२४ असार २०८२ मंगलबार
image/svg+xml
समाज

अमला रोका माओवादीकै उच्च नेताको घरमा बसेकी थिइन् ?

६१ किलो सुन प्रकरणकी आरोपी अमला रोकालाई प्रहरीले चार दिन अघि पक्राउ गरेको भएपनि शुक्रबार अदालत लाने बेलामा मात्रै सूचना चुहाएको थियो।

माओवादी केन्द्रका उच्च नेताको घरबाट चार दिनअघि प्रहरीले पक्राउ गरेको भएपनि शुक्रबार मात्रै जिल्ला अदालतमा लाने बेलामा सूचना चुहिएको हो। तर प्रहरीले शुक्रबार जिल्ला अदालत भने पुर्याउन भ्याएको छैन। अदालतमा आइतबार मात्रै लैजाने छ।

ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनी फरार रहेकी थिइन। फरार अमलालाई प्रहरीले खोजी गरिरहेको थियो।

‘उनी लामो समयदेखि टोखा क्षेत्रमाछिन भन्ने संकेत थियो, तर माओवादीका एक उच्च नेताको घर भएकाले प्रहरी जान अप्ठेरो भैरहेको बेला चार दिन अघि पक्राउ गरेर ल्याइएको हो, अहिले चाहि जिल्ला अदालतमा बुझाउने तयारी भएको छ’, प्रहरी उच्च स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार अमला टोखामा बस्न थालेकी लामो समय भएको थियो। ‘दुई बहिनीसहित ६ महिना अघि टोखामा फल्याट लिएर बसेकी रहेछिन हामी पुगेपछि उनी अत्तालिएकी थिइन’, उनलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने।

सिआइबीले जारी गरेको विज्ञप्ति अनुसार सूर्यदर्शन टोलमा बस्दै आएकी थिइन। भारतको अरुणाचल प्रदेशबाट उनी ६ महिनाअघि नेपाल आएकी थिइन। दावा पक्राउ परेर अहिले कानुनी कारबाहीका क्रममा कारागारमा छन्। अमला भने फरार रहेकी थिइन्।

उनी माओवादी केन्द्रकी रोल्पाकी नेतृ पनि हुन्। बेल्जियम नागरिक दावाले उनीसँग विवाह गरेपछि ठमेलमा होटल सञ्चालन गरेकी थिइन्। उक्त होटल अमलाकै नाममा दर्ता छ।

सुन काण्डअघि त्यहाँ रोल्पा, रुकुमका नेताहरुको आवतजावत हुने गरेको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो। प्रहरीले उनका विरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।

उनी विदेशतिर भागेको आशंका गरिए पनि टोखामा फ्ल्याट लिएर बन्दोबस्तीका साथ बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले नियन्त्रणमा लिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८० साउन २ गते ६१ किलो सुन बरामद भएको थियो।

भन्सार राजश्व जाँच पास गरी बाहिरिएपछि उक्त सुन तस्करीको भन्ने खुलेको थियो। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट अमला र उनका पति दावा छिरिङको संलग्नता खुलेको थियो।

पछि प्रहरीले पूरक अनुसन्धान गरेको हो। सिआईबीको पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको थियो।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६१ किलो भन्दा बढी सुन तस्करी प्रकरणनको उनको समेत संलग्नता खुलेको थियो।

रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला रोल्पाकी माओवादी नेतृ भएकै कारण दावासँग विवाह गरेपछि सुन तस्करीमा लागेकी थिइन। त्यसपछि दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएपछि पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो। प्रहरीका अनुसार, २०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।

२०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो।

त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो। त्यतिबेला दावा भने जोगिएका थिए।

प्रकाशित: ६ असार २०८२ २२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App