२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

दिनहुँ दुख्छ दाउन्ने

बुटवल–नारायणगढ सडकखण्ड ‘पश्चिम नेपालको जीवनरेखा’ मानिन्छ तर यस सडकखण्डमा कामको ढिलासुस्ती हुँदा दाउन्ने खण्डमा यात्रा निकै कष्टपूर्ण बनिरहेको छ। १३ किलोमिटर सडक पार गर्न घण्टौं लाग्छ। सडक विस्तारको जिम्मा पाएको कम्पनीले समयमा काम नगर्दा दाउन्ने क्षेत्रको यात्रा निकै सकस हुने गरेको ट्रक चालक सुजन महतो बताउँछन्। ‘सधैं यही सडकको यात्रा गर्नुपर्छ। बिहीबार दिउँसो दाउन्नेको सडक छिचोल्दै दिउँसो २ बजे कावासोती बजार आइपुगेको महतोले भने, ‘हिजो राति ११ बजेदेखि रातभरि दाउन्नेको जाममा बसेर यतिखेर यहाँ आइपुगेको छु।’

अन्य क्षेत्रमा यात्रा सहज भए पनि दाउन्ने खण्डको १३ किलोमिटर यात्रा असहज देखिन्छ। चिनियाँ निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै समयमै काम नगर्दा पश्चिम क्षेत्रको दैनिकी अस्तव्यस्त बनेको हो।

यसपालिको बर्खामा पनि यस सडकखण्डको यात्रा कष्टपूर्ण हुने देखिन्छ। नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन छ। यो सडकमा सवारी गुड्न त्यति सहज छैन। नारायणघाट–बुटवल सडकखण्डमा दैनिक हजारौं सवारीसाधन गुड्छन्। यही खण्ड हुँदै राजधानी काठमाडौं तथा पूर्व–पश्चिम क्षेत्र आउजाउ गर्नुपर्ने बाध्यता छ।

कैलालीदेखि काठमाडौंसम्मको रुटका चालक अरुण पटेल सडकका कारण गाडी बिग्रेर मर्मत गर्दा नै आम्दानी सकिने बताउँछन्। ‘यात्रैपिच्छे गाडी मर्मत गर्नुपर्छ, पट्टा भाँचिन्छ। खाल्डो भनेर गाडी हाल्यो डाँडो पर्छ, डाँडो भनेर हाल्यो खाल्डो पर्छ। यस्तै छ हजुर, हाम्रो समस्या कसले सुन्ने?’ उनले भने।

नारायणगढ–बुटवल सडकखण्डको यात्रा जोखिमपूर्ण छ। दुम्कीबासका सुनिल खनाल विगत ६ वर्षदेखि स्थानीय, प्रहरी प्रशासन तथा यात्रुहरूले समेत समस्या झेल्दै आएको बताउँछन्। ‘दाउन्ने उकालोमा दैनिक  जाम हुन्छ। यात्रुहरू सधैं अलपत्र पर्छन्,’ खनालले भने, ‘दुम्कीबासमा गाडीका लस्कर देख्दा मनै अमिलो हुन्छ।’ दुम्कीबास दाउन्ने प्रवेश गर्ने मुख हो।

एकतर्फी ९७ किलोमिटर कालोपत्रे

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तार सम्झौता २०७५ चैत ८ गते भएको थियो। एक सय १३ किलोमिटर लामो यो खण्डलाई दुई भागमा विभाजन गरेर अलगअलग ठेक्का लगाइएको थियो। दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले पाएको छ।

अहिलेसम्म ९७ किलोमिटर सडक एकतर्फी कालोपत्रे भइसकेको छ। बाँकी १६ किलोमिटर सडक पिच हुन बाँकी रहेको सडक आयोजनाले जानकारी दिएको छ। यस्तै ५७ किलोमिटर सडक दुईतर्फी नै कालोपत्रे भएको छ। पूर्वी क्षेत्रमा ५६ किलोमिटर र पश्चिम खण्डमा ४० किलोमिटर भएको छ।

पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक विस्तार र मर्मत गर्न १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का पाएको हो।

सरकारले यो सडकखण्डको ठेक्का म्याद २०७९ भदौमा पहिलो पटक, २०८० साउनमा दोस्रो पटक र २०८१ साउनमा तेस्रो पटक थप गरिसकेको छ। तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्छ तर अहिले ६९ प्रतिशत मात्र काम सकिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन्।

‘अहिलेसम्म वित्तीय प्रगति ५४ प्रतिशत छ। भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ,’ खनाल भन्छन्, ‘काम साउनमा काम सकिँदैन। सायद एक वर्ष म्याद थप हुन सक्छ।’

उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा ५५ किलोमिटर सडक एकतर्फी कालोपत्रे भइसकेको छ। दाउन्नेको १३ किलोमिटरको कटिङको काम सकिएको छ। अहिले बर्खा भएका कारण त्यहाँ मर्मतको मात्र काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख ईश्वरबहादुर रिजालले बताए। ‘बर्खा लागेका कारण दाउन्ने सेक्टरमा हामीलाई च्यालेन्ज छ। अहिले त्यहाँ ट्राफिक व्यवस्थापनको काम मात्र भएको छ,’ उनले भने, ‘बर्खापछि थप काम अगाडि बढ्छ।’

दाउन्ने क्षेत्रमा भित्ता काटेर कल्भर्ट निर्माणका काम भइरहेको थियो। साउन–भदौमा निर्माण कार्य अगाडि बढाउनेभन्दा पनि ट्राफिक व्यवस्थापनमा ध्यान दिइने उनले बताए।

पानी पर्नासाथ यहाँ सडक चिप्लो भएर गाडी फस्ने गर्छ। त्यसलाई मध्यनजर गर्दै अहिले यहाँ विनयी त्रिवेणी गाउँपालिकाबाट ग्राभेल लगेर सडकमा राख्ने काम भइरहेको उनले बताए। बिस्तारै सडकका समस्या समेत घट्दै गएको उनको दाबी छ। दाउन्ने, दुम्कीबास, चोरमारा बजार क्षेत्र र पुल क्षेत्रको आठ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे हुन बाँकी छ। त्यसमध्ये डेढ किलोमिटर पुलको भाग रहेको उनले बताए।

पूर्वी खण्डमा मात्र ३४ वटा पुल छन्, ३१ वटा बनिसकेका छन्। गैंडाकोटको जयश्री, गिरुबारी र अरुणखोलामा पुल निर्माण भइरहेको खनालले बताए। यी पुलहरू पनि एक वर्षभित्र बनिसक्ने उनको भनाइ छ।

पश्चिम र पूर्वी खण्डमा एक सय तीन वटा कल्भर्ट छन्। पूर्वी खण्डमा ३४ वटा रहेको खनालले बताए। त्यसमध्ये पाँच वटा बनाइसकिएका छन्। दाउन्ने खण्डको १३ किलोमिटरमा ७० वटा कल्भर्ट छन्। दाउन्ने सडक क्षेत्र पश्चिम खण्डमा नौ किलोमिटर र पूर्वी खण्डमा चार किलोमिटर छ। यस खण्डमा दुईवटा पुलसमेत रहेका छन्।

नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख शशांक मिश्र पश्चिम क्षेत्रको यातायात धेरै सहज भएको बताउँछन्। ‘पश्चिमतर्फको दाउन्ने खण्डमा अहिले समस्या छैन। दाउन्ने र बर्दघाटमा सडक पिच गर्न बाँकी छ,’ उनले भने, ‘४० दशमलव ७८ किलोमिटर सडक त एकतर्फी रूपमा पिच गरिसकेका छौं।’

उनका अनुसार पश्चिम खण्डको २५ किलोमिटर सडक पिच भइसकेको छ। दाउन्ने खण्डमा ग्राभेल हाल्ने काम भइरहेको बताए। साउन ८ गते तेस्रो पटक थपिएको म्याद सकिँदै छ। अहिलेको कामको प्रगतिका आधारमा अझ एक वर्षको अवधिमा २० प्रतिशत काम हुन्छ। अझ एक वर्ष थप गरे काम सम्पन्न गर्न सकिने सरकारी पक्षको भनाइ छ।

९० प्रतिशत भौतिक प्रगतिलाई सडक निर्माण सम्पन्न भएको भन्ने गरिन्छ। बाँकी १० प्रतिशतलाई सडक फर्निचर भन्ने गरिन्छ। त्यसमा रङरोगन, बोर्ड निर्माणलगायत काम पर्छन्। तर चाइना स्टेट कन्स्ट्रक्सनका मिडिया संयोजक राकेश झा सरकारसँग अझै डेढ वर्ष म्याद थप्न अनुरोध गरिएको बताउँछन्। एक सय १३ किलोमिटर सडकखण्डमध्ये भूगोल हेरी ६, ४ र ३ लेनको सडक निर्माण हुँदै छ।

प्रकाशित: २२ असार २०८२ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App