कपिलवस्तु नगरपालिका-१ भिक्षु टोल युवा क्लबले सांस्कृतिक कार्यक्रमबाट बेचेको पैसाले टोलमा डस्टबिन किनेर वितरण गरेका छन्। २०८१ सालको दसैंमा उनीहरूले सांस्कृतिक कार्यक्रम गरेका थिए। त्यतिबेला उनीहरूले विभिन्न व्यक्ति तथा संस्थासँग चन्दा संकलन गरी कार्यक्रम गरेका थिए। बचेको पैसा उनीहरूले वनभोज, रमाइलोका लागि खर्च नगरी रचनात्मक र सामाजिक काममा खर्च गरेका हुन्।
खर्च कटाएर बचेको २५ हजार बढी रकमबाट क्लबले २० डस्टबिन खरिद गरी टोलमै वितरण गरेको हो। मेयर सुदीप पौडेल, वडा नं १ का अध्यक्ष जाहिद खाँ र स्थानीय बलराम घिमिरले चोकमा रहेका पसल र भिक्षुलाई डस्टबिन हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा मेयर पौडेलले कार्यक्रम गरी बचेको पैसा युवाहरूले आफ्नै टोलको सरसफाइमा खर्च गरेर उदहरणीय काम गरेको बताए। उनले नगरका सबै टोलवासी र युवा क्लबले यसरी नै आफ्नो गाउँटोलका लागि रचनात्मक र उदाहरणीय काम गर्नुपर्ने बताए।
सो अवसरमा वडाध्यक्ष खाँले युवाले समाजका लागि गरेको यो खर्चले ठुलो काम गरेको बताए। उनले क्लब र टोलले गर्ने यस्ता काममा वडाको समेत साथ र सहयोग रहने बताए। क्लबका अध्यक्ष हसिम मुसलमानले साथीहरूले गरेको निर्णय अनुसार डस्टबिन खरिद गरी टोलमा बाँडेको बताए। उनले मोजमस्ती गर्नुभन्दा आफ्नै टोलमा केही सामाजिक काम गरौं भनेर लागेको बताए। टोल, वडा र नगरको विकासमा आफूहरू सदैव लागिपर्ने उनले बताए।
प्रकाशित: २२ असार २०८२ ११:५७ आइतबार