‘हिजोसम्म बोरिङ नहुँदा पानीको जोहो गर्न गाह्रो हुन्थ्यो, तर अहिले त आफ्नै खेतमा सिँचाइ गर्न पाइन्छ,’ खेतबारीमा सिँचाइ सुविधापछि राप्तीसोनारी–१, बरैयाका कृषक रामचरण चौधरी यसरी खुसी साट्छन् । उनको अनुहारमा छाएको मुस्कान सायद गाउँमा आएको विकासले ल्याएको आत्मसन्तुष्टि हो ।
खेतीपातीमा निर्भर गाउँका किसानका लागि सिँचाइ भनेको जीवनको मेरुदण्ड हो । बर्खाको भर पर्नुपर्ने, वर्षा नहुँदा खेत सुक्खा रहने, अनिकाल लाग्ने अवस्था अब उनको लागि सम्झनाको विषय मात्रै भएको छ । खेतमा पानी पु¥याउनका लागि हिजो जङ्गलबाट पानी तान्नुपर्ने, इनार खन्नुपर्ने, कहिलेकाहीँ त पानीकै अभावमा खेत बाँझो राख्नुपर्ने बाध्यता अब छैन ।
राप्तीसोनारी गाउँपालिका–१ ले पछिल्ला केही वर्ष यता गरेको योजनाबद्ध विकासको परिणाम हो यो । १७ वटा हातले ठोक्ने बोरिङ, बीपीएस प्रणालीबाट ६ वटा बोरिङ र ३ वटा डिप ट्युबेल (बैरिया, अमूवा, टिटिनघारीमा) जडान गरिएका छन् । यी बोरिङहरूले खेतीयोग्य जमिनमा वर्षभर सिँचाइ सम्भव बनाएको छ । ‘पहिले खेत सिँचाइ गर्न ट्याङ्कीमा पानी भरेर लग्थ्यौँ, अहिले त मोटर खोल्दा पानी आफैँ आउँछ,’ भन्छन् अमूवाका कृषक बिर्खे खड्का । यस वडामा २९ वटा मोटर वितरण गरिएको छ, जसले किसानलाई सजिलै सिँचाइ गर्न सक्षम बनाएको छ । सिँचाइको सहज पहुँचसँगै बाली उत्पादनमा पनि वृद्धि भएको छ ।
तर यो विकास केवल सिँचाइको पहुँचमा सीमित छैन । यहाँ ओझखोला, झोप्ले खोला, सोनखरे खोला र सुनाहा खोलामा तटबन्ध निर्माण गरिएको छ, जसले बाढीबाट हुने क्षति न्यून पारेको छ । विगतमा बर्खायाममा खोलाले खेत बगाउने, गाउँ डुबानमा पर्ने घटना सामान्यजस्तै थियो । अब भने तटबन्धले खेत र घर जोगिएका छन् । ‘हामीलाई त पहिला बर्खा आउने बित्तिकै त्रास हुन्थ्यो, अहिले खोला वरिपरि तटबन्ध बनेपछि ढुक्क छौँ,’
उनले भने । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले वडाले यान्त्रिकीकरणतर्फ पनि ध्यान दिएको छ । कुसुम र लम्कीमा घाँस काट्ने मेसिन दुईवटा वितरण गरिएको छ । परम्परागत हँसिया र डाँडुले घाँस काट्ने समयसापेक्ष विधिलाई विस्थापित गर्दै अब आधुनिक मेसिनले सजिलो बनाएको छ ।
‘पहिले घाँस काट्न आधा दिन लाग्थ्यो, अहिले १५ मिनेटमै एक बोरा काटिन्छ,’ भन्छिन् गोमा खत्री । त्यसैगरी, ९० घरमा दुई पटक घाँसको बीउ वितरण गरिएकाले अब कृषकहरूले आफ्नै खेतमा घाँस उत्पादन गर्न थालेका छन् । यसले पशुपालनमा सघाउ पु¥याएको छ ।
भवानीयापुरमा बनेको नालीसहितको सडक र त्यही क्षेत्रमा निर्माण भएको सिँचाइ कुलो ले पनि जनजीवनमा ठूलो सहजता ल्याएको छ । हिजो हिलो र धुलो पार गर्दै पैदल हिँड्नुपर्ने बाटो अहिले साना गाडी कुद्ने सडक बनेको छ । त्यसैगरी, सिक्टा आयोजनामार्फत ६ सय मिटर कालोपत्रे सडक निर्माण गरिएको छ, जसले गाउँलाई मुख्य सडक सञ्जालमा जोडेको छ।
यी सब योजनाहरू एउटै उद्देश्यतर्फ लक्षित छन्, राप्तीसोनारी १ लाई कृषि, पूर्वाधार र जीविकोपार्जनका हिसाबले आत्मनिर्भर बनाउने । पछिल्ला केही वर्षयता वडामा भएका परिवर्तनहरूको प्रत्यक्ष साक्षी हुन् स्थानीयहरू । उनीहरूको मुहारमा देखिने आत्मसन्तुष्टि, उत्साह र विश्वास नै यी योजनाहरू सफलताको प्रमाण हुन् ।
त्यसैले रामचरण चौधरीको भनाइ केवल पानी पाउने कुरासम्म सीमित छैन । यो गाउँमा विकासको छाल आएको, जनजीवनमा सहजता पुगेको र जनप्रतिनिधिको योजनाले प्रतिफल दिन थालेको सङ्केत हो । जनता सन्तुष्टि हुनुको प्रमुख कारण नै जनताको माग र आवश्यकता अनुसारका योजना छनोट गरी निःस्वार्थ काम गर्नु भएको वडाअध्यक्ष यमबहादुर खड्काले बताए । ‘हिजो चुनाव लड्दा यो वा त्यो पार्टी थियो,’ उनले भने, ‘चुनावपछि एउटा जनप्रतिनिधि कुनै एक दलको मात्र हुँदैन । सबैको साझा हुन्छ ।’ जनतालाई सहज सेवा सुविधा र गाउँको विकासका लागि निर्वाचित भएको भन्दै उनले वडालाई नयाँ उचाइमा पु¥याउने गरी काम गरेको बताए ।
भौगोलिक विकटताका कारण सीमित स्रोत साधनमा पनि जनता केन्द्रित भएर काम गरिरहेको वडा सचिव महेन्द्र खड्काले बताए । ‘भूगोल ठूलो छ । उस्तै विकटता पनि,’ उनले भने, ‘तर, जनताको काममा यस्ता कुरालाई सहायक मानेर कार्य गरिरहेका छौँ ।’
पूर्वाधार विकासले बढाएको गतिशीलता
राप्तीसोनारी १ को विकास केवल कृषि क्षेत्रमा सीमित छैन, सडक, नाला र सार्वजनिक पूर्वाधारमा गरिएको लगानीले गाउँको स्वरूप नै फेरिएको छ । भवानीयापुरमा निर्माण गरिएको नालीसहितको सडकले वर्षायाममा हुने जलजमावको समस्या अन्त्य गरिदिएको छ । यसले गाउँको सरसफाइ, आवतजावत र सम्पर्क प्रणाली सहज बनाएको छ ।
त्यस्तै, सिक्टा आयोजनामार्फत ६ सय मिटर कालोपत्रे सडक निर्माणले गाउँलाई मुख्य सडकसँग जोडेको छ । अहिले मानिसहरू अस्पताल, विद्यालय, बजार पुग्न सजिलै मोटरसाइकल वा साना गाडी चढेर जान सक्ने भएका छन् ।
‘पहिला त बिरामी परेपछि काँधमा बोकेर लैजान्थ्यौँ, अहिले त ५ मिनेटमै अस्पताल पुगिन्छ,’ भवानीयापुरका वृद्ध हरिकृष्ण चौधरीले भने ।
तटबन्ध निर्माणले सुरक्षा र स्थायित्व
वडामा खोलाका किनारमा ओझखोला, झोप्ले खोला, सोनखरे खोला र सुनाहा खोलामा गरिएको तटबन्ध निर्माणले बाढी र कटान नियन्त्रणमा उल्लेखनीय सफलता पाएको छ । ‘हाम्रो गाउँमा पहिले बर्खा लाग्नासाथ भयको वातावरण हुन्थ्यो, खोलाले बगाउँछ कि भन्ने डर,’ टिटिनघारीका धनीराम खड्का भन्छन्, ‘तर अहिले तटबन्ध बनेपछि खेत पनि बचेको छ, घर पनि सुरक्षित छ ।’ यी योजनाहरूले कृषियोग्य जमिन संरक्षण मात्र होइन, भविष्यका लागि आधारभूत सुरक्षा पनि प्रदान गरेका छन् ।
प्रकाशित: ५ असार २०८२ १७:२८ बिहीबार





