खोटाङको रावाबेँसीका स्थानीयहरूले गाउँको लोचा खोलामा काठको पुल हालेका छन् । वर्षायाममा बाढीले आउजाउ गर्न अप्ठेरो सो खोलामा आउजाउ गर्न जनश्रमबाट काठे पुल निर्माण गरिएको हो ।
रावाबेँसी गाउँपालिका ६ हौचुर र १ न. वडा कुभिण्डेलाई जोड्ने सो खोलामा जनश्रम जुटाएर निर्माण गरिएको काठको पुल सञ्चालनमा आइसकेको छ । बर्खायाममा पानी पर्दा बाढी आएर स्थानीयलाई वल्लो गाउँदेखि पल्लो गाउँ गर्न, घर–खेत तथा विद्यालय आउजाउ गर्नसमेत समस्या पर्दै आएको छ । यो बर्खामा पनि वर्षा सुरु भइसकेकाले बाढीबाट बच्न स्थानीयहरू जुटेर काठको पुल बनाएका छन्।
हेर्दा सानो खोला भए पनि लोचामा वर्षामा नपत्याउने गरी बाढी आउने र मान्छे बगाउने खतरा हुने गरेको छ । अहिलेसम्म राज्यको नजर नपुगेकै कारण श्रमदानबाट काठे पुल निर्माण गर्न परेको स्थानीय सन्तोष राईले बताए । राईका अनुसार गाउँलेहरू मिलेपछि श्रमदानबाटै अस्थायी काठको पुल निर्माण गर्न सम्भव भएको हो ।
बर्खायाममा हौँचुर र कुभिण्डे आउजाउ गर्न सधैँ लोचा खोला बाधक बन्ने गरेको छ । ठाडो र ढुङ्गे खोला भएकाले सामान्य वर्षामा पनि आउने बाढीले ढुङ्गा माटो बगाउँदै ल्याउने भएकाले मोटरसाइकल वारपार गर्नसम्म कठिनाइ हुने गरेको छ । सरकारले पुल बनाइदेला भन्ने आस गर्दा वर्षौँ बितेकाले गाउँलेले श्रमदानबाट पुल हालेको स्थानीय बताउँछन् ।
६ नं. हौँचुरका वडाध्यक्ष चिरञ्जीवी कार्कीले बजेट अभावमा पक्की पुल बनाउन नसकेपछि स्थानीयले कामचलाउ अस्थायी काठे पुल बनाएको बताए । यसले पनि मान्छे आउजाउ गर्न र सामान्य भारी तथा मोटरसाइकलसम्म तार्न सहज हुने उनले बताए । वर्षौँअघि बनेको झोलुङ्गे पुल हालको सडकभन्दा केही माथि परेकाले प्रयोगविहीन अवस्थामा पुगेको कार्कीले बताए ।
उनका अनुसार झोलुङ्गे पुल सडकदेखि टाढा पर्ने र मोटरसाइकल लाने बाटो नभएकाले खोलाबाटै तार्नुपर्ने बाध्यता छ । खोलामा काठे पुल निर्माण गरिएपछि मान्छेको आउजाउसँगै मोटरसाइकल वारपार गर्न पनि सहज भएको उनी बताउँछन् ।
काठे पुल निर्माण गर्नका लागि हौँचुरका युवाहरुले श्रमदानमा खट्न आव्हान गरेका थिए। उनीहरूको आव्हानमा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडाध्यक्ष कार्कीलगायत जनप्रतिनिधिहरू र कर्मचारी पनि श्रमदानमा खटेका थिए । अध्यक्ष श्रेष्ठले यस वर्ष बजेट व्यवस्थापन गर्न नसकेकाले आफू पनि श्रमदानमा खटेको बताउँदै आगामी वर्ष प्रदेश सरकारसँग साझेदारीमा पक्की पुल बनाउन सुरु गर्ने प्रतिबद्धता जनाए ।
सीमित स्रोतका कारण पक्की पुल बनाउन नसकेकाले काठको पुल बनाउन आफै श्रमदानमा खटेको उनले बताए । गाउँपालिकाको सीमित बजेट धेरैतिर पु¥याउनुपर्दा यस्ता योजनाका लागि प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुपर्ने समस्या उनले सुनाए। उनका अनुसार लोचा खोलामा आगामी वर्षदेखि पुल बनाउने गरी प्रदेश सरकारले बजेट व्यवस्था गरिसकेको छ ।
प्रकाशित: १७ असार २०८२ १५:०६ मंगलबार





