‘भोलि त नयाँ वर्ष, कतै गएर बिताउनुपर्ने हो। कता जाने त हँ?’ चैत्र मसान्तको बिहानी चिया–बसाइको क्रममा राम केसीको कोठामा नववर्ष यात्राको प्रसङ्गले अनायासै प्राथमिकता पायो। समातिरहेको चियाको कपबाट एक सुर्को घुटुक्क पारेर भुइँटेबलमा कप राख्दै मित्रले जवाफ दिए, ‘हो त नि, कता जाने होला, ठाउँ रोजौं न?’
उनले दिएको जवाफलाई मस्तिष्कमा राख्दै मोबाइल ‘लाउड’मा राखेर अर्का मित्रलाई फोन लगाएँ। दुई–तीन रिङमै उताबाट ‘सरकार! ॐ नमन’ भन्ने एक जोसिलो आवाज आयो। साथीभाइ, मित्रहरू एक अर्कामा कुरा गर्दा प्रभु, हजुर, मित्र, साथी आदि उपमा आउने गरेजस्तै आमोदजी र ममा परस्पर आदर भाव व्यक्त गर्ने यो ‘सरकार !’ शब्द कहिलेदेखि र कसरी आयो, सम्झनै छैन अहिले।
‘भिडभाडविहीन, होलो–खुकुलो, यसो कुनै शान्त ठाउँ राजौं न,’ रामले भनेको सुन्नेबित्तिकै सरकारबाट जवाफ आयो, ‘धादिङको जीवनपुरस्थित कृषि फार्ममा जाऊँ।’ सबैले सहमति जनायौं।
बिहान ९ः३० बजे हामी लाग्यौं सीतापाइलाबाट पश्चिमतिर रामकोट, भीमढुङ्गाको बाटो। कतै पिच, कतै ग्राभेल, कतै धुलाम्मे सडक पार गर्दै छत्रेदेउरालीको भन्ज्याङपोखरी पुग्यौं। झन्डै १० वर्षपछि त्यस ठाउँमा पुग्दा पुराना घरहरूले काँचुली फेरिसेकेका रहेछन्।
हामी ११ः०० बजे कृषि फार्म पुग्यौं। बाटैको एउटा ठुलो लिचीको रुखमुनिको शीतल छहारीमा बाइक पार्किङ गर्याैं। धुलोले रङ्गिएका हाम्रा ज्याकेटहरूलाई खोलेर धोएका कपडा सुकाउन बेसरी झट्कारेझैं झड्कार्यौं। लुकिङ ग्लासको सहायताले अनुहारको रोगन हेरियो। झोला हातैले ढ्याप ढ्याप पारियो। यति भएपछि हामी त्यो फार्मभित्र पस्न लायक भयौं भन्ने भान भयो।
हामीलाई देखेछन् एकजनाले, फार्मको गेटमै स्वागत गरे। सरकारले हामीलाई ती अपरिचित अनुहारसँग परिचय गराए। उनी नै फार्मकर्ता रहेछन्। उनले हामी आगन्तुकलाई आफ्नो फार्ममा हँसिलो मुद्राले आतिथ्यसाथ भित्र लगे। उनको मुहारमा एक साक्षी भाव र छुट्टै तेज प्रदीप्त भइरहेको आभास भयो। हामी फार्मभित्र प्रवेश गर्नुअगावै अन्य थुप्रै आगन्तुकहरूको प्रवेश भइसकेको रहेछ, कुनै समूह अघिल्लै दिनदेखि त कुनै सोही दिन सबेरैदेखि। अघिल्ला दिनका केही आगन्तुकहरू मित्र राम र सरकारसँग परिचित रहेछन्। भेटको खुसीमा शुभकामना आदानप्रदानले स्थान पायो उहाँहरूबिचमा।
फार्मभित्रको वातावरण औधी प्रकृतिजन्य भएकाले मेरो मनलाई एकपछि अर्काे गर्दै आकर्षित गर्न थाल्यो। आगन्तुकका बालबालिकाहरू कोही रुखमा झुन्ड्याइएका पिङमा झुल्दै थिए, कोही गाई उता छ, भेडो यता छ भनेर एक अर्कालाई देखाउँदै रमाइलो मानिरहेका थिए। हामी उभिएर त्यहाँको दृश्य हेरिरहेका थियौं। ‘जता बसे पनि हुन्छ यहाँहरूलाई कुनै रोकावट छैन,’ नजिकै आएर किसान दाइले भने। हामी एउटा कटेजभित्र रहेका प्लास्टिकका मेचमा गएर बस्यौं।
आमोद र किसान दाइको चिनजान भएको १० वर्ष भइसकेको रहेछ। त्यहाँ उनी पनि आज १० वर्षपछि पुगेका रहेछन्। दश वर्षको अवधिमा किसान दाइको फार्मले निकै फड्को मारेको पाएँ भन्दै थिए उनी।
भित्तामा ठुला साइजका फ्लेक्स फोटाले हाम्रो मनमस्तिष्क तानिरहेको थियो। त्यसमा हेरिरहेका थियौं– किसान दाइ कुनै फोटामा लिचीका बोटमा थिए त कुनै फोटाका नासपातीका बोटसँगै।

‘अहो! कत्रो चुल्हो पो रहेछ, देख्यौ तिमीले?’ मित्र रामले भने। म फोटातिर ध्यान दिन थालेँ। त्यही बेला उनी अगाडि रहेको भान्सा कोठामा छिर्न भ्याएछन्। उनले चुल्होको कुरा गरेपछि चुल्हो हेर्न म पनि भान्सा कोठातिर लागेँ। नभन्दै चुल्हो ठुलै रहेछ। दाउरा बलिरहेको थियो। केही खानेकुरा ठुलो भाँडामा पाकिरहेको थियो। केही बेरमा किसान दाइ आफैं आएर भने, ‘खाना तयार छ, पहिला खाना खाऊँ।’
हामी तीनै जना खाना खान तयार भयौं। खानाका लागि भान्सा घरअगाडिको घरमा व्यवस्था गरिएको रहेछ। बस्नका लागि भुँइमा सुकुल ओछ्याइएको थियो। खाना टेबुलमा बफे (इच्छा भोजन) राखिएको रहेछ। आफूलाई आवश्यकता अनुसारको खाना थालमा राखेर हामी तीनै जना सुकुलमा पलेँटी मारेर खान थाल्यौं।
खानापछि रुखको छहारीमुनि राखिएका मेचमा बस्यौं। अरू आगन्तुक पनि हामी बसिरहेको ठाउँमै आएर बसे गोलाकार भएर। केही बेरपछि त्यही गोलामा किसान दाइ पनि सामेल हुन आइपुगे। सरकारले पहिला परिचय गरौं है भनेर मबाट सुरुवात गराए। त्यहाँ गोलबद्घ भएका हामी सबैले पालैसँग आआफ्नो परिचय दियौं।
किसान दाइको पालो अन्तिममा थियो। उनले आफ्नो परिचय दिए। सरकारले ‘किसान दाइले आफ्नो फार्मको बारेमा पनि भन्नुपर्छ है’ भनेका थिए। उनले बोल्न सुरु गरे, सुरुमै हामी प्रत्येकलाई एक एक गरी एकै प्रश्न सोधेर। प्रश्न थियो– तपाईंहरू कसले कोरोनाको खोप लगाउनुभएको छैन?
पहिलो प्रश्न अचम्म लाग्दो नै भयो हामीलाई। लगाएको छ भनेको भए पो सबै जनाले छ भन्थे होलान्। लगाउनुभएको छैन भनेकाले होला, मौन भयौं हामी सबै। सबै चुप भएकाले होला, उनी आफैंले एक एक गरी सोधे, ‘तपाईंले ?’ सोधे मलाई।
‘लगाएको छु।’
‘तपाईंले?’ सोधे रामलाई।
‘लगाएको छु,’ उनले पनि जवाफमा भने।
यसरी सोधिएका प्रश्नको जवाफमा एक जनाबाट मात्र जवाफ आयो ‘छैन’ भन्ने। के भन्न खोजिरहेका छन् किसान दाइले ? कुतूहलमा थियौं हामी।
‘मैले खोप लगाइनँ। तपाईंहरू सबै मूर्ख,’ किसान दाइले जङ्गिँदै भने। भर्खरै तात्तातो खाना खाएर आएको, कन्सिरी तातिने कुरा पो गरे। हामी कसैले पनि किन भनेर प्रश्न गरेनौं। सायद हामीमाझ किसान दाइ आफ्नै विचार र धारणा पस्किँदै थिए।
त्यसैसँग जोडेर किसान दाइले भने, ‘हामीलाई बाध्य गराई खोप लगाइयो। हेर्नुस्, खोप लगाएको कार्ड देखाएमा मात्र सरकारी अड्डा, बैंक, विद्यालय, कलेज, यात्रुवाहक बस, हवाईजहाज, देशविदेशमा आउन, जान पाउने आदि नियम बनाएर हामीलाई बाध्य बनाइयो। हामी कसैले पनि यो हुनै सक्दैन भनेर प्रतिकार गर्न वा आफ्नो स्वाभिमान अडिग राख्न सकेनौं। नसकेको कारणले तपाईंहरूजस्ता शिक्षित व्यक्ति मूर्ख बन्नुभयो मेरो बुझाइमा।’
आफ्नो कुरालाई अझ व्याख्यात्मक शैलीमा भन्दै गए किसान दाइ, ‘स्वाभिमानलाई अडिग नराख्नाले आज हामी सबैले दुःख भोग्नु परिरहेको छ। कसरी भन्नुस् त?’ प्रश्न पनि राख्न लगाउँथे।
‘हामीसँग माटो छ। हामी सबैले खाने भनेको अन्न नै हो। अन्न माटोमै फल्ने हो। परिश्रम गरेर हामीले किन अन्न फलाउन सकेनौं ? किनकि हामीले स्वाभिमानलाई आफूबाट हटाइसकेका छौं। मुखले मात्र स्वाभिमानको कुरा गरेर हुँदैन। आफ्नो देशमा उत्पादन हुन सक्ने अन्नहरू बाह्य देशबाट आयात गर्नु हुँदैनथ्यो। अन्न मात्र नभई कलकारखानाबाट उत्पादित वस्तुहरू पनि आयात गर्नु हुँदैनथ्यो।
हामी आफूलाई चाहिने चिजवस्तु आफैं उब्जाउँछौं वा उत्पादन गर्छौं भनेर हिजोको दिनमा भन्न सकेको भए, त्यहीअनुसार गरेको भए आज हामी सबैले आफ्नो देशको माटो बाँझो देख्नु पर्दैनथ्यो। त्यसैले स्वाभिमानलाई अडिग राख्न नसक्नाले आज हामीले दुःख भोग्नु परिरहेको छ।’
फेरि अर्को प्रश्न गरे किसान दाइले, ‘तपाईंहरूका बालबच्चाले खाजामा के खान्छन् ? मकै, चिउरा, रोटी खाएको देख्नुभएको छ? तपाईंहरूले भनेको खानेकुरा आजका बालबच्चाले खाएका छन्? तपाईंहरूले भनेको मानेका छन्? त्यसैले म भन्छु, आज कोही पनि अभिभावक छैनन्।’
अभिभावक छैनन् भन्नेबित्तिकै मभित्रको शिक्षकको मस्तिष्कमा तीर हानेजस्तो अनुभूति भयो।
किसान दाइले गरेका तीनवटा बुँदा मेरो मस्तिष्कले समातिरहेको थियो। एक एक गर्दै त्यसबारे व्याख्या गर्दै जाँदा मलाई ती बुँदा नोट गरौं भन्ने मनस्थिति भयो। मोबाइलमै नोट गरौं कि जस्तो पनि लाग्यो। फेरि मोबाइल चलाएकोजस्तो होला भन्ठानेर आमोदजीतिर हेर्दै उनको टिसर्टको पकेटमा पेनको टाउको देखेँ। इसारा गरेँ। हुन्छ, लेख्नुस् भनेँ।
त्यसपछि त्यहाँबाट उठेर झोला राखेको कटेजमा गई कापीकलम बोकेर त्यही स्थानमा आएँ। ‘तपाईं उठेर जानुभएकाले किसान दाइ अगाडि बढ्नुभएको छैन है सरकार’ आमोदले भने। त्यस बेलासम्म अघि जम्मा भएका आगन्तुकहरूमध्ये एक जना मात्र थिए। हामी तीन जना किसान दाइको कुरामा अल्झिरहेका थियौं। किसान दाइको कुराको चुरो वा गुदी भेट्नु थियो। यिनी के भन्न खोज्दैछन् र यिनको भनाइमा कति सत्यता छ?
उनले आफ्नो पारिवारिक पृष्ठभूमि पल्टाउन थाले। ४२ जनाको एउटै भान्सा थियो रे उनको। काठमाडौंको सुन्धारामा राणाकालदेखिको भोगाइका विविध कथा बोकेका किसान दाइले आफ्नो समयको व्यावहारिक कुरालाई अघि बढाउन थाले।
आफ्ना सन्तान, विशेष गरेर छोराहरूलाई क्षमताअनुसारको कार्य विभाजन गरिन्थ्यो, पढाइ, व्यापार, खेतीपाती आदिमा। सबैले पढ्नुपथ्र्यो भन्ने हँुदैनथ्यो। उनको भनाइमा पैसा फूर्ति देखाउनका लागि मात्र हो। पैसा गाडीदेखि लिएर विलासिताको सामान किन्न मात्र हो। पैसा आवश्यकताभन्दा पनि देखाउनका लागि हो।
उनले ठुलो वर्णमाला मात्र अध्ययन गरेका रहेछन्। त्यसमा भएका सम्पूर्ण विषय कण्ठस्थ गरेका रहेछन्। अहिलेसम्म कण्ठस्थ नै छ भन्छन्। त्यही ठुलो वर्णमाला पढेर नै नेपाली अक्षर पढ्न र लेख्न जानेको भन्छन्।
‘त्यतिबेला चीनबाट प्रकाशित हुने सचित्र चीन र सोभियत भूमि पत्रिका पढेर मलाई केही गर्नुपर्छ भन्ने स्वाभिमान जागृत भएको हो। अरू कसैले सिकाएका होइनन्। यी पत्रिका पढ्दा राणाहरूले छुट्टै नजरले हेरेका थिए।’
यति भनेर बाँकी रहेको चुरोट स्वाट्ट तानेर भुइँमा राखेर खुट्टाको बुढी औंलाले थिचेर घुमाए।
बल्ल मलाई ढुक्क भयो। चुरोट नखानुस् न भन्न पनि सकिरहेको थिइनँ। बेलाबेलामा किसान दाइको नाक र मुखबाट फुसफुसाएको धुवाँले मलाई गाह्रो बनाइरहेको थियो। आफ्नै हातको सहायताले नाकमुख बन्द गरेझैं गरिरहेको थिएँ।
बिचमा मित्र रामले प्रश्न गरे– कृषिप्रति अभिरुचि बढ्नुको कारण?
‘मेरा बाजे र बुबा किसान नै हुन्। मैले सानैदेखि कृषि गर्दै आएको हुँ। कृषि नै प्रमुख आधार हो भन्ने लाग्यो। त्यसैले मलाई कृषिप्रति रुचि लागेको हो,’ यति भन्नलाई किसान दाइले धेरै कथा जोडेका रहेछन्।
बाबुबाजेको पालादेखिको पेसा खेतीमा कुनै कीटनाशक औषधी र रासायनिक मलको प्रयोग नगरी आएका किसान दाइले त्यहाँ फलाएका अन्न, तरकारी, मासुजन्य प्राणीहरू सबै प्राङ्गारिक थिए। मानिसलाई आवश्यक पर्ने धेरै थरी उत्पादनको चक्र नै थियो त्यहाँ।
‘यो के गरेको त किसान दाइ ?’ लिचीको बोटको फेददेखि माथि हाँगासम्म हरियो माटोजस्तो पोतिएको भागलाई देखाउँदै सोधे मित्र रामले।
‘यसलाई ‘ट्री पेस्ट’ भनिन्छ। यो पनि आफैंले तयार पारेको हो। यहींका बोटबिरुवा र झारपातबाट ‘ट्रि पेस्ट’ बनाइएको हो। कुनै पनि केमिकल प्रयोग नगरी बर्खामा रुखको फेदमा काइ लाग्छ भनेर पोतेको हो।’ किसान दाइले बताए।
अर्को गहकिलो कुरा गरे किसान दाइले। ‘टिमिक’ नामक डेनमार्कका नागरिक किसान दाइसँग यही फार्ममा नौ महिना बसेर खेती गरी नेपाली प्रकृति, जीवन र माटो चिनेर गएको कथा सुनाए। नौ महिनामा टिमिकले गाई दुहुन, घाँस काट्न, डोको बोक्न, रुखबाट स्याउला काटेर ल्याउन जान्ने भए। त्यसवापत टिमिकलाई महिनाको बाह्र हजार दिएका रहेछन्। हिँड्ने बेला निकै रोए रे टिमिक।
‘अहो ! अनि तपाईंले के पाउनुभयो त टिमिकबाट?’ मित्र रामले जिज्ञासा राखे। ‘मैले पनि पाएँ नि। यता आउनुस् त’ भन्दै उनले हामी तीनै जनालाई होमस्टे रहेको कटेजको भित्री कोठामा लगे। ‘यही हो टिमिक’ ठुलो साइजको फ्लेक्समा बनाएको डोको र नाम्लो बोकेको फोटो देखाए। हेर्दा लाग्थ्यो ५० नाघेका। माथिकै प्रसङ्गलाई थप्दै भने ‘उसले माटो सिक्यो, मैले भाषा सिकेँ। माटो र भाषा साटासाट पो भयो हाम्रो।’
डेनमार्कका नागरिक टिमिकबाट उनले त्यो देशको संस्कृति पनि औंल्याएछन्, त्यही टिमिकको व्यवहारबाट। आफू कसैसँग कुराकानी गरेको टिमिकले देखे भने बोल्दै नबोल्ने गर्दा रहेछन्। काम मात्र गरिरहने, कसैसँग कुराकानी नगर्ने उनको त्यो स्वभावबाट उनले बुझेछन् कि उनीहरूको देश सम्पन्न छ तर संस्कृतिमा सम्पन्न रहेनछ। एकलकाटे संस्कृतिमा हुर्किएका टिमिकलाई उनले बदल्न सकेनछन्। नौ महिनापछि बिदा भएकोे कुरा सुन्दा उनको यो अभिव्यक्तिले हामीलाई स्तब्ध बनायो।
कुराकानीका सिलसिलामा फोटो पनि देखाउँथे किसान दाइले। राणाकालदेखि आफ्नो हजुरबुबाले राजा वीरेन्द्रलाई बकुल्ला, सिमीको फूल धागोमा उनेर दिएका उपहारसम्म।
उनी कृषिको खोजीमा राजधानी छोडेर वीरगन्ज, बर्दियाजस्ता नेपालको धेरै ठाउँमा गएको तर चित्तबुझ्दो ठाउँ नपाएकाले २०५० सालमा यही ठाउँ (धादिङ, जीवनपुर) मा जग्गा किनेर कृषि कार्य गर्न थालेको बताउँछन्।
हाम्रो कुराकानी अगाडि बढिरहँदा तल भिरबाट माथि आइरहेको धुवाँको मुस्लो देखियो। ‘आगलागी भयो कि क्या हो ? केको धुवाँ?’ मित्र रामले देखाउँदै सोधे। ‘डढेलो लागेजस्तो छ। जति आगाले खान सक्छ, खान्छ’ भनेर त्यसप्रति कुनै परवाह नगरी फेरि कुराकानीलाई प्राथमिकता दिन थाले। उठेर त्यो आगलागी भएतिर हेर्दा पनि हेरेनन्। मानौं त्यहाँ केही नै भएको छैन। कुराकानीका बिचमा परिचित भएका इन्द्र सरले मोहीको लस्सी बनाएर हामी भएको ठाउँमा ल्याए। हामीले त्यो मोहीको लस्सीको स्वाद लियौं।
‘अब हिँड्नुस् बारीतिर’ भनेर किसान दाइ अगाडि लागे। हामी तीन जना उनको पछि पछि लाग्यौं। उनले भेडाको खोरमा लगे, जुन खोरबाहिर भेडाहरू आनन्दले रुखको छहारीमा बसिरहेका थिए। सँगै रहेको कालिज खोरबाहिर र भित्र कालिज बसिरहेका थिए। कुखुरा खोरबाहिर त्यत्तिकै थिए। भेडा चर्ने चरन, कुखुरालाई चराउने ठाउँ बेग्लाबेग्लै थियो।
अदुवा बेसार लगाएको बारीमा फापरका बोटहरू पनि थिए। स्याउलाले छोपिएका अदुवा रोपेका ड्याङ थिए। नासपातीका बोटमा चिचिला लटरम्म देखिन्थे। बारीमा रुख बाक्लै थिए।
‘नासपाती त निकै फल्छ जस्तो छ, बिक्री कत्तिको हुन्छ ?’ मित्र रामले सोधे। ‘हुन्छ बिक्री। बिक्री नभएका नासपाती टुक्रा पारेर भेडा, बाख्रा, गाईलाई खुवाइन्छ। यस्ता फलफूल खाएका भेडाबाख्रालाई भिटामिन नै खुवाउनुपर्दैन,’ किसान दाइको कुराले हामी चकित पर्यौं।
अब यताबाट जाऔं आउनुस् भनेर हामीलाई लगे डढेलो लागेको ठाउँतिर। अलि पर के पुगेका थियौं, केही क्षणअघि देखिएको धुवाँको मुस्लो भएको स्थानमै पुगेछौं। डढेलो माथि माथि सर्दै गोरेटो बाटोलाई नाघिसकेको रहेछ।
‘ओहो ! यो डढेलो फार्मभित्र पुग्न बेर लाग्दैन नि किसान दाइ?’ सरकारले अत्तालिँदै सोधे।
‘त्यत्ति माथिसम्म पुग्दैन। अरू केही हुँदैन। पत्कर सोर्न अलि ढिला भयो, त्यत्ति मात्र हो,’ किसान दाइ यति भन्दै अघि बढ्दै गए। हामी पनि उनको पछि पछि लाग्यौं। हामी सल्किँदै गरेको डढेलो नजिक पुग्यौं। डढेलो देख्दैमा अत्तालियौं हामी। भिरबाट हावा माथि आइरहेको थियो। लूभन्दा पनि बढ्ता तातो हावा थियो। किसान दाइ हामीभन्दा अगाडि थिए। उनी डढेलो नाघेर अगाडि बढिसकेका थिए। त्यो बाटोबाट हामीलाई फार्ममा पुर्याउने उनको विचार थियो। फार्मवरिपरिको क्षेत्र हामीलाई देखाउन चाहन्थे।
‘आउनुस्, आउनुस् केही हुँदैन, हामी सजिलै यसलाई पार गर्न सक्छौं,’ किसान दाइले भने। ल ल भन्दै सरकार अगाडि सल्किरहेको आगो नाघेर अगाडि बढे। त्यसैगरी मित्र रामले फड्को मारे। म पनि आगोलाई नाघेर अगाडि बढेँ। तलबाट आइरहेको राप र धुवाँले आगोको भुङ्ग्रोभित्र पसेजस्तो हप्प भयो। पक्कै पनि किसान दाइ उभिएको ठाउँमा आगो पुगेको नहोला भन्ने सोचेको थिएँ। राप र धुवाँले निसासिएको जस्तो भयो करिब १०/१२ मिटर अगाडि बढ्दा नै। हत्तपत्त मास्क लगाएँ। झनै सास फेर्न गाह्रो भयो। जबरजस्ती अगाडि बढ्दै जाँदा किसान दाइ उभिएको ठाउँ पुग्दा त अझै डढेलो र धुवाँको राप निकै परसम्म थियो। त्यो देखेर हामी तीनै जना अगाडि बढ्ने हिम्मत गर्न सकेनौं।
‘ओहो ! सासै फेर्न गाह्रो भयो,’ हाम्रो मुखबाट निस्किरह्यो, ‘अब अगाडि नबढौं, फर्कौं, फर्कौं। तीनै जना जताबाट आएका थियौं, त्यतै दौडिँदै फर्कियौं। लगभग ६० मिटर थियो होला। बल्ल बाहिर निस्कियौं। ‘यस्तो अग्नि घेरामा पसेको पहिलो पटक पो हो। ज्यादै गाह्रो पो हुँदोरहेछ,’ रामले भने।
डढेलो लागेको ठाउँबाट निकै पर आइसक्दा पनि शरीर तातेको जस्तो भइरहेको थियो। हाम्रो पछि पछि किसान दाइ पनि आएछन्। ‘तपाईंहरूलाई गाह्रो भयो नि हगि?’ भन्दै थिए। ‘ओहो ! यो आगो माथितिर पनि पुग्छ कि किसान दाइ, मलाई डर पो लाग्यो’ भनेँ।
‘डराउनुपर्दैन, जति हानि गर्नु छ, त्यति गर्छ नै,’ भन्दै किसान दाइले हामीलाई अर्को पाटोतर्पm लगे।
‘अब तपाईंहरूलाई मल कारखानातिर लैजान्छु’ भन्दै किसान दाइ कान्लामाथि उक्लिए र भने, ‘ती भेडा मेरो मलका कारखाना। यी देख्नुभयो मल ? यी कुखुरा मलका कारखाना, देख्नुभयो मल ? यी गाई, देख्नुभयो मल ? यी कालिज, देख्नुभयो मल ? मलाई अचम्म लाग्छ। कृषकले मल पाइएन भनेर आन्दोलन गर्छन्। कस्तो विडम्बना ?’
किसान दाइले यसो भन्दा हामी तिनै जनाको अनुहार एकै ठाउँमा ठोकिएर किसान दाइप्रति स्तब्ध भई एकछिन रोकिनुपर्यो। अझै देखाउँदै भने किसान दाइले, ‘हेर्नुस्, यस ड्रममा यही प्रकृतिमा रहेका झारहरूबाट कीटनाशक औषधी बनाएको। रासायनिक मल र विभिन्न औषधी प्रयोग गर्न पाऊँ भनेर जनमानसको स्वास्थ्य बिगार्नका लागि अधिकार पो मागिरहेका छौं हामी कृषकले।’
किसान दाइले हिँड्दै गर्दा ‘ल हेर्नुस्, म चिनीको बदलामा यो वनस्पति प्रयोग गर्छु’ भनेर कान्लामा एक बित्ताजतिको पातैपात भएको एउटा बिरुवा देखाए। यो चपाउनुस् त भनेर त्यस बिरुवाबाट पात चुडालेर हामी तिनै जनालाई दिए। ‘खानुस्, खानुस्, केही हुन्न’ भन्दै आफैंले चपाए। मैले त्यो पातलाई बोतलमा रहेको पानीले पखालेर चपाएँ। नभन्दै छुट्टै गुलियो स्वाद लाग्यो।
किसान दाइलाई छोड्नै मन लागेन। साथै किसान दाइले पनि हाम्रो साथ छोड्न सकेनन्। फेरि एउटा ६ फिटजति उचाइको झ्याम्म परेको बिरुवाको छहारीले तान्यो। हामी सबै त्यस छहारीमा मेच राखेर गफिन थाल्यौं। समय गएको पत्तै भएनछ। घडीमा तीन बजिसकेको रहेछ।
गाईले दुध धेरै दिन्छ भनेर कहिल्यै गाईलाई दाना खुवाएनन् र सुइै दिएनन्, कुखुराले ठुलो अन्डा पार्छ भनेर सुई दिएनन्, भेडाको वजन बढ्छ भनेर कहिल्यै सुई दिएनन्। योभन्दा अर्को के हुन सक्छ अर्गानिक।
नामअनुसार किसान वास्तविक किसान रहेछन्। सैद्धान्तिक पुस्तकहरू धेरै पढिए तर एक व्यावहारिक र पृथक् पुस्तक रहेछन् ‘किसान महर्जन’ आफैंमा। उनीसँग जति बसे पनि नपुगेजस्तो, उनलाई जति सुने पनि नपुगेजस्तो आभास भइरह्यो।
प्रकाशित: १४ असार २०८२ ०७:०४ शनिबार





