२५ असार २०८३ बिहीबार
image/svg+xml
विचार

प्लाष्टिकको चपिङ बोर्ड : हाम्रो भान्साको अदृश्य विष

हरेक नेपाली घरको भान्सामा एउटा सामान लगभग अनिवार्यजस्तै भइसकेको छ, प्लाष्टिकको चपिङ बोर्ड (कटिङ बोर्ड)।

तरकारी काट्न, मासु काट्न, फलफूल काट्न, दैनिक रूपमा प्रयोग हुने यो साधारण देखिने सामग्री वास्तवमा हाम्रो स्वास्थ्यका लागि कति ठूलो जोखिम बन्न सक्छ भन्नेबारे हामीमध्ये धेरैलाई जानकारी नै छैन। यसको मूल्य सस्तो छ, प्रयोग गर्न सजिलो छ, पानीले नबिग्रिने भएकाले यसको प्रयोग गाउँदेखि शहरसम्म तीव्र रूपमा बढेको छ। तर यही सहजता र सस्तोपनको पछाडि एउटा गम्भीर स्वास्थ्य संकट लुकेको छ।

एक समय नेपाली समाजमा काठका चप बोर्ड प्रायः सबै घरमा प्रयोग हुन्थे। स्थानीय काठबाट बनाइने, वर्षौंसम्म टिक्ने र प्राकृतिक हुने भएकाले त्यसले वातावरण र स्वास्थ्य दुवैलाई कम जोखिम पुर्याउँथ्यो। तर पछिल्ला वर्षहरूमा चीन, भारत लगायतका देशबाट आयात हुने तथा नेपालमै उत्पादन हुने प्लाष्टिकका चप बोर्डले बजार कब्जा गर्यो। उपभोक्ताले यसको स्वास्थ्य जोखिमबारे पर्याप्त जानकारी नपाउँदा यसको प्रयोग झन् बढ्दै गयो। आजको गम्भीर प्रश्न भनेको, के हामी दैनिक रूपमा आफ्नै हातले माइक्रोप्लास्टिक काटेर आफ्नै खानामा मिसाइरहेका त छैनौं?

माइक्रोप्लास्टिक कसरी खानामा पुग्छ?

प्लाष्टिकको चप बोर्ड नयाँ हुँदा चिल्लो देखिन्छ। तर केही दिन प्रयोग गरेपछि त्यसको सतहमा सयौं र हजारौं साना चिराहरु पर्न थाल्छन्। प्रत्येक पटक चक्कु चलाउँदा प्लाष्टिकका अत्यन्त साना कण छुट्टिन्छन्। ती कण नाङ्गो आँखाले देखिँदैनन्, तर तरकारी, फलफूल, मासु वा अन्य खाद्य पदार्थसँग मिसिएर सिधै हाम्रो शरीरभित्र पुग्छन्। यिनै साना प्लाष्टिकका कणलाई माइक्रोप्लास्टिक भनिन्छ। पछिल्ला वर्षहरूमा भएका धेरै अन्तर्राष्ट्रिय अनुसन्धानहरूले माइक्रोप्लास्टिक मानिसको रगत, फोक्सो, कलेजो, मिर्गौला, आमाको दूध, गर्भनाल र मस्तिष्कसम्म पुगेको देखाएका छन्। माइक्रोप्लाष्टिकको प्रभाव केवल यांत्रिक मात्र होइन। यसले शरीरमा पुगेर अक्सिडेटिभ तनाव र सूजन निम्त्याउन सक्छ, जसले दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। अध्ययनहरूले माइक्रोप्लाष्टिकलाई इन्फ्लामेटरी बावेल डिजिज, मेटाबोलिक डिसफंक्शन–सम्बन्धित स्टीटोटिक कलेजो रोग, र पाचन प्रणालीका विभिन्न क्यान्सरहरूसँग पनि सम्बन्धित देखाएका छन्। यद्यपि कुनै एक उत्पादनले प्रत्यक्ष रूपमा क्यान्सर गराउँछ भन्ने निश्चित वैज्ञानिक निष्कर्ष सबै अवस्थामा स्थापित भइसकेको छैन, तर माइक्रोप्लाष्टिक र त्यससँग सम्बन्धित केही रसायनहरूले दीर्घकालीन स्वास्थ्य जोखिम बढाउन सक्ने प्रमाणहरू निरन्तर बढिरहेका छन्। त्यसैले सावधानी अपनाउनु अत्यन्त आवश्यक छ।

नेपालमा किन अझ बढी जोखिम?

नेपालमा अधिकांश भान्सामा प्लाष्टिकका सामग्रीको गुणस्तर परीक्षण, प्रयोग भएका रसायन, खाद्य सम्पर्क मापदण्ड तथा बजार अनुगमन निकै कमजोर छ। बजारमा पाइने धेरैजसो चप बोर्डमा कुनै स्पष्ट गुणस्तर प्रमाणपत्र वा खाद्य सुरक्षासम्बन्धी जानकारी हुँदैन। अर्कोतर्फ, एउटै बोर्डमा बिहान तरकारी, दिउँसो मासु, साँझ फलफूल काट्ने चलन पनि व्यापक छ। बोर्डमा गहिरा चिरा परेपछि त्यहाँ ब्याक्टेरिया पनि सजिलै बस्न सक्छन्। यसले माइक्रोप्लाष्टिक मात्र होइन, खाद्यजन्य रोगको जोखिम पनि बढाउँछ।नेपालमा खाद्य सुरक्षाको बहस प्रायः विषादी, मिसावट र अखाद्य वस्तुमा केन्द्रित हुन्छ। तर दैनिक भान्सामा प्रयोग हुने प्लाष्टिकका सामग्रीबाट हुने जोखिम लगभग बहसकै विषय बनेकै छैन। हालै नेपाल सरकारले ल्याएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य पदार्थको गुणस्तर र स्वच्छतामा केही कडाइ गरे पनि  भान्साका भाँडाकुँडाको गुणस्तर र तिनीहरूबाट हुने माइक्रोप्लाष्टिक जोखिमलाई सम्बोधन गरेको देखिँदैन। सरकारले विगतमा प्लाष्टिक झोला र केही एकल–प्रयोग प्लाष्टिकमा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो, तर त्यो कार्यान्वयनमा त्यति प्रभावकारी भएको छैन, अब यो जोखिमलाई गम्भीरतापूर्वक लिने बेला भएको छ।

सस्तो मूल्यको महँगो मूल्य

धेरैले भन्छन्, 'प्लाष्टिकको चप बोर्ड त २००–५०० रुपैयाँमै पाइन्छ।' तर हामीले सोच्नुपर्ने कुरा के हो भने, यदि यही सस्तो सामग्रीले वर्षौंसम्म हाम्रो शरीरमा माइक्रोप्लाष्टिक जम्मा गरिरहेको छ भने त्यसको मूल्य वास्तवमै कति सस्तो हो? हामी अहिले केही सय रुपैयाँ बचाइरहेका छौं, तर भविष्यमा स्वास्थ्य उपचारमा लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो भने यसको जिम्मेवार को हुनेछ? सस्तो वस्तु सधैं सुरक्षित हुन्छ भन्ने छैन।

हाम्रो पुरानो संस्कृतिले दिएको सही बाटो

हाम्रा बुबाआमा र हजुरबुबा–हजुरआमाले प्रयोग गर्ने काठका चप बोर्ड कुनै आधुनिक अनुसन्धान पढेर प्रयोग गरेका थिएनन्। त्यो उनीहरूको जीवन अनुभव र प्रकृतिसँगको सम्बन्धको परिणाम थियो। काठ प्राकृतिक हुन्छ। उचित सरसफाइ र मर्मत गरेमा वर्षौंसम्म प्रयोग गर्न सकिन्छ। पुरानो भएपछि पनि वातावरणमा सजिलै मिलेर जान्छ। यसले प्लाष्टिकजस्तो दीर्घकालीन प्रदूषण गर्दैन। आज विश्वका धेरै विकसित देशहरू पुनः काठ, बाँस र अन्य प्राकृतिक सामग्रीबाट बनेका चप बोर्ड प्रयोग गर्न प्रोत्साहन गरिरहेका छन्। नेपाल भने उल्टो दिशामा अघि बढिरहेको देखिन्छ।

सरकारले अब के गर्नुपर्छ?

नेपाल सरकारले प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि धेरै नीति बनाएको छ। तर दैनिक खाद्य सम्पर्कमा आउने प्लाष्टिक सामग्रीबारे अझै पर्याप्त ध्यान पुगेको छैन। नेपाल सरकारले भान्साका प्लाष्टिक सामग्रीको गुणस्तर परीक्षण अनिवार्य बनाउनुपर्छ, खाद्य सम्पर्कका लागि सुरक्षित मापदण्ड लागू गर्नुपर्छ, प्लाष्टिकका चप बोर्डको आयात रोक्नुपर्छ, र स्वदेशी काठ, धातुबाट बनेका चप बोर्डको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। साथै, बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्छ। उपभोक्तालाई माइक्रोप्लाष्टिकका जोखिमबारे राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्नुपर्छ, विद्यालयदेखि समुदायसम्म सुरक्षित भान्सा अभ्यासबारे शिक्षा दिनुपर्छ, र काठ, बाँस तथा अन्य वातावरणमैत्री विकल्पलाई प्रोत्साहन गर्नुपर्छ। अन्ततः चरणबद्ध रूपमा खाद्य सम्पर्कमा प्रयोग हुने जोखिमयुक्त प्लाष्टिक चप बोर्डहरू प्रतिबन्ध गर्नुपर्छ।

आयात नियन्त्रण किन आवश्यक?

नेपालमा प्रयोग हुने धेरैजसो प्लाष्टिकका चप बोर्ड विदेशबाट आयात हुन्छन्। सबै उत्पादन एउटै गुणस्तरका हुँदैनन्। कतिपयमा पुनःप्रशोधित प्लाष्टिक प्रयोग भएको हुन सक्छ, जसमा विभिन्न प्रकारका रसायन मिसिएका हुन सक्छन्। यदि गुणस्तर परीक्षण नगरी यस्ता सामग्री बजारमा आउँछन् भने त्यसको जोखिम सीधा नेपाली उपभोक्ताले व्यहोर्नुपर्छ। त्यसैले भन्सारमै परीक्षण प्रणाली विकास गर्न आवश्यक छ। सरकारले खाद्य आयातमा केही कडाइ गरेको भए पनि , यो पर्याप्त नभएको पाइन्छ।

उद्योगीहरूको पनि जिम्मेवारी छ

केवल सरकारलाई दोष दिएर मात्र पुग्दैन। उत्पादक र आयातकर्ताले पनि आफ्नो सामाजिक जिम्मेवारी बुझ्नुपर्छ। उनीहरूले उपभोक्तालाई सही जानकारी दिनुपर्छ। उत्पादनमा प्रयोग भएको सामग्री, खाद्य सुरक्षासम्बन्धी मापदण्ड, प्रयोग अवधि र परिवर्तन गर्नुपर्ने समय स्पष्ट उल्लेख गर्नुपर्छ। नाफाका लागि जनस्वास्थ्यसँग सम्झौता गर्नु स्वीकार्य हुन सक्दैन।

उपभोक्ताले आजै के गर्नुपर्छ?

परिवर्तन सरकारबाट मात्र सुरु हुँदैन। हामी आफैंले पनि केही सरल कदम चाल्न सक्छौं। प्लाष्टिक चप बोर्ड तुरुन्त परिवर्तन गर्ने, सम्भव भएसम्म काठ वा बाँसका चप बोर्ड प्रयोग गर्ने, काँचो मासु र तरकारीका लागि छुट्टाछुट्टै बोर्ड प्रयोग गर्ने, प्रयोगपछि राम्ररी सफा र सुकाएर राख्ने, अत्यधिक बिग्रिएको बोर्ड प्रयोग नगर्ने, र परिवारका सदस्यलाई पनि माइक्रोप्लाष्टिकको जोखिमबारे जानकारी गराउनुपर्दछ।

अब मौन बस्ने समय होइन

हामीले प्लाष्टिकका झोला, स्ट्र, थर्माकोल र अन्य एकपटक प्रयोग हुने प्लाष्टिकमाथि प्रश्न उठाउदैआएका छौं। अब हाम्रो आफ्नै भान्सामा रहेको प्लाष्टिकको चप बोर्ड माथि पनि प्रश्न उठाउने समय आएको छ। हरेक दिन हजारौं नेपाली परिवारले यही बोर्डमा खाना तयार गरिरहेका छन्। यदि यसबाट दीर्घकालीन रूपमा माइक्रोप्लाष्टिक हाम्रो शरीरमा पुगिरहेको छ भने यो केवल व्यक्तिगत स्वास्थ्यको विषय होइन, यो सार्वजनिक स्वास्थ्यको विषय हो।

जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ। प्लाष्टिकको चप बोर्डमाथि वैज्ञानिक अध्ययन, गुणस्तर परीक्षण, कडा नियमन र आवश्यक परे चरणबद्ध प्रतिबन्ध अब विलम्ब गर्न मिल्ने विषय होइन। हामीले सजिलो, सस्तो र आकर्षक देखिएको सामग्रीलाई सुरक्षित पनि मान्ने गल्ती गर्दै आएका छौं। तर प्रत्येक चक्कुको चोटसँगै यदि अदृश्य प्लाष्टिकका कण हाम्रो खानामा मिसिइरहेका छन्। आज हामीले भान्सामा प्रयोग गर्ने एउटा चप बोर्डले भोलिको पुस्ताको स्वास्थ्य निर्धारण गर्न सक्छ। त्यसैले अब निर्णय गर्ने समय आएको छ, सस्तो प्लाष्टिक रोज्ने कि सुरक्षित भविष्य? जनस्वास्थ्यको सुरक्षाका लागि नेपाल सरकारले प्लाष्टिकका चप बोर्डको आयात, उत्पादन र बिक्रीमा कडा नियमन गर्दै आवश्यक वैज्ञानिक मूल्याङ्कनपछि चरणबद्ध प्रतिबन्धतर्फ अघि बढ्नुपर्छ। साथै, नेपाली नागरिकले पनि काठ, बाँस वा अन्य सुरक्षित तथा वातावरणमैत्री विकल्प अपनाएर आफ्नो परिवारको स्वास्थ्य जोगाउने अभियान आजैबाट सुरु गर्नुपर्छ।

-लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।

प्रकाशित: १५ असार २०८३ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %