२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

आर्थिक दायित्वका कारण कम सन्तान

यस्ताे पनि!

संसारभरका जोडाले सन्तान जन्माउन अनिच्छुक रहनुको मुख्य कारणमा बढ्दो आर्थिक दायित्व र ‘सेक्सिजम’ (लैंगिकवाद) रहेको एउटा अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टका अनुसार, अचेल सन्तान हुर्काउनु महँगो सौदा हुन थालेको, कामको स्थायित्व नभएको, घरबार किन्नु र स्थायी रूपमा बसोबास हुनु भनेको ज्यादै गाह्रो हुन थालेको जस्ता समस्या चुलिँदै जान थालेपछि विवाहित जोडाले सन्तान जन्माउन अनिच्छुक हुन थालेको संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या कोष (युएनएफपीए)को अध्ययनले देखाएको हो।

अमेरिका र हंगेरी जस्ता देशमा भने जन्मदर घट्नुको मुख्य कारण अरू नै रहेको, सर्वसाधारणमा सन्तान जन्माउने चाहमा कुनै कमी नरहेको पनि अध्ययनले देखाएको छ। विश्व जनसंख्या कोषकी कार्यकारी निर्देशक नतालिया कानेम भन्छिन्, ‘सन्तान जन्माउने इच्छा कम हुनुमा चाहनाको कमी भन्दा पनि छनोटको अभाव बढी देखिन्छ। अहिले उपयुक्त जोडा खोज्न गाह्रो भइरहेको छ। त्यसमाथि पनि ‘फर्टिलिटी केयर’ निकै महँगो हुनु र परिवार हुर्काउन छुट्टि नपाइने समस्या पनि उत्तिकै रहेको देखिन्छ।’

१४ देशमा युगभ नामक संस्थाले गरेको सर्भेमा नौ जनामध्ये एक जनाले कम सन्तान जन्माउन चाहेको जनाएका छन्। तीमध्ये पनि ७ प्रतिशतले भने तुलनात्मक रूपमा बढी सन्तान जन्माउन चाहेको सर्भेमा जनाएका छन्। सन्तान हुर्काउन सबैभन्दा ठूलो समस्या आर्थिक पक्ष रहेको सर्भेमा जनाइएको छ। ३९ प्रतिशत सर्वसाधारणले आर्थिक अभावले कम सन्तान जन्माएको, आर्थिक समस्या नहुने हुँदा अझ बढी सन्तान जन्माउने रहर रहेको समेत बताएका छन्।

संसारभर जलवायु संकट र बढ्दो आतंकको अवस्थाका कारण आफूहरूले सन्तान जन्माउने रहरलाई कटौती गरेको केहीको भनाइ थियो। केही देशमा भने कामदारहरूको अभावका कारण सन्तानको रहरलाई कटौती गर्नु परेको समेत जनाएका छन्।

आर्थिक समस्या नहुँदो हो त युवाहरूले तुलनात्मक रूपमा अगाडि नै बिहे गर्ने इच्छासमेत जाहेर गरेका छन्। आर्थिक रूपमा सबल भइसक्दा सन्तान हुर्काउने वा जन्माउने हुटहुटी कम भइसक्ने भएकाले कम सन्तान जन्माइरहेको कतिपयले सर्भेमा बताएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ६ असार २०८२ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App