१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

जुम्लाका स्याउ किसान सडकमा : बिमा रकमको माग गर्दै आन्दोलन

स्याउ बिमाको रकम भुक्तानी नपाएको भन्दै जुम्ली किसान आन्दोलित भएका छन्। बिमा बापतको रकम तत्काल पाउनुपर्ने र यो वर्ष बिमा गर्न पनि माग गरेका छन्। 

शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासम्म बिमा गरेको रकम भुक्तानी नभएकोमा आक्रोश पोखेका थिए। स्याउ बिमा पहल समिति जुम्लाको आयोजनामा विरोध कार्यक्रम भएको हो।  

पहल समिति संयोजक खड्कबहादुर सेजवालले भने, ‘जुम्ला स्याउको जिल्ला हो। स्याउमा खडेरी र असिनाले क्षति पुर्‍याउँदा क्षतिपूर्ति पाउने गरी स्याउ बिमा गरिएको थियो। सो बापतको रकम अहिलेसम्म पाउन सकेनौं।’ 

किसानले जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिर नजिकबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थिए। ‘स्याउ बिमाको रकम तुरुन्त भुक्तानी गर, किसान आन्दोलन जारी छ, जुम्ली किसान एक हौं’ जस्ता नारा लगाएका थिए।  

स्याउ बिमा पहल समिति संयोजक सेजवालले किसानलाई बिमा रकम दिन आलटाल गरेको बताए। उनले दुख व्यक्त गर्दै भने, ‘बिमा रकम तत्काल उपलब्ध गराउन धेरैपटक माग राख्यौं। तर बिमा कम्पनीले आनाकानी गरेपछि सडकमै उत्रिएर आन्दोलनका कार्यक्रम सुरु गर्यौं।’ 

गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो। बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानको ठहर छ। सेजवालले भने, ‘स्याउको बिमा गर्दा किसान उत्साहित थिए, तर अहिले नपाउँदा निरुत्साहित बन्नुपरेको छ।’  

बिमा रकम उपलब्ध गराउन माग राख्दै उनीहरूले किसान सञ्जाल बनाएका छन्। सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको पनि निगरानी गर्नेछ। आर्थिक वर्ष सकिंदैछ। अहिलेसम्म पर्खेर हेर्यौं, संयोजक सेजवालले भने, ‘प्रतीक्षाको घडी सकिन लाग्यो। अनि आन्दोलनका कार्यक्रमतिर लाग्यौं।’ एक हप्ताभित्र बिमाको निचोड आएन भने शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा ताला लगाउने बाध्यता हुने उनले चेतावनी दिए। जुम्लाबाट प्रदेश र प्रतिनिधिसभा सांसदसँग सहयोग मागेर बिमा कम्पनीविरुद्ध मुद्दासमेत दिने किसानले जनाएका छन्।

यता शिखर इन्स्योरेन्स कम्पनीले अनुदानको रकम प्राप्त नभएको स्पष्टीकरण दिएको छ। किसानले गलत मनसायले बोट संख्या बढाएको दाबी गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा सात हजार पाँच सय चौहत्तर कृषकमध्ये छ हजार छ सय तेह्र कृषकको निरीक्षण गर्दा औसत करिब पच्चीस प्रतिशत बोट बढाइ बिमा गरेको देखिएको छ। हाल नौ सय चौनानब्बे कृषकको बोट संख्या विवरण एकिन गर्न नसकेको कम्पनीले बताएको छ।

प्रकाशित: ७ असार २०८२ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App