धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्ने गर्छन् । खुल्ला ठाउँमा जस्ताले छाएको टहरामा निगालोको विभिन्न बस्तुहरू बनाएर चेपाङ दम्पतिले दैनिकी गुजार्ने गर्छन् । सानो ठाउँमा भाडामा जग्गा लिएर काम थालेका उनले मासिक ३५ हजार कमाई गर्छन् । ‘काम भनेको सानो ठूलो हुँदैन’ चेपाङले भने, ‘वार्षिक ३५ हजार जग्गाको भाडा बुझाएर मासिक ३५ हजार कमाइ हुन्छ ।’ अहिले आयस्रोतको गतिलो माध्यम बनेको चेपाङ बताउँछन्।
चेपाङ जन्मजात अपांग हुन् । उनले पढ्न पाएनन् । अपांगभएपछि सानो छदाँ साथीभाइले जिस्काउने, पिट्ने समेत गर्दथ्यो । तर उनले हिम्मत हारेनन् । गाउँमा प्रायसबैले निगालोको चोयाबाट डोको, थुन्से बुन्ने गर्थे । उनले पनि सिको गरिसकेका थिए । २०६५ सालमा काठमाडौँमा निगालोको चोयाबाट सामान बनाउने तालिम लिने मौका पाए । तालिम लिएर काम पनि थाले । आम्दानी हुन थालेपछि धादिङमा नै आएर आफैँले व्यवसाय सुरु गरे । उनीसँग पहेँलो रंगको अपांगता परिचय पत्र छ । सार्वजनिक सवारी साधनमा हिडडुल गर्न गाह्रो हुने बताउँछन् उनी।
निगालोको चोयाबाट कपडा स्ट्याण्ड, टेबुल, कुर्ची, डोको लगायतका सामानहरू विभिन्न आकारमा बनाउने गरेको चेपाङ बताउँछन् । ‘निगालोबाट बनाइएका सर–सामानहरुको बजार सजिलैसँग पाइने र घरखर्च समेत राम्रोसँग चलेको छ’, ‘चेपाङले भने, दुई छोराछोरीलाई पढाउन र घरखर्च चलाउन पुगेको छ ।’ काम भनेर धनी, गरिब अपांगलाई नछेक्ने उनी बताउँछन् । यसरी बनाएको सामानहरू धादिङबेसी काठमाडौँ, पोखरा, चितवन लगायतका ठाउँहरुमा निर्यात हुने गर्दछ । बुनेका सामानहरू बेच्नका लागि टाढा जानु नपरेको र बजारको पनि समस्या नहुने चेपाङ बताउँछन्। यस्ता सामानहरु बनाउन अर्डर समेत आउने गरेको छ ।
सामान बनाउन आवश्यक निगालोको चोया जिल्लाको गजुरी गाउँपालिकाको न्यारेबासबाट ल्याउने गरेका छन्। ग्रामीण भेगमा निगालो त्यतिकै खेर जाने गर्छन् । ती खेर गएका निगालोलाई ल्याएर विभिन्न आकारमा बस्तुहरू बनाउने गर्छन्। सुरुमा चोया काढ्न सिकेका उनले अहिले विभिन्न आकार र प्रकारका सामग्रीहरू बनाउँछन्। उनीलाई उनका श्रीमती सरिता चेपाङले पनि साथ दिएकी छिन् । श्रीमतीले चोया काढ्ने, गोपालले आकार प्रकारको सामान बनाउने गरेका छन्।
जीवन निर्वाहका लागि अरुको मुख ताक्नु नपरेको गोपालको श्रीमती सरिता चेपाङ बताउँछिन्। जीवन निर्वाहको आधार बन्दै आइरहेको निगालो खेतीलाई व्यवसायिक गरिदिए आयआर्जनको माध्यम बन्ने चेपाङ बताउँछिन्। ‘पुस्तौदेखिको आयआर्जनको माध्यम लोभ हुने हो कि भन्ने डर लाग्छ’ चेपाङले भनिन्, ‘आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा सबैले ध्यान पु¥याउनुपर्छ ।’ जमिन धेरै भए पनि भिरालो र कम खेतीयोग्य जग्गामा निगालो खेती गर्नेहरुको पनि आयस्तरमा सजिलैसँग वृद्धि गर्न सकिने चेपाङ बताउँछन्।
बाँस वा निगालोबाट चोया निकाल्नु अनि डोको बुन्नु र त्यसलाई बजारमा बेच्नु चेपाङ दम्पतिको दैनिकी हो। अहिले बुढेसकालको सहारा नै यही बनेको उनीहरू बताउँछन्। निगालोबाट बनेका सामग्रीहरू स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन्। तर पछिल्लो समयमा प्लास्टिकका सामग्रीको विक्री वितरण बढ्नु, बजार नहुनु लगायतका कारणले लोप हुने अवस्थामा पुगेका छन्।
जिल्लाको उत्तरी क्षेत्रको रुविभ्याली, गंगाजमुना, खनियाबासका तामाङ समूदाय तथा दक्षिणी क्षेत्रको बेनिघाट रोराङ, गजुरीका चेपाङ समूदायले निगालोबाट आकारप्रकारका सामानहरू बनाएर बेच्ने गर्छन्। सामान बनाउन लागि आवश्यक निगालोको चोयाको समस्या हुने गरेको उनीहरू बताउँछन्। ग्रामीण क्षेत्रमा बजारीकरण र बाटोको समस्याले पनि माग अनुसारको सामानहरू निर्यात गर्न नसकिएको किसानहरू बताउँछन् ।
प्रकाशित: २८ वैशाख २०७५ १२:०५ शुक्रबार