पाँचथरको सदरमुकाम फिदिम र उत्तरी पाँचथरका गाउँपालिका सडक सञ्जालको सम्पर्कले कमजोर बनिरहेका छन्। दुई ठूला मानिएका सडक सञ्जालसँगको भरपर्दो सम्पर्क स्थापित हुन नसक्दा समस्या सुरु भएका हुन्।
फिदिम–फालोट सडकले फिदिम र फालेलुङ गाउँपालिका हुँदै भारतीय सीमा जोड्छ। मेची राजमार्गले फिदिमदेखि हिलिहाङ, याङवरक हुँदै ताप्लेजुङसम्मको मानवीय गतिविधिलाई प्रतिनिधित्व गर्छ।
यी मुख्य मानिएका सडक सञ्जाल नै मध्य बर्खामा भरपर्दो नहुने देखिएको छ। २०८१ असोजको बाढीले फिदिम–फालोटको फेमे खोला र मेची राजमार्गको हेवाँ खोला बेलिब्रिज एकै दिन बगायो।
त्यसयता अस्थायी डाइभर्सन निर्माण गरेर जेनतेन सवारी पार भइरहेका थिए। वर्षातको सुरुवातसँगै डाइभर्सन भत्काउने जोखिम देखिन्छ।
हेवाँ खोलामा नेपालकै लामो मोडुलर ब्रिज निर्माणको अन्तिम चरणमा पुगेका बेला शनिबार साँझ भाँचियो। पुल भाँचिएसँगै फिदिम–ताप्लेजुङ सडक सम्पर्क आइतबार साँझसम्म विच्छेद रह्यो। अहिले भने अस्थायी डाइभर्सनसम्म पुग्ने सडक खोलिएपछि सञ्चालनमा छ। यो सडक हुँदै दैनिक हजारौँ यात्रु फिदिमसम्म आउने र फर्कने गरेका छन्। मेची राजमार्ग मात्रै नभएर बीचमा मेची राजमार्गसँग जोडिएर आउने ग्रामीण दैनिकी यतिखेर उथलपुथल भएको छ।
मेची राजमार्गपछिको सबैभन्दा धेरै चहलपहल हुने फिदिम–फालोट खण्ड पनि फेमे खोलाको जोखिमले सहज छैन। गाउँगाउँबाट हजारौँ नागरिक दैनिक फिदिम आउने र फर्कनुपर्ने यो सडक मध्य बर्खामा कसरी सञ्चालन हुने भन्ने कुनै तयारी छैन। एउटा मात्रै विकल्प अस्थायी डाइभर्सन हो, त्यो पनि कतिवेला बगाउँछ टुङ्गो छैन। काबेली खोलामा रहेको बेलिब्रिज स्थानान्तरण गरेर पुल बनाउन पहल जारी छ।
तर यही आर्थिक वर्षभित्र त्यो काम सकिने अवस्था छैन। मनसुन सुरु भएपछि काम गर्न झन् बाधा हुने देखिन्छ। लगातार पानी परिरहेको अवस्थामा फिल्डमा काम गर्न सकिने अवस्था छैन। जिल्लाका दुई मुख्य सडक एकैपटक अवरुद्ध हुँदा उत्तरतर्फको सम्पर्कबाट सदरमुकाम फिदिम भने एक्लिँदै गएको छ।
आर्थिक वर्षको अन्त्य हुनै लाग्दा सदरमुकाम र बाहिरका गाउँको सम्पर्क झन् बढ्नुपर्ने हो। तर सहज सडक पहुँच नहुँदा दैनिकी प्रभावित हुने देखिन्छ। सडक सहज बनाउनेसहित जनजीवन सामान्य राख्ने विषयमा पूर्वतयारीको अवस्था पनि भरपर्दो देखिएको छैन।
प्रकाशित: ४ असार २०८२ ०९:०९ बुधबार