१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालमा फैलिँदैछ मिचाहा वनस्पति

काठमाडौं – विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्य चारवटा वनस्पति नेपालमा रहेको पाइएको छ। नेपाल विज्ञान तथा प्रविध प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा आयातित मिचाहा प्रजाजिका वनस्पतिको प्रभाव’ विषयक कार्यशालामा वनस्पतिविद् डा. भरतबाबु श्रेष्ठले यस्तो तथ्य प्रस्तुत गरेका हुन्। आयातित मिचाहा वनस्पतिको अवस्था र यसको मूल्यांकनका दायराका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. श्रेष्ठले नेपालमा मुख्य २६ मिचाहा वनस्पति रहेको र त्यसमध्ये विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्येका चारवटा रहेको तथ्यांक पेश गरेका छन्।

डा. श्रेष्ठले प्रस्तुत गरेका कार्यपत्रमा मिकिनिया माइक्रान्था (लहरे बनमारा), क्रोमोलाइना ओडोराटा (औले वनमारा), इकोर्निया क्रास्पिस (जल कुम्भि) तथा ल्यान्टेना क्यामारा (किर्ने काँडा) लाई नेपालमा पाइने विश्वका खराब मिचाहा प्रजातिका वनस्पतिका रुपमा उल्लेख गरिएको छ। नेपालमा पाइने अन्य मिचाहा प्रजातिका वनस्पतिमा जलजम्बु, काँडे लुंडे, कुम्भिया, कालो वनमारा, अजगन्दा, निलो खन्धे, कालो कुरा, फुले झार, चित्लांगे, पाती झार, भेडे कुरो, सनई फुल, लज्जावती, ठूलो टाप्रे, चकमके, सिलामे झार, चरी अमिलो, सत्यानाशी, कारौते घाँस, आलुपातेर थाङनो झार रहेका छन्।

यस बिषयमाथि अध्ययन भइरहेकाले यस्ता वनस्पतिको संख्या बढ्न सक्ने डा. श्रेष्ठले जनाए। हाल नेपालमा रहेका मिचाहा वनस्पति सबैजसो विदेशी प्रजातिको भएको डा. श्रेष्ठको दाबी छ। प्रायः अमेरिकी वा युरोपेली प्रजातिका मिचाहा वनस्पतिको प्रभाव बढिरहेको कार्यपत्रमा उल्लेख छ।

मिचाहा प्रजातिको प्रभावका आधारमा यसको वर्गिकरण पनि गरिएको छ। श्रेष्ठले नेपालमा पछिल्लो समय अमेरिकी तथा युरोपेली प्रजातिका मिचाहा वनस्पतिको प्रभाव बढेको दाबी गरेका छन्। आयातित मिचाहा वनस्पतिको प्रभाव मध्य नेपालमा बढिरहेको उनको निचोड छ।

सन् २०१६ को तथ्यांकअनुसार भौगोलिक क्षेत्रका आधारमा तराई क्षेत्रमा २१ प्रजातिका मिचाहा वनस्पति पाइएका छन्। त्यस्तै, चुरेमा २१ प्रजाति, तल्लो पहाडी क्षेत्रमा २०, उच्च पहाडमा १५ र उच्च हिमाली क्षेत्रमा तीन किसिमका प्रजाति पाइएको छ। जलवायु परिवर्तनका कारण पनि मिचाहा वनस्पतिका लागि उपयुक्त वातावरण बन्दै गएको छ।

मिचाहा वनस्पतिको प्रभाव बढेपछि लोपोउन्मूख वन्यजन्तुको बासस्थान संकटमा पर्ने गरेको छ। यसको उदाहरण चितवन राष्ट्रिय निकुञ्जमा अस्वभाविक रुपमा फैलिरहेको लहरे वनमारा हो जसका कारण एक सिंगे गैंडा समस्यामा परिरहेको कार्यपत्रमा उल्लेख गरिएको छ। त्यस्तै वन पुनरुत्थान समस्या लगायतका अन्य समस्या निम्तिने गरेका छन्।

त्यस्तै, मिचाहा वनस्पतिका कारण सामाजिक तथा आर्थिक समस्यासमेत निम्तने गरेको छ। डा. श्रेष्ठका अनुसार यसले कृषिमा निर्भर ग्रामीण समुदायलाई नकारात्मक असर पारिरहेको छ भने कृषि उत्पादनको लागत बढाएको छ। विश्वबजारीकरण, खुला सीमा तथा फितलो क्वारेन्टाइनका कारण यसको नियन्त्रण लगभग असम्भव रहेको र यसको उन्मूलनका लागि आर्थिक लगानीले मात्र सफलता नमिल्ने श्रेष्ठले उल्लेख गरेका छन्। यसको व्यवस्थापनका लागि जैविक सुरक्षा प्रभावकारी कार्यान्वनय, जैविक नियन्त्रण कार्यक्रमको प्रवद्र्धन, सामुदायिक सहभागीता र राष्ट्रिय रणनीति बनाउन सुझाव दिइएको छ। कार्यपत्रमाथि वनस्पति विज्ञहरुले टिप्पणी गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App