कपिलवस्तुमा टिकटक भिडियो बनाउनका लागि खोलामा हामफालेका एक भारतीय युवक बेपत्ता भएका छन्।
शुद्धोधन गाउँपालिका-६, गौरास्थित बेती खोलाको ड्यामबाट हामफालेका उनी मंगलबार साँझसम्म फेला परेका छैनन्।
इलाका प्रहरी कार्यालय पकडीका अनुसार, भारतको सिद्धार्थनगर जिल्ला, अलिगढवाका २१ वर्षीय ईसहाक मुसलमान सोमबार अपरान्ह करिब ४ बजे आफ्ना दुई साथीहरूसँगै बेती खोलामा नुहाउन गएका थिए।
सोही क्रममा टिकटकका लागि भिडियो बनाउन भन्दै उनी ड्यामबाट खोलामा हामफालेका थिए। उनका साथीहरूले उक्त घटनाको भिडियो खिचिरहेका थिए।
प्रहरी निरीक्षक कमल क्षेत्रीले घटनालगत्तैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको जानकारी दिए।
‘सोमबार र मंगलबार दिनभर खोजी गर्दा पनि उनी फेला पर्न सकेका छैनन्,’ प्रहरी निरीक्षक क्षेत्रीले भने, ‘खोजी कार्य जारी छ।’
बेपत्ता ईसहाक आफ्ना साथीहरू १६ वर्षीय सुभान मुसलमान र १५ वर्षीय सुरत तेलीसँगै खोलामा गएको बुझिएको छ।
प्रकाशित: १० असार २०८२ १९:५८ मंगलबार