२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

पुस्तौंदेखिको पानीको दुःख अन्त्य: रास्कोटको दलित बस्तीमा घर-आँगनमै स्वच्छ खानेपानी

कालीकोटको रास्कोट नगरपालिकाका दलित बस्तीहरूमा पुस्तौंदेखि चलेको खानेपानीको संकट अन्त्य भएको छ। घण्टौं टाढाबाट पानी बोक्नुपर्ने बाध्यताबाट मुक्त हुँदै घर-आँगनमै धारा जडान भएपछि स्थानीय समुदायमा खुसियाली छाएको छ।

रास्कोट नगरपालिका–३ स्थित सागाटिया, कुमालवाडा र नैकलाटोलका स्थानीयले अब स्वच्छ खानेपानीका लागि संघर्ष गर्नुपर्ने दिन सकिएको बताएका छन्। पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर यी विकट बस्तीका १७८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो।

योजना हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो।

हुरेन्डेक नेपालका प्राविधिक प्रमुख राजेन्द्रबहादुर शाहीका अनुसार, करिब डेढ करोड रुपैयाँको कुल लागतमा दुई वटा आयोजनामार्फत धाराहरू निर्माण गरिएको हो। जसमा स्थानीय समुदायको श्रमदान पनि महत्त्वपूर्ण रहेको छ।

‘एक गाग्री पानी ल्याउन बिहानभरि लाग्थ्यो, घरमा यसरी धारा आउला भन्ने त कल्पना पनि गरेकी थिइनँ,’ स्थानीय गौरा सार्कीले खुसी व्यक्त गर्दै भनिन्, ‘अहिले बचेको समयमा अरू काम गरेर आयआर्जन गर्न थालेका छौं।’

विगतमा खोलाको दूषित पानी पिउन बाध्य स्थानीयको दैनिकी अहिले बदलिएको छ। खानेपानीको सुविधासँगै भाँडा सुकाउने चाँङ, फोहोर फाल्ने खाडल जस्ता सरसफाइका संरचना पनि निर्माण भएका छन्, जसले सिङ्गो बस्तीको जीवनस्तर उकास्न मद्दत पुगेको छ।

रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले यस आयोजनालाई नगरपालिकाको नमुना योजनाको रूपमा लिएको बताउँदै यसको संरक्षण र दिगोपनामा ध्यान दिन स्थानीयलाई आग्रह गरे।

हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले पानीका लागि संघर्ष गरिरहेका नागरिकलाई समस्याबाट मुक्ति दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै मर्मत सम्भारमा ध्यान दिन आग्रह गरे।

बुधबार एक कार्यक्रमका बीच उक्त खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको थियो। स्थानीय जयराम सार्कीले भन्छन्, ‘एक जनाको काम नै बिहानभरि पानीको जोहो गर्नु थियो, अब त्यो बाध्यता हटेको छ। गाउँलेले बल्ल सुखको अनुभूति गरेका छन्।’

प्रकाशित: ११ असार २०८२ २२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App