बबई नदीमा भइरहेको तटबन्ध अपूरो हुँदा बाढी बस्तीमा पस्ने जोखिम देखिएको छ । गुलरिया नगरपालिका–४ स्थित रामपुर टप्परमा निर्माणाधीन ८ सय मिटर लामो तटबन्ध अपूरो अवस्थामा अलपत्र परेको हो ।
बबई नदीको बहाव नियन्त्रण गर्न नसक्ने गरी तटबन्ध निर्माण भएको देखिन्छ । बाढीको क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्ने बेलामा अपूरो तटबन्धले बाढीको जोखिममा सिङ्गो गुलरिया रहेको पाइएको हो । भादा, बबई औरही नदी नियन्त्रण व्यवस्थापन आयोजनाले निर्माण गरेका तटबन्ध अपूरो हुँदा बबई नदी दुई वटा ठाउँबाट बस्ती पस्न सक्ने अनुगमन टोलीको निष्कर्ष छ ।
पूर्व सिँचाइ मन्त्री तथा माननीय संजय गौतम, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही, प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपाल र आयोजना प्रमुख प्रकाश भट्टराईसहित स्थलगत अनुगमनमा गएको टोलीले अपूरो तटबन्धले बाढी छेक्न नसक्ने निष्कर्ष निकालेको हो ।
बजेटको सीमितता कारण तटबन्ध निर्माण अपूरो रहेको बबई नदी नियन्त्रण व्यवस्थापन आयोजना प्रमुख भट्टराईले बताए । उनका अनुसार निर्माण गरिएका तटबन्ध अपुरो हुँदा यस बर्ष पनि जिल्लाको सदरमुकाम जेठो गुलरिया नगरपालिका बाढीको जोखिममा परेको हो ।
नदी छेक्नका लागी तटबन्ध निर्माण गरेपनि पर्याप्त बजेट नहुँदा निर्माणाधीन अचकल्टो भएको माननीय गौतमले दुःख व्यक्त गरे । ‘सरकारले संवेदनशील आयोजना बजेट दिँदैन,’उनले भने,‘यो भन्दा लाजमर्दो विषय के हो ?’ नागरिकलाई बँचाउने बिषयमा सोच्न नसक्ने सरकार भएको बताउँदै माननीय गौतमले वर्तमान सरकारको आलोचना गरे ।
बर्षायाम सुरु हुन लाग्दा समेत कतिपय ठाउँमा तटबन्ध निर्माणाधीन अवस्था भएपनि कतिपय ठाउँमा तटबन्ध निर्माण सुरु हुन सकेको छैन ।
बर्षायाम सुरु हुनु अगावै काम सम्पन्न गर्नका लागी दबाब दिनको लागी जिल्ला स्तरीय अनुगमन टोलीले सोमबार तटबन्धको गुणस्तर र काम प्रगतिको बारेमा अनुगमन गरेको थियो ।
काम भर्खरै सुरु भएको र कुनै अन्तिम चरण पुगेका टुक्रे तटबन्ध बर्षायाममा सदुपयोग नहुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘दुई साता भित्र मनसुन सुरु हुन्छ,’उनले भने,‘ बाढीबाट नागरिकलाई सुरक्षित गर्न अग्लो र सुरक्षित स्थान पहिचान गरिरहेका छौ ।’ उनका अनुसार तटबन्धको काम गरिरहेका कार्यालयले बजेटको सीमितताले काम पूर्ण रुपमा हुन नसकेको गुनासो गर्छन् । तत्काल यहाँको अवस्थामा सम्बन्धित विभागमा जानकारीसहित तत्काल विकल्प दिन आग्रह गर्ने प्रजिअ पौडेलको भनाई छ ।
०७१ र ०७४ सालको साउन अन्तिम साता आएको बाढीले गुलरिया नगरपालिकालाई क्षति पुराएपछि बर्षायामको सुरुवातसँगै नगरबासी चिन्तित भएका छन् । २०७१ र ०७४ को साउनमा आएको बाढीमा ३४ जनाको ज्यान गएको थियो । १३ जनाको अवस्था अझै अज्ञात छ । १३ हजार घर परिवार बाढीबाट प्रभावित भएका थिए ।
प्रकाशित: ९ असार २०८२ १८:२३ सोमबार