चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को फ्लाइओभर (ओभरपास) शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै ओभरपास सञ्चालनमा आउने गरी कार्यक्रम तय गरिएको भौतिक पूवार्धार तथा यातायत मन्त्रालयका सचिव केशव शर्माले बताए।
सडक विभागमातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ठेकेदार कम्पनीले केन्द्रलाई ओभरपासको सबै काम सकिएको औपचारिक जानकारी गराउँदै गत आइतबार पत्र पठाइसकेको छ। केन्द्रले हालसम्म ठेकेदार कम्पनीलाई कुल रकम (१७ करोड ६ लाख) को ४६ प्रतिशत रकम भुक्तानी गरिसकेको छ। बाँकी रकम कागजपत्र हेरेर केही दिनमै भुक्तानी गर्ने विभागको तयारी छ। ओभरपास नेपालकै पहिलो प्रयोग हो। यसअघि चक्रपथ खण्डभित्रै कलंकीमा अन्डरपासको प्रयोग भएको छ।
सचिव शर्माका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा चक्रपथभित्रै सातदोबाटो या एकान्तकुनामध्ये एक ठाउँमा अर्को एउटा नयाँ ओभरपास बनाउन भौतिक पूर्वाधार मन्त्रालयले कार्यक्रम तय गरेको छ। ‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गर्यो भने आव २०८२/८३ मा सातदोबाटो या एकान्तकुनामध्ये एक ठाउँमा अर्को एउटा ओभर पास बनाउन प्रक्रिया अघि बढाउनेछौं,’ शर्माले भने, ‘सम्भवतः आव २०८२/८३ मै टेन्डर आह्वानसमेत भइसक्नेछ।’
यस ओभरपास नेपालकै पहिलो प्रयोग भएकाले यसमा काम गर्न केही अलमल भएको विभागका उच्च कर्मचारीहरू बताउँछन्। ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले बिहीबारसम्म ओभरपासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायत सबै काम पूरा गरिसकेको छ। ओभरपासको लम्बाइ कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सातदोबाटोतर्फ एक सय ८० मिटर छ। यस ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ।
गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरेको थियो। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिर्नुपरेको हो। दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ।
विभागले ठेकेदार कम्पनीलाई दैनिक ८५ हजार हर्जाना लगाइरहेका बेला सरकारले सार्वजनिक खरिद नियमावलीको १४औं संशोधन गरी निर्माण काम पूरा नभएका आयोजनालाई म्याद थप गर्ने बाटो खुला गरेको छ। ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो।
प्रकाशित: ६ असार २०८२ ०६:११ शुक्रबार





