विश्वका ६० वैज्ञानिकले कार्बनडाईअक्साइड उत्सर्जनको वर्तमान स्तर कायम रहेमा अगामी तीन वर्ष भित्रै विश्वले १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा ताडिने चेतावनी दिएका छन्।
विश्वव्यापी तापमान वृद्धिका सबैभन्दा अद्यावधिक तथ्यांकको आधारमा यी ५ दर्जन जलवायु वैज्ञानिकले यो चेतावनी दिएका हुन ।
सन् २०१५ मा पेरिसमा भएको ऐतिहासिक सम्झौतामा विश्वका करिब २०० देशले जलवायु परिवर्तनका खराब असरहरूबाट बच्न विश्वको तापमान वृद्धिलाई सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, विश्वका कैयन देशहरूले कोइला, तेल र ग्यासको कीर्तिमानी खपत गरेका कारण तथा बन फडानीले गर्दा यो अन्तर्राष्ट्रिय लक्ष्य खतरामा परेको छ ।
‘सबै कुरा गलत दिशामा गइरहेका छन् । पृथ्वीको तापक्रम र समुद्री सतहको वृद्धि पनि तीव्र भइरहेको देखिरहेका छौँ,’ युनिभर्सिटी अफ लीड्स अन्तर्गतको प्रिस्टले सेन्टर फर क्लाइमेट फ्युचर्सका निर्देशक तथा प्रमुख लेखक प्रोफेसर पियर्स फोस्र्टरले भने ।
पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ। सन् २०२० को सुरुमा, वैज्ञानिकहरूले तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न मानव जातिले अब मात्र ५०० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्न सक्ने आकलन गरेका थिए । तर नयाँ अध्ययनले सन् २०२५सम्ममा कार्बन उत्सर्जनको त्यो सीमा(कार्बन बजेट) १३० अर्ब टनमा खुम्चिएको छ। मुख्य रुपमा कार्बन डाइअक्साईड र मिथेन लगायतका अन्य हरित गृह ग्यासको कीर्तिमानी उत्सर्जन र वैज्ञानिक आकलनमा भएको सुधारका कारण नयाँ सीमा तोकिएको हो ।
विश्वव्यापी कार्बनडाइअक्साईडको उत्सर्जन हालको प्रति वर्ष ४० अर्ब टन रहेकै अवस्थामा अबका ३ वर्षमा त्यो सीमा लगभग तोडिनेछ । यो अवस्थामा पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेन्टिग्रेडको सीमा तोड्नेछ । यद्यपि, वैज्ञानिकका अनुसार मानवजन्य क्रियाकलापका कारण मात्र भएको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न अझै केही वर्ष पछि लाग्न सक्छ।
सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमको तुलनामा गत वर्ष (सन् २०२४)पहिलो पटक विश्वव्यापी औसत वायु तापक्रम १.५ डिग्री सेल्सियसले बढी थियो ।
तर, एकल १२ महिनाको अवधिमा तापक्रम बढेको आधारमा पेरिस सम्झौताको उल्लङ्घन भएको मानिँदैन । तर, सन् २०२४ को रेकर्ड तापक्रमले प्राकृतिक मौसमी ढाँचाले सङ्कट थप बढाएको वैज्ञानिक मान्यता छ ।
गत वर्षको तापमान वृद्धिका लागि मानवजन्य गतिविधि जिम्मेवार रहेको र यिनै गतिविधिले तापमानलाई १.३६ डिग्री सेल्सियसले बढाएको वैज्ञानिक आकलन छ ।
तापक्रम वृद्धिको वर्तमान दर प्रति दशक लगभग ०.२७ डिग्री सेल्सियस छ । यसअघिको भूगर्भीय रेकर्डको आधारमा यो अत्यन्त तीव्र दर हो । यदि यही हिसाबले उत्सर्जन उच्च रह्यो भने सन् २०३० तिरनै विश्वले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि बेहोर्न पर्नेछ ।
तापक्रम वृद्धिको यो बिन्दु पार गरेको अवस्थामा वायुमण्डलबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड सोसेर सैद्धान्तिक रूपमा घटाउन सकिन्छ । तर यस्ता महत्त्वाकाङ्क्षी प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने वैज्ञानिक मान्छन् ।
इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञान र नीति विषयका प्राध्यापक जोएरी रोजेल वायुमण्डलबाट कार्बन डाइअक्साइड पूर्ण रूपमा हटाउन सम्भावना नहुने बत्ताउँछन् ।
सन् १९७० र १९८० को दशकको तुलनामा विगत दशकको तापक्रम वृद्धिदर दोब्बर भन्दा बढी छ । सन् २००० को दशकको अन्त र २०१० को दशकको तुलनामा यो २५ प्रतिशतले बढी छ ।
‘यति छोटो अवधिमा यसरी तापक्रम बढ्नु धेरै चिन्ताजनक विषय हो’, बेलायतका मौसम विज्ञान कार्यालय(मेट अफिस)का सह प्राध्यापक म्याथ्यू पाल्मर र बेलायततकै ब्रिस्टल विश्वविद्यालयका एसोसिएट प्रोफेसरले भने ।
तापक्रमको यो वृद्धिदर मुख्यतया हरित गृह ग्यासको बढ्दो उत्सर्जनका कारण भएको हो भने एरोसोल भनिने स–साना कणहरूको वायुमण्डल चिस्याउने भूमिकामा आएको कमीले पनि यसमा भूमिका खेलेको छ ।
वायुमण्डलमा सिर्जना हुने यो अतिरिक्त ऊर्जाले यात जमिनलाई तातो बनाउँछ, हावाको तापक्रम बढाउँछ अथवा बरफ पगाल्छ । अतिरिक्त तापको लगभग ९० प्रतिशत महासागरहरूले सोस्ने गर्छन् । समुन्द्रले यो अतिरिक्त तापक्रमलाई सोस्दा समुद्री जीवनमा बाधा पुग्नुका साथै समुद्री सतह पनि बढ्छ । स्वभाविक रुपमा तातो समुन्द्रीक पानीले बढी ठाउँ ओगट्छ । यसबाहेक पग्लिरहेका हिमनदीले समुद्रमा थप पानी थपिरहेका छन् । सन् १९९० को दशकदेखि विश्वव्यापी समुद्री सतह वृद्धिको दर दोब्बर भएको छ, यसले विश्वभरका तटीय क्षेत्रहरूमा बस्ने लाखौँ मानिसहरूका लागि बाढीको जोखिम बढाएको छ ।
यो सबै तथ्यले निराशाजनक तस्बिर प्रस्तुत गरेता पनि स्वच्छ प्रविधिको प्रयोगले हाल विश्वमा उत्सर्जन वृद्धिको दर सुस्त भएको वैज्ञानिक स्वीकार गर्छन् । उनीहरु विश्वले ‘कडा र सशक्त’ उत्सर्जन कटौती पहल गर्न आवश्यक रहेको बत्ताउँछन् ।
पेरिस सम्झौताले १.५ डिग्री सेल्सियसको तापक्रममा भन्दा २ डिग्री सेल्सियसको तापक्रम वृद्धिले जलवायु परिवर्तनका असरहरू धेरै गम्भीर हुने उल्लेख गरेको छ । त्यसैले सम्झौतामा १.५ डिग्रीको तापमान वृद्धिलाई ‘सुरक्षित’ र सो भन्दा माथिको तापक्रम वृद्धिलाई ‘खतरनाक ’ भनेर सरलीकरण गरिएको छ । वैज्ञानिकका अनुसार, वास्तवमा, तापक्रमको प्रत्येक अतिरिक्त अंशले धेरै चरम मौसम, बरफ पग्लने र समुद्री सतह वृद्धिको गम्भीरता बढाउँछ ।
‘आगामी दशकमा हुने उत्सर्जन कटौतीले तापक्रम वृद्धिको दरलाई गम्भीर रूपमा परिवर्तन गर्न सक्छ,’ प्राध्यापक रोजेलले भने।
‘तापक्रम वृद्धिको प्रत्येक अंशलाई हामी बचाउन सक्छौँ, त्यसो गर्न सकेमा विशेष गरी गरिब र कमजोर जनसंख्यालाई कम क्षति र कम पीडा हुनेछ । यसले हामीले चाहेको जीवन जिउन कम चुनौती सिर्जना गर्नेछ,’ उनले थपे। (बिबिसी)
प्रकाशित: ५ असार २०८२ १४:३९ बिहीबार