खानी र जलबिरे गरी ४ वटा पुलको मात्र विस्तारको काम सुरु भएको छ। सडक निर्माणको जिम्मा पाएका दुई निर्माण कम्पनीले नै २१ महिना भित्र सम्पन्न गर्ने गरि चार वटा पुल निर्माणको ठेक्का पाएका छन्।

यस सडकखण्डमा पहिरोको उच्च चोखिम छ। पहिरो रोक्नका लागि करीब १४ करोडको लागतमा रक नेटिङ, बायो इन्जिनियरिङ, रक बोल्टिङ लगायतका कार्य भैरहेको छ। गोरखा–नारायणगढ सडकका रूपमा चीन सरकारको सहयोगमा वि.सं.२०३६ सालमा नारायणगढ–मुग्लिन सडक बनाईएको थियो।  

 

 

प्रकाशित: २५ जेष्ठ २०७५ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App