उदयपुरका वन रक्षकहरूले सर्पदंशसम्बन्धी तालिम पाएका छन्। डिभिजन वन कार्यालय उदयपुरको आयोजनामा सङ्घीय वन विभागले शुक्रबार एकदिने सर्पदंशसम्बन्धी उपचार गर्ने विधिबारे तालिम दिएको हो।
तालिममा डिभिजन वन कार्यालय र सवडिभिजन वन कार्यालयका कर्मचारी, डिभिजन वन गाईघाटका सशस्त्र वनरक्षक तथा डिभिजन मातहतका ८ वटा सवडिभिजन कार्यालयमा कार्यरत वनरक्षक गरी ४६ जना सुरक्षाकर्मी सहभागी थिए। वन विभागबाट आएका प्रशिक्षकले सर्पदंश भएमा घाइतेको उद्धार गर्ने तरिका, प्राथमिक उपचार गर्न अपनाउनु पर्ने उपाय र सर्प नियन्त्रण गर्ने विधिबारे जानकारी गराएका थिए।
तालिममा सहभागी सवडिभिजन वन कार्यालय बेलटारका प्रमुख बाबुराम फुयालका अनुसार उदयपुरमा सर्पदंशका घटना अत्यधिक हुने भएकाले त्यसबाट बँच्न सर्पदंशसम्बन्धी तालिम आयोजना गर्न माग बढेको छ। स्थानीयको माग अनुसार वन डिभिजनले विभागको सहयोगमा तालिम आयोजना गरेको हो।
डिभिजन वन प्रमुख (डिएफओ) रामभगत यादवका अनुसार उदयपुरको भित्रि मधेस र तराई भेगमा सर्पदशंका घटना धेरै हुने गरेको छ। सर्प वन्यजन्तुभित्रै पर्ने प्राणी भएकाले त्यसबाट बँच्ने, बचाउने र सर्पको संरक्षण गर्ने जिम्मा पनि वन डिभिजनकै अधिकारभित्र पर्ने कानुनी प्रावधान छ।
एकदिने मात्र तालिम भए पनि सर्पदंश र त्यससँग सम्बन्धित धेरै ज्ञान प्राप्त गर्न सफल भएको डिएफओ यादवले बताएका छन्। उनका अनुसार उदयपुरमा करेत, कोब्रा, बैरी करेत, हरेउ र सिरिसेलगायत विषालु सर्पदेखि ढोडीया, पानी सर्पलगायत बिषरहित प्रजातिका सर्पसमेत पाइने गरेको छ।
प्रकाशित: २० असार २०८२ २०:५३ शुक्रबार





