३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

खानेपानी आयोजना समयअगावै सम्पन्न, हजारौं परिवार लाभान्वित

सिरहाको धनगढीमाई नगरपालिका-१३ स्थित डावरटोलमा निर्माणाधीन दस करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ।

विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग सम्झौता भएको थियो। उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो।

निर्धारित समयसीमा अगाडि नै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिवशंकर महतोले बताए। नगरभित्रका अन्य खानेपानी आयोजना लामो समय बित्दा निर्माणाधीन अवस्थामै जीर्ण हुने गरेको जनाउँदै उनले भने, ‘मलाई त आश्चर्य लागेको छ। समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो। अन्य निर्माणाधीन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकारात्मक सन्देश दिएको छ।’ खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवृत्तिले आम जनता वाक्क भएको अनुभूति उनको भनाइ थियो।

यो खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’ले काम गरेको थियो। समितिका अध्यक्ष श्रवण ठकुरीले भने, ‘हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ। जेठबाटै परीक्षणका रूपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौं। निरन्तर सक्रियता, लगनशीलता र मेहनतले यो सम्भव भएको हो।’

कुल रु १० करोड छ लाख अठसट्ठी हजार लागत रहेको यो आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय सत्तेचालिस घरधुरीका आठ हजार छ सय बयालिसभन्दा बढी जनसंख्या लाभान्वित भएका छन्। स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिन अब सधैंका लागि अन्त्य भएको छ। रासस

प्रकाशित: ७ असार २०८२ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App